site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साहसिक पदमार्ग : ‘शेर्पेनी कोल’


नेपालमा पदयात्रा गर्दा अत्यधिक उचाइ काटेर, पार गरेर यात्रा गर्नुपर्ने धेरै पदमार्गहरू छन् । त्यस्ता पदयात्रा मार्ग अन्य देशमा भने बिरलै छन् । संसारकै उच्च हिमाली क्षेत्र हुँदै पदयात्रा गरिने यस्तै पदमार्गहरूमध्ये एउटा हो - 'शेर्पेनी कोल ।’ 

यो पदमार्ग नेपालको मात्रै नभएर संभवतः संसारकै सबैभन्दा उच्च हिमाली क्षेत्र भएर पदयात्रा गरिने मार्ग हो । शेर्पेनी कोल संसारको उच्चतम पदमार्ग हो भन्ने सम्बन्धमा सर्वेक्षण गरे, नगरेको भने यस पङ्क्तिकारलाई एकिन थाहा छैन । तैपनि, यो पदयात्रा मार्ग संसारकै अग्लो पदयात्रा मार्ग भने हुनसक्छ । 

यस पदमार्गमा यात्रीले ६ हजार १२५ मिटर उचाइ भएर पदयात्रा गर्नुपर्छ । पहिले (३०-३५ वर्षअगाडि) विदेशी पर्यटकहरू काठमाडौं, इटहरी, धरान, धनकुटा हुँदै हिलेसम्म गाडीमा जान्थे । हिलेबाट पैदल यात्रा सुरु हुन्थ्यो । संखुवासभा जिल्लाको तुम्लिङटारमा विमानस्थल बनेपछि हवाईजहाजबाट तुम्लिङटारसम्म गएर त्यहीँबाट पैदल यात्रा सुरु हुन्थ्यो । 

आजभोलि भने हिउँद याममा संखुवासभा जिल्लाको चिचिला, नुमसम्म नै गाडी चल्ने गरेको छ । त्यसैले अहिले विदेशी तथा स्वदेशी पदयात्री हिउँद याममा चिचिला, नुम, बाला, ताम्कूसम्म गाडीमा जाने गर्छन्, त्यहाँबाट पैदल यात्रा थाल्छन् ।

त्यहाँबाट पैदल यात्रा टासी गाउँ, याङले खर्क, खोङमा ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी कोल पास गरेर सोलुखुम्बु जिल्लाको मेरा ला, खारे, ठाङना, क्षेत्र ला हुँदै लुक्ला पुगेर पदयात्रा सक्ने गर्छन् । केही पदयात्री मेरा ला वा बरुत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे, फाक्दिङ हुँदै लुक्लामा आएर पदयात्रा समाप्त गर्छन् । 

यो पदयात्रा मार्गमा पनि विभिन्न उपमार्ग छन् । मानेभन्ज्याङ, चिचिला, नुम, सेदुवा, टासीगाउँ, याङ्लेखर्क, खोङ्मा डाँडा, नुम्बुक, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोल (६ हजार१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सीधा भिरालो (पर्वतारोहण–पदयात्राको भाषामा ‘स्टिभ–डाउन’) छ ।

यहाँको बाटो पूरा हिउँ नै हिउँले ढाकिएको हुन्छ जहाँ नीलो जमेको 'ब्लु आइस’को ढिक्काको बाटो हुँदै हिँडेर पार गर्नुपर्छ । भोलिपल्ट ६ हजार २०० मिटरको हाराहारीको उचाइमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नुपर्छ । यो पदयात्रा मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास रहेको छ । त्यसपछिको प्रायः सबै क्याम्प खर्क र खाली चउरमा गर्नुपर्छ भने हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नु पर्छ ।

हिलारी बेस क्याम्प ४,२०० मिटर उचाइमा छ भने एक दिन नाक ठोक्किने उकालो हिँड्नुपर्छ । शेर्पेनी कोल र बरुणत्चे–१ बीचको ६ हजार २०० मिटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला यात्रीहरूले खुबै सास्ती खेपीरहेका हुन्छन् । किनभने, उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ । त्यसमाथि हिउँमा यात्रा गरिरहेका यात्रीका फागि थाकेको बेला बिसाउन र आराम गर्न सजिलोसँग बस्ने ठाउँ नै हुँदैन ।

त्यसैले हिँड्दा हिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । बिचराहरु ! त्यो बेला उनीहरुको हालत हेरी नसक्नुकै हुन्छ । प्रायः सबैको हालत त्यस्तै हुन्छ तापनि भरियाहरूको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय पदयात्री तथा भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने 'हेप' र '‘हेस' ) को कारण सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ ।

कोहीकोहीले त असावधानीका कारण डोरीबाट चिप्लिएर पनि ज्यान गुमाउँछन् । स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेसक्याम्प आउने दिन लगभग ५०० मिटरजति त डोरीमात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङ प्रायः सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ ।

कतिपय भरियाले भारी बोक्न नसकेर खानाको भारी बाटोमै छाडेर हिँड्छन् । त्यसरी छाडेको खाना बीचका हिम बाटोहरूमा प्रशस्तै देखिछ, भेटिन्छ । कतैकतै त हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेहरुको लास पनि भेटिन्छ । त्यस्ता लासहरू प्रायः नेपाली भरियाको हुन्छ । 

त्यस्तो अप्ठेरो र कठिन बाटो भए पनि ६ पटकसम्म विगतका दिनमा ओहोरदोहोर गरेका संखुवासभा जिल्ला, पाङ्मा  (हाल अस्ट्रेलिया बस्ने) का युद्ध लोहोरुङ आफ्नो अनुभव पूर्वेली लवजमा यसरी सुनाउँछन् –“अरे हौ सोल्टी, शेर्पेनी कोल त नेपालको सबैभन्दा अप्ठेरो र खतरापूर्ण पास हो नि ! तगडा शेर्पा (गाइड गर्ने मान्छे) भएन भने त खत्तमै हुन्छ नि ! डोरी कस्ले टाङ्ने ? भरियालाई कस्ले सहयोग गर्ने ? ग्रुपलाई कसले डोर्‍याउने ? त्यसमाथि तिर्खा लाग्दा पानी पिउनसमेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ नि हौ । फेरि तल बस्नेले गलत सङ्केत दियो भने दुर्घटना हुने जोखिम बढी नै हुन्छ ।”

त्यसैले त यो मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होउन्, आफूलाई साह्रै गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । किनभने, यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । हुन पनि यो मार्गमा पदयात्रा गर्न वास्तवमै विश्वका साहसिक पदयात्रीले मात्रै आँट गर्न सक्छन् । किनभने, ३–४ दिनसम्म हिउँ नै हिउँमा हिँड्नुपर्छ ।

त्यसमाथि शेर्पेनी कोल पार गर्न हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको पनि जरुरी हुन्छ । कतिपय पदयात्री एक्युपमेन्ट तयार गरेर शरीरमा फिट गरी पठाउँदासमेत बीचमा पुगेपछि आत्तिन थाल्छन् । त्यसैले निडर र साहसी हुनुपर्छ शेर्पेनी कोल पास गर्ने पदयात्रीहरू ।

त्यसो त विगतका दिनमा सूचना र सञ्चारको अभाव तथा मानव बस्ती नभएका कारण बीच बाटोमा केही गरी विदेशी पर्यटक अथवा नेपाली स्टाफ बिरामी भईहालेमा उद्धारका लागि हेलीकप्टर मगाउन पनि हत्तपत्त संभव हुन्थेन । बिरामीलाई बचाउन सके वा बिरामी बाँचेमा मान्छेले सकी नसकी बोकेरै उद्धार गरिन्थ्यो ।

केहीगरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो । त्यसपछि हेलीकप्टरले लासको रेस्क्यु गर्थ्यो । सुन्दा नमीठो लाग्छ तर नेपाली मरिहालेमा भने लास त्यतै छाडिन्थ्यो । किनभने, त्यो बेला नेपालीको दुर्घटना बीमा नै हुन्थेन, गरिन्थेन ।

अर्को त्यस्तो अनकन्टार हिउँ नै हिउँको बाटोमा कोही बिरामी भई हालेमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । किनभने त्यस्तो उचाइ र अनकन्टार ठाउँबाट बिरामी एक्लै जिउँदै फर्केला भन्ने आशा गर्न सकिँदैन थियो । संभावना पनि कमै हुन्थ्यो । फेरि बाटोमा खाने खाना, वास बस्ने पाल र साथी बिना बिरामीलाई एक्लै पठाउने कुरो पनि भएन । कदाचित बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो । हत्तपत्त बाटोमा खाने कुरो पनि पाइँदैनथ्यो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro