काठमाडौं । १५ मिनेटका निम्ति स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सुरु भएको छैन । नेपाली कांग्रेसको अवरोधका कारण सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो करिब २० मिनेटअघि बैठक स्थगित गरेका हुन् । उनले आजै १५ मिनेटपछि बैठक बस्ने बताएका थिए ।
बैठकमा कांग्रेस सांसदले सहकारीको रकम ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरेका थिए । सो पार्टीका सचेतक सुशीला थिङले बोलेपछि कांग्रेसका सांसदले आफ्नो आसनमा उभिएर बैठक सञ्चालनमा अवरोध गरे ।
त्यति बेलै सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झालाई बोल्न समय दिएका थिए । तर, होहल्ला भएपछि सत्तापक्षका सांसद पनि उभिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपालगायत पार्टीका सांसदहरू उभिएका हुन् । उनीहरूले पनि बोल्न खोजिरहेका थिए ।
तर, कांग्रेसका सांसद उभिएर सदन अवरोध गरिरहेकाले सभामुखले उनीहरूलाई समय दिएनन् । सभामुखले बैठक सञ्चालनका निम्ति सांसदहरूलाई पटक–पटक बस्न आग्रह गरेका थिए । बैठकमा उपस्थित मन्त्रीहरू भने उभिएका थिएनन् ।
थप तस्बिर हेर्नोस्–