निर्मल आकाश, निश्चल धर्ती,
निरन्तर पाइलाको गति !
यता हेरौँ कि उता आँखालाई भ्याइ नभ्याइ
हिमाली रूपसी परी कति मादक !
यतिका दिनको यात्रा,
यतिका बिदा व्यर्थ बिताउनु भएन
यसको सदुपयोग नभई फर्किंदा
मन खिन्न होला, पश्चात्तापले पोल्ला
बल्लतल्ल आइपुगेको पैदलयात्रा
यो उचाइमा चिसोको तापक्रम केही होइन
हेरेर तृष्णा मेटाउँदै हरेक दृश्यहरू
देखेर प्रकृतिको फन्को मार्दै भञ्ज्याङहरू
काँडा टेकेर भए पनि सबै ठाउँ घुमेर
पुग्न सक्ने ठाउँ पुग्नु छ हिम्मतले हिँडेर
कालापत्थर तिमी उकालोको ‘काल’ रहेछौ, तथापि परीक्षणमा उत्तीर्ण भएँ
एभरेस्ट बेस क्याम्प पुग्नलाई
तिमी त धेरै टाढाको हुँदै हैनौ
दूरीले टाढा तर मनको नजिकै
आँखाकै छेउमै रहेछौ
खुम्बु ग्लेसियरको गहिराइ पनि नाप्नु छ
कठोर पत्थर र पर्वतमाथि विजय हासिल गर्दै
आँखाले देखेर आफ्नै अगाडि
बगेको पानीलाई समेत चट्टान बनाइदिने
हिलाम्मे चिसा हिउँले भिजेको हिमाल
रातदिनको यही रूप हिमालय पर्वतको
तथापि, चिसोको साम्राज्यमा
कति चिसो हुँदो होला तापक्रम ?
बादलको सिरक ओढेको देखेकै हो
मनले खिचेर, हृदयले लेखेर
अनुभूतिका अक्षरहरूमा
सर्वोच्च चुचुरो प्यारो सगरमाथालाई
सम्बोधन गरिरहेछु आज म
कलिलो घाममा सुनपानीले नुहाएर
झलमल्ल घाममा बिस्कुन सुकाएझँै
टलक्क टल्किएका हिमालका हिउँ
छाया परेको ठाउँमा पनि
हिउँमाथि अनौठो रङहरूको तरंग
हिउँ नपरेका काला पत्थर पनि
शोभायमान अनुहार देखेर
बेग्लै रूपमा प्रस्तुत भएको पाएर
प्रकृतिप्रेमीका मनहरू हर्षले निःशब्द
मैले हिमाललाई भेटेको पल !
५,५४५ मिटर उचाइमा कठिङ्ग्र्याउने बिहान
सगरमाथालाई दर्शन गरेको क्षण
आँखा रसाएर रमाएको दिन
मन खुसीले चिच्याएको दिन
हृदयमा कोरिएको हिमालय शृंखला !
रूप त केही होइन रहेछ हेर्नलाई
रङका किरण र आकृतिहरू नै विछट्टका
मेरो अनुभूतिका अक्षरहरूमा
आज हिमाल मुस्कान बोकेर उपस्थित छ
पाहुना निम्त्याउँदै सुन्दरता पस्किरहेछ
निर्मल आकाश निस्तो छैन
निश्चल धर्ती निन्याउरो छैन
बरु, हिमाली सौन्दर्यका रूप–लावण्यले
‘अतिथि देव भवः’ को सत्कार गरिरहेछ
त्यसैले त अतिथिहरूको घुइँचो
यही घुइँचोमा कति रोमाञ्चक यात्रा
यात्रा एक, अनुभूति अनेक
कपेर सीपले अनुभूतिका अक्षरहरूमा
अभिव्यक्त हिउँले चिसिएका भावनाहरू
तर, कति कोमल, मुलायम र न्यानो
आफैँमा अचम्मको अनुभूतिले
अक्षरहरूमा रूपान्तरित विम्बहरू
स्वतः अभिव्यक्त अनुभूतिका अक्षरहरू
अनुभूतिका अक्षरहरू !