site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामहरि खतिवडाको प्रस्ताव– कांग्रेस–एमाले मिलेर अघि बढौँ
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला उनले यस्तो बताएका हुन् ।

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले कानुन निर्माण गर्ने थलो संसद्लाई ‘बन्धक’ बनाएर नराखी सञ्चालन गर्न कांग्रेस र नेकपा (एमाले) मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए । “अहिले संसद्मा अलिकति खच्याकखुचुक भएको तपाईंहरूले देख्नुभएको छ । संसदीय व्यवस्था हो । कहिले माननीय मन्त्रीजीहरूले हिजो, अस्तिसम्म भन्नुहुन्थ्यो– आज हामीले भनेका छौँ,” उनले भने, “तर, हामी यति प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ– हामी संसद्लाई बन्धक बनाएर जनताको कानुन निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन, एउटा संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित गराउन सके मुलुकलाई स्थिर सरकार दिन सकिने उनले उल्लेख गरे । त्यसका निम्ति पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।

“...म अनुरोध गर्न चाहन्छु– केही कुराहरूमा तपाईं हामी (कांग्रेस–एमाले) मिलौँ । देश निर्माण गर्ने कुरामा अघि पनि भनेँ– पार्टीभन्दा माथि उठौँ । संविधानमा केही कुरामा संशोधन गरौँ,” उनले भने, “समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔँ । प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौँ । स्थिर सरकार बन्न सक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैँ टालाटुली बटुली । तपाईंले एउटालाई तान्ने, मैले एउटालाई तान्ने । तानातान गर्ने काम केही नहुने । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ ।”

सांसद खतिवडाले मुलुकलाई अघि बढाउन निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए । सो क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढ्न आफ्नो पार्र्टीले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्