site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रूसमा थप १५ नेपाली मारिएको आशंका, पहिचान गर्न परिवारको ‘डीएनए’ रिपोर्ट माग
फाइल तस्बिर ।

काठमाडौं । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको आशंकामा रूसले १५ नेपाली परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ । 

रूसी विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासमार्फत मारिएको आशंका गरिएका १५ नेपालीको परिवारको डीएनए परीक्षणको रिपोर्ट मागेको हो । मस्कोस्थित नेपाली दूतावासले रूसी विदेश मन्त्रालयको उक्त पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । परराष्ट्रले सम्बन्धित परिवारलाई डीएनए परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन भनिसकेको छ । 

“रूसले अनुरोध गरेअनुसार हामीले सम्बन्धित १५ परिवारलाई डीएन परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन भनिसकेका छौँ । रिपोर्ट आएपछि एक–दुई दिनमा हामी पठाउँछौँ । त्यसपछि रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपाली हुन् वा होइनन् भन्ने निक्यौल हुनेछ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

Dabur Nepal
NIC Asia

यसअघि रूसले औपचारिक रूपमा रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १९ नेपालीको मृत्यु भएको जानकारी गराइसकेको छ । योबाहेक थप १५ नेपाली युक्रेनसँगको युद्धमा मारिएको आशंकासहित रूसले सम्बन्धित परिवारको डीएनए रिपोर्ट माग गरेको हो । 

रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु, घाइते र सम्पर्कविहीन रहेका नेपालीका परिवारको न्यायका पक्षमा आवाज उठाउँदै आएकी कृतु भण्डारीले रूसले डीएनए रिपोर्ट मागेका १५ परिवार आफ्नो सम्पर्कमा आएको बताइन् । 

“डीएनए रिपोर्ट मागेका १५ परिवार अहिले मेरो सम्पर्कमा हुनुहुन्छ । यीमध्ये मोरङका विकास राईको परिवारले डीएनए परिक्षण नगराउने जानकारी दिनु भएको छ । राईलाई केही दिनअघि युक्रेनले युद्धबन्दी सार्वजनिक गर्दा त्यहीँ देखिएको हुँदा उनको मृत्यु नभएको कारण परिवारले डीएनए परीक्षण नगराउने निर्णय गर्नुभएको हो,” भण्डारीले बाह्रखरीसँग भनिन् । 

बाँकी १४ जना सम्बन्धित परिवारको डीएनए परीक्षण शिक्षण अस्पतालमा गर्ने तयारी गरिएको उनले जनाइन् । तर, डीएनए परीक्षण गर्ने क्रममा सरकारले पीडित परिवारलाई सहजीकरण गर्नुको सट्टा दुःख दिएको उनले बताइन् । 

“घरी कहाँबाट के पत्र लेराइज भन्छन्, घरी पत्रको व्यहोरा मिलेन फेरि बनाएर लेराइज भन्छन् । गाउँबाट आउनुभएका पीडित परिवारहरू कहाँ जाने, कसलाई भेट्ने अन्योलमा पर्नुहुन्छ । सरकारले सहजीकरण गर्नुभन्दा पनि झन् दुःख थपिदिने काम गरेको छ,” भण्डारीले भनिन् । 

यही चैत १ गते परराष्ट्र मन्त्रालयले थप सात नेपालीको मृत्यु भएको सूचना रूसले दिएको जनाएको थियो । 

त्यसअघि परराष्ट्रले रूसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको जनाएको थियो । चैत १ गते थप सातजना थपिएसँगै रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या १९ पुगेको हो । 

नेपालले बारम्बार रूससँग नेपालीको भर्ती रोक्न, भर्ती भएकाहरूको विवरण उपलब्ध गराउन र फिर्ता गर्न, मृत्यु भएको शव पठाउन, मृत्यु र घाइते हुनेको परिवारलाई क्षतिपूति रकम उपलब्ध गराउन आग्रह गर्दै आएको छ । तर, रूसले रूसी सेनामा भर्ती भएका नेपालीको विवरण नेपाल सरकारलाई उपलब्ध गरेको छैन । 

सोमबार मात्र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बैठकमा रूसले आफ्नो सेनामा भर्ती भई घर फर्कन चाहने नेपालीहरूको करारपत्र रद्द गर्न सैद्धान्तिक सहमति जनाएको जानकारी दिएका थिए । 

“रूसी विदेश मन्त्रालयले रूसी सेनामा भर्ना भई घर फर्कन चाहने नेपालीको करार रद्द गर्ने आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,” केही दिनअघि रूसी विदेशमन्त्री र नेपालका लागि रूसी राजदूतसँग कुरा गरेको स्मरण गर्दै उनले प्रतिनिधिसभा बैठकमा भनेका थिए, “तर त्यसको मोडालिटी तयार हुन बाँकी छ । यसबारेमा मस्कोस्थित नेपाली दूतावासले निरन्तर फलोअप गर्नेछ ।” 

रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १९ नेपालीको मृत्यु भएको औपचारिक जानकारी रूसले नेपाललाई दिएको छ । थप १५ नेपाली मारिएको आशंकामा डीएनए परीक्षणको रिपोर्ट मागेको छ जसमध्ये एकजना जिउँदै रहेको सम्बन्धित परिवारले जनाएको छ । 

युक्रेनसँग रूसको तर्फबाट लड्दा सयौँ नेपाली घाइते भएका छन् । रूसी सेनामा भर्ती भएका ६ सयभन्दा बढीका आफन्तले उनीहरूलाई फिर्ता ल्याउन अनुरोध गरेको भण्डारीले बताइन् । युक्रेनमा युद्धबन्दी बनाइएका पाँच नेपालीलाई छुटाएर नेपाल फर्काउन आईसीआरसीको सहयोग मागिएको छ ।  

रूसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति र बिमाबापतको रकम उपलब्ध गराउने नेपाललाई बताएको छ । तर, हालसम्म उक्त रकम प्राप्त गरेका छैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro