site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कँडेल
फाइल तस्बिर ।

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका निम्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका निम्ति दाबी पेस गर्न दिएको समयसीमा आज बेलुका ५ः५० बजे सकिँदै छ । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“आज मुख्यमन्त्री पदमा दाबी पेसका लागि माओवादी केन्द्रले नेता कँडेललाई समर्थन गर्दछ,” उनले भने, “तर, मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन ।”

उनका अनुसार, माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी राख्दै आएको छ ।

एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मन्त्रालय विभाजन छलफलका आधारमा गरिने बताए । “हामीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रको एक मन्त्री पठाएर अहिले सानो आकारको सरकार बनाउन सुझाव दिएका छौँ,” उनले भने, “विश्वासको मत लिइसकेपछि सरकार विस्तार गर्दा हुन्छ भनेका छौँ ।” रासस

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्