site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा युद्धविरामको माग गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव पारित
तस्बिर : रोयटर्स ।

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्ले बिनार्त तत्काल सबै बन्धकलाई रिहा गर्न समेत माग गरेको छ ।

गएको अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पहिलोपटक सुरक्षा परिषद्को प्रस्ताव पारित भएको हो । अमेरिकाले यसअघि तीनपटक ‘भिटो’ प्रयोग गर्दा युद्धविरामको प्रस्ताव पारित भएको थिएन ।

सोमबार मतदानका क्रममा अमेरिकी प्रतिनिधि अनुपस्थित भएपछि प्रस्ताव पारित भएको हो । सुुरक्षा परिषद्का १५ सदस्यमध्ये अमेरिका मात्र मतदानमा अनुपस्थित थियो । बाँकी १४ सदस्य राष्ट्रले प्रस्तावका पक्षमा मतदान गरे ।

यसले सुरक्षित स्थान भनेर प्यालेस्टाइनी बसेको रफाहसहित गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका विषयमा अमेरिका असन्तुष्ट हुँदै गएको संकेत गरेको छ । अमेरिकाले इजरायललाई हतियार र सहायता भने जारी नै राखेको छ ।

इजरायलका रक्षामन्त्रीले गाजामा आफ्ना बन्धक रहेसम्म युद्ध नरोक्ने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले अमेरिकाले आफ्नो स्थिति फेरेको जनाएको छ ।

नेतन्याहूले इजरायली प्रतिनिधिमण्डल र अमेरिकी अधिकारीबीच वासिङगटनमा यसै हप्ता हुने भनिएको बैठक पनि रद्ध गरेका छन् ।

संयुक्त राष्ट्रसंघका निम्ति प्यालेस्टाइनी प्रतिनिधि रियाद मन्सुरले यो प्रस्तावको स्वागत गरेका छन् ।

गएको अक्टोबर ७ देखि गाजामा इजरायलले गरिरहेको आक्रमणमा ३२ हजार ३३३ भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार ६९४ भन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।

हमासको आक्रमणबाट अक्टोबर ७ मा इजरायलमा एक हजार १३९ जनाको मृत्यु भएको थियो । दर्जनौँ मानिसलाई हमासले बन्दी बनाएको छ । इजरायलले पनि सयौँ प्यालेस्टाइनीलाई बन्दी बनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro