site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङ नेम्वाङ भन्छन्– सिंगो इलामको प्रतिनिधित्व गरेर आउनेछु

काठमाडौं । इलाम–२ का निम्ति एमाले उमेदवार घोषित सुहाङ नेम्वाङले आफू एमालेको मात्र नभई सिंगो जिल्लाको प्रतिनिधित्व गर्ने बताएका छन् । “पार्टीको निर्णयमा एकदमै खुसी छु," पार्टीको निर्णयपछि बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा सुहाङले भने ।

उनले पार्टीका अग्रजहरूलाई धन्यवाद दिए । ‘‘पार्टीका श्रद्धेय कमरेडलाई धन्यवाद,” उनले भने “उमेदवारका रूपमा आइरहँदा पार्टीको मात्रै नभएर सिंगो इलामको प्रतिनिधित्व गरेर आउनेछु ।”

आइतबारमात्र एमालेको सचिवालय बैठकले इलाम–२ मा सुहाङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

Dabur Nepal
NIC Asia

सुहाङ संविधानसभाका अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

उनको निधनपछि रिक्त पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि यही चैत २४ गते उमेदवारी मनोनयन हुनेछ । एमालेले उमेदवारी मनोनयनको मितिभन्दा १३ दिनअगावै उमेदवार टुंगो लगाएको हो ।

३५ वर्षीय सुहाङ अधिवक्तासमेत हुन् । उनी एमालेको केन्द्रीय कानुन विभागका सदस्य हुन् । एमालेले फागुन ३ गते उनलाई कानुन विभागमा मनोनीत गरेको थियो ।

सुहाङले राजनीतिमा होमिन पार्टीको साथ खोजिरहेका थिए । केही समय अघिबाट उनी इलामका कार्यक्रममा व्यस्त थिए । राजनीतिमा होमिने उनको चाहनाअनुसार पार्टीले उनलाई टिकट दिने निर्णय गरेको हो ।

इलाम जिल्ला कमिटीले सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको थियो । त्यसबाट सचिवालयले सुहाङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि उक्त क्षेत्रमा उनका बुबाले जित्दै आएका थिए । आफू कार्यक्रमहरूमा पुग्दा बाबुले पाएको माया आफूले पनि पाएको सुनाए । सकारात्मक प्रतिक्रिया पाएकाले पनि उमेदवार बन्न इच्छा राखेको उनको भनाइ छ ।

“म बुबासँगै राजनीतिक कार्यक्रममा पनि हिँडेको थिएँ । बुबालाई माया गरेर बोलाउनुभएको कार्यक्रममा मलाई पनि बोलाउनुभयो,” उनी भन्छन्, “सबै जनाले  माया देखाउनुभयो, आउनुपर्छ भन्नुभयो । सकारात्मक धारणा देखेकै कारण पनि मैले आउन इच्छा गरेको हो । उहाँहरूको सद्भाव, मायाले सकारात्मक बुझेको छु ।”

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले योग्य व्यक्तिलाई उमेदवार छानेको र समर्थन गर्न अरू पार्टीसँग आग्रह गर्ने बताए ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उमेदवार उठाउने निर्णय गरिसकेको छ । रास्वापाले सहयोग नगरे स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवाली बताउँछन् ।

“हाम्रा उमेदवार योग्य हुनुहुन्छ । धेरै हिसाबले डिजर्ब गर्नुहुन्छ । सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुनेछ,” उनले भने, “त्यसो नहुँदा कतिपय विषयमा स्वस्थ प्रतिस्पर्धा हुन सक्छ । त्यसलाई अन्यथा ठान्दैनौँ ।”

एमालेले युवा उमेदवारलाई प्राथमिकता दिन पनि सुहाङलाई उमेदवार बनाएको जनाएको छ । ०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका उमेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । 

तत्कालीन सत्ता गठबन्धनका उमेदवार कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । उनीहरूबीचको अन्तर ११४ मत थियो । त्यहाँ नेम्वाङले जित हासिल गर्दै आएका थिए ।  रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro