काठमाडौं । रूस–युक्रेन युद्धमा मारिएका नेपाली पहिचान गर्न नेपालमा रहेका ६ जनाका परिवारले डीएनए परीक्षणका निम्ति ‘ब्लड स्याम्पल’ दिएका छन् । रूसको विदेश मन्त्रालयले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा १५ जना नेपालीको परिवारसँग डीएनए रिपोर्ट मागेको थियो ।
रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत १५ नेपालीको शव पहिचान गर्न सम्बन्धित परिवारसँग डीएनए परिक्षण गरी रिपोर्ट पठाउन अनुरोध गरेको थियो ।
डीएनए रिपोर्ट मागिएका १५ परिवारमध्ये एकजनाले आफ्नो आफन्त जिउँदै रहेको र हाल युक्रेनमा युद्धबन्दीक रूपमा रहेको जनाएका छन् । केही दिन युक्रेनले पाँच नेपाली युद्धबन्दी सार्वजनिक गर्दा आफन्त परेको परिवारले जनाएको छ ।
बाँकी रहेका १४ परिवारमध्ये बुधबार तीन र बिहीबार तीन गरी हालसम्म ६ जनाले डीएनए रिपोर्टको लागि ब्लड स्याम्पल शिक्षण अस्पताल गई दिएका छन् । डीएनए रिपोर्ट बनाउन स्याम्पल दिँदा पीडित परिवारले प्रक्रियागत झमेला व्यहोर्नु परेको रूसी सेनामा भर्ती भएका नेपालीको न्यायका लागि आवाज उठाउँदै आएकी कृतु भण्डारीले बाह्रखरीसँग भनिन् ।
“बुधबार र बिहीबार ६ जनाको स्यापल दिन सकियो,” भण्डारीले भनिन्, “ शुक्रबार म बिरामी भएर पीडित परिवारसँग हिँड्न सकिनँ, कसैले पनि स्याम्पल दिन पाउनुभएन । प्रक्रियागत झमेलाले गर्दा उहाँहरू अल्मलिनुभयो ।”
टाढा टाढाका जिल्लाबाट काठमाडौं आएका पीडित परिवारलाई डीएन रिपोर्ट निम्ति स्याम्पल दिँदा सरकारी निकायबाट अपनाइएको प्रक्रियागत झमेलाले पीडामाथि झन् पीडा थपेको उनले बताइन् ।
“स्याम्पल दिन जिल्लाबाट तीन–चार परिवारको सदस्य काठमाडौं आउनुभएको छ । तर उहाँहरूले शुक्रबार यस्तै झन्झटिले परिपाटीले गर्दा स्याम्पल दिन सक्नुभएन,” भण्डारीले बताइन् ।
भण्डारीका अनुसार, स्याम्पल दिन सबैभन्दा पहिलो त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग पठाइन्छ । विभागले निवेदन बनाएर नक्सालस्थित प्रहरी प्रधान कार्यालय पठाउँछ । प्रहरी प्रधान कार्यालयले रानी पोखरीस्थित उपत्यका प्रहरी कार्यालय पठाउँछ । उपत्यका प्रहरी कार्यालयले मुचुल्का उठाएर प्रहरी वृत्त महाराजगन्जमा पठाउँछ । महाराजगन्ज प्रहरीले शिक्षण अस्पताल पठाउँछ । शिक्षण अस्पतालमा ब्लड स्याम्पल दिएपछि उक्त ब्लड स्याम्पल प्रहरीले लाने गर्छ ।
“गाउँबाट आउनुभएका व्यक्ति काठमाडौंका ठाउँहरू चिन्नुहुन्न । यतिधेरै ठाउँ जानुपर्दा उहाँहरू अल्मलिनु भएको छ । यसमा सहजीकरण गरिदिए पीडित परिवारलाई पीडा कम हुने थियो,” भण्डारीले भनिन् ।
रूसी सेनामा कति नेपाली भर्ती भएका छन् यकिन संख्या नेपाल सरकारलाई थाहा छैन । नेपालले बारम्बार रूसी सेनामा भर्ती भएकाको विवरण, भर्ती भएकालाई फिर्ता गर्न, मृत्यु भएकाको शव पठाउन र मृत्यु तथा घाइतेको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई आग्रह गरे पनि रुसले बेवास्ता गर्दै आएको छ ।
रूसले औपचारिक रुपमा रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १९ जना नेपालीको मृत्यु भएको जानकारी गराएको छ । यसबाहेक थप १५ नेपाली युक्रेनसँगको युद्धमा मारिएको आशंकासहित रूसले सम्बन्धित परिवारको डीएनए रिपोर्ट मागेको हो ।
यही चैत १ गते परराष्ट्र मन्त्रालयले थप सात नेपालीको मृत्यु भएको सूचना रूसले दिएको जनाएको थियो । त्यसअघि परराष्ट्रले रूसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको जनाएको थियो । चैत १ गते थप सातजना थपिएसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या १९ पुगेको हो ।
सोमबार मात्र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा रूसले आफ्नो सेनामा भर्ती भई घर फर्कन चाहने नेपालीको करारपत्र रद्द गर्न सैद्धान्तिक सहमति जनाएको जानकारी दिएका थिए ।
युक्रेनसँग रुसको तर्फबाट लड्दा सयौँ नेपाली घाइते भएका छन् । रूसी सेनामा भर्ती भएका ६ सयभन्दा बढीका आफन्तले उनीहरूलाई फिर्ता ल्याउन आफूसँग अनुरोध गरेको कृतु भण्डारीले बताइन् ।
गत बुधबार नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले अर्थमन्त्री वर्षामान पुनसँगको भेटमा नेपालीलाई बोलाएर रुसले आफ्नो सेनामा भर्ती नगरेको ओठे जवाफ दिएका थिए ।
नेपालीलाई रूसी सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको जनाउँदै राजदूत नोभिकोभले रूसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क अर्थमन्त्रीसँग गरेका थिए ।
भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले रूसी सेनामा भर्ती दाबी राजदूत नोभिकोभले गरेका थिए । रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफू दुःखी भएको जनाउँदै उनले रूसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी गरेका थिए ।