काठमाडौं । पछिल्लो चार वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नौ मन्त्री फेरिएका छन् । ०७६ साल मंसिरयता नौ मन्त्री र सात सचिव फेरिए पनि स्वास्थ्य क्षेत्रमा गतिलो उपलब्धि हासिल भएको देखिँदैन ।
यसअघि मन्त्री रहँदा महामारी नियन्त्रण र विवादित सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनका कारण असफल सावित भइसकेका उपेन्द्र यादव पुनः स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा फर्किएका छन् । २०७५/०७६ अर्थात् सन् २०१९ मा नेपालमा १९ वर्षयताकै सबैभन्दा बढी डेंगी संक्रमण फैलिएको थियो । सो वर्ष १९ हजार ९९२ जनामा संक्रमण फैलिँदा स्वास्थ्य मन्त्रालय नियन्त्रणमा चुकेको थियो ।
सोही वर्ष पारित सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ मा गर्भपतनको अधिकतम अवधि २८ हप्ता राखियो । तत्कालीन मन्त्री यादवले गैरसरकारी संस्थाहरूको प्रभावमा परेर सो ऐन निर्माण अघि बढाएको आरोप छ । साथै, २८ हप्ताभन्दा बढी अवधिमा आमाको ज्यान खतरामा परे के गर्ने भन्ने प्रावधान नहुँदा पनि ऐन विवादितै छ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका यादव दोस्रोपटक स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा फर्किएका हुन् । यसअघि, ०७५ जेठ १८ देखि ०७६ मंसिर ४ गतेसम्म उनले सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
०७६ मंसिरयता स्वास्थ्यमा आठ मन्त्री फेरिएका छन् । उनीहरूका कार्यकाल १७ दिनदेखि डेढ वर्षसम्म मात्र थियो ।
स्वास्थ्यका नौ मन्त्री को कहिले ?
कोरोना महामारी भित्रँदा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा नेकपा (एमाले)का भानुभक्त ढकाल थिए । मन्त्रिपरिषद् हेरफेरपछि उनको कार्यकाल ०७६ मंसिर ४ देखि ०७७ पुस १० गतेसम्म रह्यो ।
०७७ पुस १० गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको कार्यकाल पाँच महिना मात्र रह्यो । ०७८ जेठ २१ गते उनले स्वेच्छिक राजीनामा दिएका थिए ।
त्रिपाठीको राजीनामालगत्तै ०७८ जेठ २१ गतेकै दिन एमालेबाट शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । तर, सरकार हेरफेरसँगै मन्त्री तामाङको कार्यकाल एक महिना पनि टिकेन । १९ दिन स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका तामाङ ०७८ असार ८ गते पदमुक्त भएका थिए ।
त्यसलगत्तै असार ११ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी एमालेकै कृष्णगोपाल श्रेष्ठलाई दिइयो । तर, राजनीतिक उथलपुथलका कारण श्रेष्ठ १९ दिनमै स्वास्थ्यमन्त्रीबाट जिम्मेवारीमुक्त भएका थिए ।
०७८ साउन १० गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका तर्फबाट उमेश श्रेष्ठलाई दिइयो । यसबीचमा करिब दुई महिना अर्थात् असोज २१ गतेसम्म राज्यमन्त्रीकै भरमा मन्त्रालय चलेको थियो ।
०७८ असोज २२ गते नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विरोध खतिवडालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो । गठबन्धन हेरफेरपछि उनको कार्यकाल ०७९ असार १२ गतेसम्म रह्यो ।
खतिवडा बाहिरिएसँगै असार १३ गते एकीकृत समाजवादीकै तर्फबाट भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो । त्यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङको कार्यकाल पनि खासै लामो टिक्न सकेन । मन्त्रिपरिषद् हेरफेरका क्रममा ०७९ पुस १२ गते खापुङ स्वास्थ्यमन्त्रीबाट बिदा भएका थिए ।
त्यसको झन्डै एक महिनापछि ०७९ माघ ३ गते एमालेका तर्फबाट पदम गिरीलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो । तर, पुनः गठबन्धनको सरकार हेरफेरसँगै गिरीको कार्यकाल पनि लामो समय टिकेन । ४२ दिन स्वास्थ्यमन्त्री बनेका गिरी ०७९ फागुन १५ गते जिम्मेवारीमुक्त भए ।
त्यसपछिका दुई महिना मन्त्रालय फेरि नेतृत्वविहीन बनेको थियो । ०८० वैशाख २० गते कांग्रेसका मोहनबहादुर बस्नेतलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो । १० महिना स्वास्थ्यमन्त्री बनेका बस्नेत यही फागुन २१ गते मन्त्रिपरिषद् हेरफेरसँगै पदबाट बाहिरिए ।