site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अम्रपाली
Sarbottam CementSarbottam Cement

‘क्याम्पसको भ्रमण नजुरेको पनि राम्रै भयो है साथी हो !,’ खाना खाने टेबलमा बस्दै सलिनाले भनी ।

‘त्यो भ्रमण भएको भए हामी मिल्ने मिल्ने साथीको यो भ्रमण त कहाँ सम्भव हुन्थ्यो र ?,’ अंशुले थपी ।

सलिनाले फेरि खुसी हुँदै भनी, ‘कति ठूलो क्षेत्रमा फैलिएको र’छ है प्रिया लुम्बिनी त ? यत्रो हिँड्दा पनि गलेको महसुसचैँ धन्न भा’छैन ।’

Prabhu Bank
Agni Group
NIC Asia

‘अब खानापछि तिमीहरूलाई अझ मिठो अनुभूति हुने ठाउँमा पुर्याउँछु । हिँड्नु पनि नपर्ने आनन्दले बसेर कथा सुन्नुपर्ने,’ प्रियाले उत्साहित हुँदै भनी ।

‘कस्तो कथा सुन्नुपर्ने हो प्रिया ?,’ अंशुले जिज्ञासा राखी ।

Global Ime bank

प्रियाले उत्तर दिई, ‘अलिक पर एउटा युवकले पर्यटकलाई बुद्धकालीन कथाहरू सुनाउँछ । सुनेबापत केही रकम आफ्नो इच्छाले दिँदा हुन्छ । अघिल्लोपटक आउँदा त्यही युवकबाट एउटा घतलाग्ने कथा सुनेकी थिएँ । त्यो प्राचीन भारतकी सबैभन्दा सुन्दर स्त्रीको कथा हो । सुन्दर भएकै कारण उनको जीवन कति तहसनहस भएको थियो भन्ने निकै रोचक कहानी छ ।’

त्यहाँ पुग्नासाथ कथावाचनका लागि अग्लो आसनमा बसेको कालो तर हिस्सी परेको युवकलाई प्रियाले भनिहाली, ‘हामी अम्रपाली र भगवान् बुद्धको कथा सुन्ने हो ।’

स्वीकारोक्तिमा युवक मुसुक्क मुस्कुरायो र अगाडिको सिटमा बस्न इसारा गर्यो । अरू मान्छेहरू अघि नै बसिसकेका रहेछन् ।

युवकले कथा सुरु गरिहाल्यो ।

इसापूर्व छैटाैँ शताब्दीमा बज्जी महाजनपदको अम्बारा गाउँमा एक गरिब बाबु महानमन र उसकी छोरी अम्रपाली बस्थे । भर्खरै यौवनावस्थामा प्रवेश गरेकी अम्रपाली ज्यादै सुन्दर मुखमण्डल र आकर्षक देह भएकी स्त्री थिइन् ।

एक दिन अम्रपाली पानी लिन कुवातिर जाँदै गर्दा वीणाको मधुर आवाज तिनको कानमा ठोक्किन थाल्यो । तिनी जति हिँड्थिन् त्यति नै आवाज घनीभूत हुँदै जान्थ्यो । एकैछिनमा तिनले देखिन्, बाटोछेउको चौतारीमा बसेर एक सुन्दर, अग्ला र आकर्षक व्यक्ति वीणा बजाएर त्यही धुनमा हराइरहेका थिए ।

ठिक त्यही बेला पानी दरर्र दर्किन थाल्यो । अघिसम्म आकाश धुम्मिएको मात्र थियो । त्यही चौतारीसामु पुगेपछि पानी दर्कन थाल्नु र मिठो वीणाको धुन सुन्न पाउनु उनका लागि सुखद संयोग भयो । तिनी हत्तपत्त चौतारीमा ओत लागिन् । तिनको हृदय वीणाको धुनमा लट्ठियो । तिनले अाँखा चिम्लिन् र त्यो संगीतको मिठो उन्मादमा हराइन् ।

पानी रोकिने छाँटकाँट थिएन । यता, वीणाको आवाज बन्द भयो । ती वीणावादक युवकले बल्ल आफ्नो छेउमा बसेकी ठूलाठूला अाँखा, फराकिलो निधार, उज्ज्वल चेहरा, चम्किलो काया र आकर्षक देह भएकी अप्रतिम सुन्दरी युवतीलाइ देखे ।

तिनीहरूका आँखा अकस्मात् एकार्कासँग जुधे, फेरि तुरुन्तै हटे र फेरि जुधे । युवकको मुस्कान अचानक अम्रपालीतर्फ पोखियो र अम्रपालीको मुस्कान अनायासै भुइँतिर छचल्कियो । त्यो एकदमै अप्रत्याशित तर ज्यादै मिठो क्षण थियो ।

त्यो एकान्तिक असहजतालाई सहन नसकेर लाजले भुतुक्क हुँदै अम्रपाली जुरुक्क उठेर हिँडिन् । पानी उस्तै दर्किरहेको थियो । त्यो युवकको हृदयले पानीमा भिज्दै हिँडेकी युवतीलाई रोक्न धेरै पुकार गर्यो, तर मुखबाट एक शब्द निस्केन ।

युवतीको देह पानीको रुझानले अझ पारदर्शी हुँदै थियो । तिनको शरीरको बनावट र लचकता अझ निख्रिएर प्रस्टिँदै थियो । अलिक प...र पुगेपछि ती युवतीले फर्केर युवकलाई हेरिन् । रुझेको तिनको स्निग्ध मुहार पूर्णिमाको चन्द्रमाजस्तै उघे्रको थियो ।

त्यस युवकले त्यति सुन्दर स्त्री त्यसअघि कहिल्यै देखेको थिएन ।

त्यसरी एकार्काबाट अलग्गिएका ती दुई तरुण मन दिनभरि त्यो अञ्जान र अपूर्व भेट सम्झेर खुल्दुलीमा तड्पिरहे । रातभरि तिनका आँखा एक झप्कोसम्म पनि चिम्म नगरी दलान र भित्ताभरि छट्पटाइरहे ।

हरेक दिन सोही ठाउँमा तिनको पुनर्मिलन हुन थाल्यो । प्रेमका कल्कलाउँदा जमराहरू ती दुईका मनभरि अंकुराउन थाले । त्यस युवकले एक दिन अम्रपालीको हात च्याप्प समात्यो र आफ्नो यथार्थ बतायो, ‘देवी अम्रपाली, म मगधको राजा भाटीपुत्र युवराज बिम्बिसार हुँ । पिताको आज्ञाबमोजिम म छिट्टै मगधको राजा बन्दै छु । विभिन्न आरोपमा मगधबाट देश निकाला गरिएका पूर्वभारदारहरू, राजपरिवारका सदस्यहरू र अन्य मगधहरूसँग सहमति र आशीर्वाद लिन आएको थिएँ । अब तुरुन्तै फर्कंदै छु । राजा भएपछि छिट्टै तिमीलाई महारानी बनाउनेछु । मेरो प्रतीक्षा गर्नू ।’

देवी अम्रपाली एक शब्द पनि बोल्न सकिनन् । तिनका आँखाबाट बर्बरी आँसु झर्न लागे । त्यो आँसु स्वीकारोक्तिको थियो । रातदिनको तड्पनको मूर्तरूप थियो । अम्रपालीका बगिरहेका आखाँका आँसु पुछिदिँदै युवराज बिम्बिसारले तिनलाई तानेर आफ्नो छातीमा टाँसे ।

अम्रपाली र बिम्बिसारको भेट भएकै वर्ष खडेरी र अनिकालले बसिनसक्नु भएर महानमन छोरी अम्रपालीलाई लिएर आफूले पहिले काम गरेकै राजप्रासाद सेवामा फेरि अवसर पाउने आशा र विचारले राजधानी वैशाली आए ।

वैशाली आइपुगेको केही समयमा नै कुमार बिम्बिसार मगधको राजा भएको खबर सहरभरि फैलियो । यस खबरले अम्रपाली खुसीले गदगद भइन् । तिनले अब मगधकी महारानी बन्ने सपना देख्न थालिन् । अम्रपालीको तरुण हृदय गंगा नदीपारिको शत्रुदेशको राजा बिम्बिसारका लागि हरपल धड्किरहन्थ्यो ।

अम्रपाली सोच्ने गर्थिन्– प्रेम हुन न त लामो समय न त लामो वार्तालाप । न त एकार्काबारे लामो जानकारी, केही नचाहिने रहेछ । यदि, एकार्काका आँखा बस् एक थोप्लो समय मात्र आपसमा जोडिए भने हो त्यति नै रहेछ  प्रेम हुन, सम्झिरहन, कल्पिरहन, तड्पिरहन लाग्ने समय । त्यसपछि त लाखौँलाख बार त्यही एक थोप्लो समय बारबार सम्झेरै बित्ने रहेछ ।

वैशालीमा नगरबधु छनोट संघले नयाँ नगरबधु खोजिरहेको रहेछ । त्यही बेला असीम सुन्दरी अम्रपाली सहरमा देखापरेकी थिइन् । त्यस संघले अम्रपालीको नाम पनि चर्चामा ल्याइहालेछ ।

देशको त्यस कानुनमा अम्रपाली सदैव मतभेद राख्थिन् । कानुनानुसार बज्जीकी सबैभन्दा सुन्दर स्त्रीलाई ‘जनपद कल्याणी’को ताज पहिर्याएर वैशालीमा नगरबधु बनाइन्थ्यो । नगरबधु देश–विदेशका लागि जनपदकी घोषित वेश्या हुन्थी । तिनीहरूलाई विवाह गर्ने, सन्तान जन्माउने, आफ्नो इच्छाअनुसारको जीवन बाँच्ने अधिकार थिएन ।

जनपद कल्याणी वा वैशालीकी नगरबधु राज्यका सबै पुरुषकी साझा वेश्या हुने भएकोले सारा पुरुषहरू यस निर्णयलाई आफ्नो दरकारको विषय मान्थे र आफ्नो नजरमा सबैभन्दा उत्तम लागेकी स्त्रीका लागि युद्ध गर्न समेत उद्यत हुन्थे । पछिल्लो दिनमा अम्रपाली नगरबधु बन्नुपर्ने माग राख्दै युवाहरू एकजुट र एकमत भएका थिए ।

यता, अम्रपालीले जनपद कल्याणी बन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरिदिइन् । राजधानीको त्यो अवस्थाले महासामन्त चिन्तित हुन थाले । छिमेकी शक्तिशाली राज्यहरू मगध, कोशल, अंग, अवन्ति आदिसँग जति बेला पनि युद्ध गर्नुपर्ने हुन सक्थ्यो । युद्धको सँघारमा युवाहरूको माग पूरा गर्न नसक्दा उनीहरू भड्किन सक्थे ।

त्यो अन्योललाई शान्त पार्न महासामन्त र तत्कालीन नगरबधु मधुवाला, अम्रपालीलाई सम्झाउन पुगे ।

अम्रपालीलाई सम्झाउँदै महासामन्तले भने, ‘प्रजाले आफ्नो जनपदको लागि व्यक्तिगत इच्छा, अनिच्छाभन्दा माथि उठ्न सक्नुपर्छ । तिम्रा बाबु महानमन यो देशका उत्कृष्ट दण्डधर हुन् । तिनकी पुत्री तिमी पनि त्यस्तै देशभक्त छौ भन्नेमा म विश्वस्त छु । छिमेकी राजाहरू यो धन र ईश्वरीय स्वर्गभूमिलाई हामीबाट खोस्न चाहन्छन् र उपयुक्त दाउ खोजिरहेका छन् ।

तिम्रा लागि प्रत्येक दिन सहरमा सामूहिक प्रदर्शन भइरहेको छ । युवाहरू यसरी असन्तुष्ट भएर किचलो बढ्दै जाँदा हामी कमजोर हुन्छाँै । हाम्रो युद्ध बल कमजोर हुन्छ । देशले प्रार्थना गरेको छ अम्रपाली, इतिहासको यो मागलाई स्वीकार गर ।’

नगरबधु छनोट संघले आफूलाई एक शब्द पनि नसोधी आफ्नो नाम चर्चामा ल्याएकोले अम्रपाली अघिबाटै क्रोधित थिइन् । उनले क्रोधको उही लयमा भनिन्, ‘यो संसारमै नभएको कानुनी प्रथा किन हाम्रो जनपदमा मात्रै छ ? बज्जीमा किन सुन्दर भएर जन्मिनु स्त्रीको लागि अपराध भयो ? स्त्रीलाई जबरजस्ती वेश्या बनाएर पुरुषलाई सुन्दर वेश्याको लालच देखाउँदै युद्धमा होम्ने जनपदको यो कस्तो घृणित जुक्ति हो ? देशको रक्षाका लागि युवाको मनोबल बढाउने अरू सबै उपाय सकिएकै हुन् ?’

छिमेकी राज्य मिथिलामा युगौँअगाडि गार्गी र मैत्रेयीले दरबारमा शास्त्रार्थ गर्थे । पुत्रीलाई मान दिँदा जनपदको सम्मान बढेको मिथिलाको इतिहास किन पढ्दैन बज्जीले ? छोरीलाई विद्वान् बनाए सान, कीर्ति, प्रसिद्धिले हाम्रो मनोबल आफैँ उच्च हुनेछ । नत्र यस्तो कुप्रथालाई जोगाइराख्ने अष्टकुलको शासक जाति, लिच्छवि र सारा बज्जीहरूको नालायक शिर कसरी माथि उठ्ला ?’

एकैछिन चुप लागेर फेरि बोलिन्, ‘हाम्रा कुनै पनि छिमेकी शत्रु देशमा नगरबधुको प्रचलन छैन । तर पनि तिनीहरू युद्ध गर्न, आफ्नो जनपदको रक्षा गर्न समर्थ छन् । मेरो नजरमा तिनीहरू महान् छन्, किनकि युवा खुसी पार्न र जनपदको आम्दानी बढाउन तिनीहरू आफ्ना कुलकुमारीका मर्यादाको व्यापार गर्दैनन् ।’

अम्रपालीले नगरबधु मधुवालातर्फ फर्केर उस्तै कडा स्वरमा भनिन्, ‘दिदी, तपाईं कसरी मलाई सम्झाउन आउनुभयो ? तपाईंजस्तो भुक्तभोगीले त यस्तो विकृत कानुनलाई बदल्नुपर्छ भन्ने प्रस्ताव राख्नुपर्थ्यो । यस्ता घृणित प्रथाको अन्त्यका लागि लाग्नुपर्थ्यो ।’

मधुवालाले अम्रपालीको तुलनामा धेरै सानो स्वरमा भनिन्, ‘भगिनी अम्रपाली, देशको अखण्डता, एकता र कल्याणका लागि हजाराँै सुन्दरीहरूमा तिमीलाई यो सुअवसर प्राप्त भएको छ । सारा युवालाई एकजुट बनाउन सक्ने शक्ति तिमीलाई प्राप्त हुँदै छ । यो अवसरको उपयोग गर । तिमी इतिहासकै सर्वश्रेष्ठ जनपद कल्याणी ठहरिनेछौ । यो सौभाग्यलाई अपनाऊ ।’

अम्रपालीले झनै कडा भएर भनिन्, ‘सौभाग्य ? म घृणा गर्छु यस्तो सौभाग्यलाई । लात हान्छु यस्तो प्रस्तावलाई । दिदी, स्त्रीको स्वतन्त्र जीवन खोस्ने, उसका अनेकौँ आकांक्षा मार्ने, यस्तो निकृष्ट कानुन बनाउने सन्थागारलाई के अधिकार छ ? जननी बज्जीले मलाई यति सुन्दर रूपमा जन्म दिएर मेरै आँसु पिउन माग्छिन् त ? साँच्चै, त्यसो भए म सारा बज्जीलाई सराप दिन्छु ।’

अम्रपालीको शत्रु देशको प्रशंसा र बज्जीलाई सराप दिने वचनले महासामन्त आक्रोशित भएर जुरुक्क उठे र कडा स्वरमा बोले, ‘बज्जीले आँसु मात्र होइन देवी, रगत, प्राण र बलिदान पनि माग्छ ।

वर्षौँदेखि अष्टकुलका सबै जातिका बलिदानले जोगाएको जनपद हो, जोखिममा कदापि राख्न सकिँदैन । पूर्वजले बनाएका कानुन हाम्रा मार्गदर्शक हुन् । यसरी अपमान गरेर बोल्ने तिमीलाई हक छैन ।’

उनी सरासर ढोकाबाहिर पुगे र एकपटक अम्रपालीतर्फ हेर्दै धम्कीपूर्ण स्वरमा भने, ‘अब नगरबधु बन्नका लागि तयार भएर बस ।’

वैशालीमा जनपद कल्याणी पद हस्तान्तरण समारोह भव्यताका साथ मनाइयो । त्यो भव्य रोमाञ्चक सभामा देश–विदेशका राजा–महाराजा, धनी कुलीन, सामन्त, श्रेष्ठी, दण्डधर तथा दरबारिया समेतले कुनै दिन जनपद कल्याणीलाई भोग्ने लालसामा कामातुर नजरले समारोहको दृश्यास्वादन गरे ।

त्यसपछि अम्रपालीको कल्पनाको संसार भत्कियो । बिम्बिसारको प्रेममा आशक्त किशोर मन कसैगरी यो निर्णय मान्न तयार थिएन । तिनलाई बिम्बिसारको स्मरणले झनै सताउन थाल्यो । तिनलाई विश्वास थियो कि बिम्बिसारले तिनको वेदनालाई बुझ्नेछन् र प्रेमका खातिर कुनै उचित कदम लिनेछन् ।

एकान्तमा तिनी आँसुसरि भएर आफ्नो हालत बिम्बिसारलाई सुनाउँदै पागलजस्तो एक्लै बर्बराइरहेकी हुन्थिन् । तिनको एक मात्र आशा राजा बिम्बिसारमाथि थियो ।

ठिक त्यही आघातको बेला मगधका राजा बिम्बिसारले कोशलकी राजकुमारी कोशलादेवीसँग विवाह गरेको तिनले थाहा पाइन् । बिम्बिसारको उनीमाथिको त्यो प्रहार बज्जी महाजनपदले दिएको आघातभन्दा बढी घातक थियो । त्यो खबर थाहा पाएर तिनका आँखाबाट झर्न थालेका आँसु जति पुछे पनि सकिएनन् । वर्षाको भेलजस्तै बर्सिरहे ।

अम्रपाली प्रासादको विनोदकक्षमा साँझ परेपछि आगन्तुकहरूका खिलखिलाहट सुरु हुन्थे । दिल्लगी, हाँसोठट्टा, गानाबजानासँगै नर्तकीहरूका घुँघुरुहरू छन्छनाउन थाल्थे । आमोद–प्रमोदको तामझामले पूरा प्रासाद नै गुञ्जायमान हुन थाल्यो ।

ती प्रत्येक विराग साँझमा अम्रपालीको विदीर्ण हृदय पग्लिन थाल्थ्यो । चित्कारको प्रभुत्वबाट जोगिन तिनी हत्तपत्त तकियामा मुख गाड्थिन् र चिच्याउँदै रुन थाल्थिन् । तिनको चिच्याहट त्यही आमोद–प्रमोदको कोलाहलमा विलीन हुन्थ्यो ।

त्यही बेला दासीहरू ढोका ढक्ढक्याउँदै छिटो तयार भएर विनोदकक्षमा आउन आग्रह गर्न थाल्थे । तिनी अनुहारको वास्तविक भावमाथि हत्तपत्त शृंगार र मुस्कानको बर्को ओडेर बाहिर निस्किन्थिन् ।  

विस्तारै अम्रपाली विलासी, घमण्डी, सनकी र पियक्कड हुँदै गएकी थिइन् । प्रेमप्रार्थना गर्ने कुनै पनि पुरुषलाई तिनले सहजै स्वीकार गर्न थालिन् । उनी पुरुषले चाहेभन्दा बढी तृप्तिलिप्सामा उन्मत्त हुन्थिन् । धनवान्हरू उनको मस्तक्रीडाबाट प्रभावित भएर अथाह उपहार र धन लिएर उपासनामा आइरहन्थे ।

अम्रपाली पनि तिनीहरूलाई बारम्बार आइरहन आमन्त्रण गर्थिन् । तिनले दर्शाउने प्रेम, अनुराग, आशक्ति सबै झुटा हुन् भन्ने भलिभाँती बुझेर पनि तिनीहरूबाट उनी क्षणिक सान्त्वना चाहन्थिन् । बिम्बिसारले दिएको धोका र चोटलाई सहन तिनको झुटो प्रेम सहायक हुन्थ्यो ।

एक दिन मगधका राजा बिम्बिसारले बज्जीमाथि धावा बोले र तुरुन्तै युद्ध प्रारम्भ भयो । बज्जीका युवा, वृद्ध, बालक सबै देशभक्तहरू युद्धमा होमिए । दुई शक्तिशाली महाजनपदबीचको त्यो युद्ध महाप्रलयकारी थियो ।

त्यसैबीच, युद्घस्थलबाट राजा बिम्बिसार अचानक गायब भएको खबरले मगधका योद्धाहरूमा सनसनी फैलियो ।

यता, त्यही रात अम्रपाली प्रासादमा बिम्बिसार सवार भएको खबर अम्रपालीसामु दण्डधरले जाहेर गर्यो । उन्मादिनी अम्रपालीले तिनका कुरा राम्रोसँग सुन्दा पनि नसुनी भित्र आउने अनुमति दिइन् ।

जब बिम्बिसार तिनका अगाडि प्रस्तुत भए, त्यो झुटजस्तो सत्यलाई हेरेको हेर्यै भइन् । बिम्बिसारले तिनलाई नमन गर्दै भन्यो, ‘देवी अम्रपाली, आफ्नो प्राणलाई दाउमा राखेर, विजय–पराजयको परिणामलाई बिर्सेर, राजाको अहम्लाई त्यागेर, निःशस्त्र भएर केवल तिम्रो प्रेम र विश्वासमा आएको छु ।’

अम्रपाली निःशब्द थिइन् । एक छिनको मौनतापछि फेरि बिम्बिसार बोले, ‘अम्रपाली, राजा भएपछि मान्छे लाचार हुनुपर्दो रहेछ । आफ्नो भावना र मनभन्दा धेरैमाथि कूटनीति र राजनीतिलाई महत्त्व दिनुपर्ने रहेछ । मलाई माफ गरिदेऊ अम्रपाली । म तिमीसँग माफी माग्न आएको ।’

बिम्बिसारका वचनले सहेका सारा कष्ट बिर्सिइन् । हिजोको धोका, परेको चोट, झरेका आँसु सबै बिर्सिइन् । तिनी उही अम्बारा गाउँकी सरल बालिका बनिन् र बिम्बिसारलाई त्यही वीणा बजाउने किशोर सम्झेर अगाध प्रेमले अँगालिन् ।

त्यो प्रणयलाप एक हप्तासम्म चलिरह्यो । त्यसबीचमा उसले अम्रपालीलाई आफूसँग विवाह गरी बज्जी त्यागेर मगध जान र मगधकी महारानी बन्न समेत प्रस्ताव गर्यो ।

यता, राजा अचानक हराएपछि हतोत्साही बनेका मगध सेनालाई बज्जीहरूले नराम्ररी हराएर फिर्ता पठाइदिए ।

राजधानी वैशाली नगर विजयोत्सवका लागि बेहुलीझैँ सिँगारिँदै थियो । स्थानस्थानमा बाजागाजा, नृत्य, झाँकी र जुलुसको तयारी हुँदै थियो । त्यस्तो माहोलबाट राजा बिम्बिसार भेष बदलेर मगध प्रस्थान गरे ।

उप्रान्त अम्रपालीले बिमारीको बहानामा कुनै पनि पुरुषसँग साक्षात्कार हुन छोडिदिइन् । अब फेरि तिनी बज्जी त्याग्ने र मगध जाने सपना बुन्न थालिन् । तिनलाई मगधकी राजमाता हुने रहरले कुतकुत्याउन थाल्यो । एकान्तमा रोइरहने अम्रपाली एक्लैएक्लै मुस्कुराउने भएकी थिइन् ।

त्यही बेला वैशाली सहरमा अर्को सनसनीपूर्ण खबर फैलियो । खबर थियो, राजा बिम्बिसारले बज्जीकी राजकुमारी चेलनासँग विवाह गरेर बज्जीसँग मित्रता गाँस्दै छन् ।

यस खबरले अम्रपालीको हृदय छियाछिया बनायो । तिनलाई उकुसमुकुस भएर श्वासै रोकिन खोज्थ्यो । छाती चिरिन्थ्यो । टाउको चड्किन्थ्यो । छटपटी र जलन भइरहन्थ्यो । यस्तो व्याकुलतामा पनि भक्कानो फुटेर आँसुको थोपा भने पटक्कै खसेन ।

आफ्नै जनपदकी राजकुमारी चेलनाकी सौता बन्नु अम्रपालीका लागि नैतिक तथा सुरक्षाको दृष्टिले घातक निर्णय हुन्थ्यो । त्यसैले उनले बज्जी त्याग्ने, नगरबधुको दलदलबाट उम्कने, मगध जाने, राजमाता बन्ने सबै सपना सधैँका लागि त्यागी दिइन् । यद्यपि, त्यो निर्णय तिनका लागि काँडामाथिको यात्राजस्तै थियो ।

यता, अम्रपालीको पेटमा बिम्बिसारको सन्तान हुर्कन थाल्यो । तिनकी प्रिय दासी रामाले एक दिन तिनलाई सोधिन्, ‘देवी अम्रपाली, उही बिम्बिसारले पहिलोपटक धोका दिँदा कति धेरै प्रताडित हुनुभएको थियो, योपटक कसरी शान्त रहन सक्नुभएको छ ?’

उत्तरमा अम्रपालीले भनिन्, ‘पानी थोरै भइन्जेल मात्र नदी बनेर छट्पटाउँदै यताउता बग्ने रहेछ रामा । त्यही पानी बगेरै नसकिने गरी अटाइ नअटाइ भएपछि शान्त समुद्र त बन्ने रहेछ ।’

धेरै वर्षपछि फेरि बज्जी र मगधको युद्वको सम्भावना बढ्न थाल्यो । शक्तिशाली राजा बिम्बिसारको पुत्र जन्माएकाले बज्जीहरू अम्रपालीलाई विश्वास गर्दैनथे । मगध र बज्जीको सिमानामा रहेको हिराखानीको आम्दानी सम्झौताअनुसार बज्जीले मगधलाई भुक्तानी नदिएर हडपेको पोल अम्रपालीले मगध पुर्याएको हल्ला चलेको थियो ।

युद्धको भय जति बढ्दै थियो त्यति मान्छेहरू तिनीमाथि सुराकी, खबरी, राष्ट्रघाती भन्दै छेडछाड गर्दथे ।

उता, बिम्बिसारप्रतिको वितृष्णाले अम्रपाली बिम्बिसार त के उसको छाया पनि हेर्न चाहँदिन थिइन् । मगधको जित भएमा बज्जीहरूले तिनलाई दोष लाउने थिए । मगधले जितेमा तिनीमाथि जस्तोसुकै दुर्व्यवहार हुन सक्थ्यो ।

यसरी अम्रपालीमाथि बेकारको प्रताडना सुरु भयो । उग्र तनावले उनी अवसादकी बिमारीजस्ती भइन् ।

ठिक त्यही समयमा तथागत बुद्ध वैशालीनजिकैको कोटीगाउँमा उपदेश दिँदै आएको तिनले सुनिन् । तथागतलाई भेटेर सारा तनाव उहाँका चरणमा बिसाउने तिनलाई तीव्र इच्छा भयो ।

आफ्ना दासीहरूका साथ तिनले तथागतलाई भेटिन् र भोजनको निम्तो दिइन् । तथागत बुद्धले तिनका आँखामा हेर्नुभयो । त्यहाँ उहाँले असीम प्रेम, भक्ति र तडप देख्नुभयो । आफ्ना अनुयायीको लाख विरोधका बाबजुद तथागतले भोजनको आमन्त्रणा स्वीकार गर्नुभयो ।

त्यही समयमा त्यहाँ भोजनका लागि राजाको निम्तो लिएर गएका लिच्छवि कुमारहरूले तथागतलाई अनुरोध गरे । तर, तथागतले भन्नुभयो, ‘मैले देवी अम्रपालीको निमन्त्रणा स्वीकार गरिसकेँ । त्यसैले राजाको निमन्त्रणा स्वीकार्न असमर्थ छु ।’

भोजनको समय तिनले तथागत र भन्तेजनहरूको भोजनग्रहणलाई निर्निमेष हेरिरहिन् । त्यो दृश्यले तिनलाई अपार आनन्द दिइरहेको थियो । खुसी र आनन्दमा विभोर भएर तिनका आँखा रसाउन थाले ।

तथागतले अम्रपालीको आँखामा आँसु देखेर भोजनपछि तिनलाई सोध्नुभयो, ‘देवी, भन तिमी के चाहन्छ्यौ ?’

तिनी तथागतको चरणमा झुकिन् र करुण स्वरमा भनिन्, ‘बुद्धम् शरणम् गच्छामि । तथागत, आज मेरा सारा वेदनाहरू तपाईंका चरणमा बिसाउन चाहन्छु ।’

तथागत बुद्धले भन्नुभयो, ‘भन अम्रपाली, तिमीलाई के भयो ? मनको कलुषलाई विस्तारमा बताऊ ।’

अम्रपालीले तथागतका चरणछेउमा बसेर भन्न थालिन्, ‘तथागत, मेरो जन्म हुनासाथ मेरा मातापिताले मलाई सालनालसहित त्यागेका रहेछन् । मेरा पालकपिता महानमनले आँपको वृक्षमुनि मलाई भेटेर पालन गर्नुभएछ र मेरो नाम अम्रपाली राखिदिनुभएछ ।

मैले मेरी माताको काखमा न्यानो गरी एक निन्द्रा सुत्न पनि पाइनँ । माताको स्तनपान गरेर एकपटक तृप्त हुन पाइनँ । जन्म दिएर त्याग्न सक्ने कस्ती होलिन् मेरी माता ? आफ्नै शिशुको करुणाले नपग्लने तिनको छाती कति कठोर होला तथागत ?

दैव पनि मेरा लागि त उस्तै निष्ठुरी भए । बज्जीमा मजस्ती परित्यक्तालाई किन यस्तो सुन्दर रूप दिनु ? मेरो आफ्नै सुन्दरता मेरो शत्रु भयो तथागत !

म जबरजस्ती नगरबधु बनाइएँ । पालित बालिका भएकोले त्यो निर्णयमा मेरो सम्मति समेत आवश्यक ठानिएन । मैले मातापिता, कुल, गोत्र नहुँदा, अभिभावक दह्रो नहुँदा हेपिनुपर्यो ।

मैले बिम्बिसारका आश्वासनमा शरीरसँगै आत्मा पनि समर्पण गरेकी थिएँ । उसले त शरीर, आत्मा, भावना सबैको शोषण मात्र गरेको रहेछ । त्यही पे्रमको विश्वासमा संसारलाई ढाँटेर, लुकेर, भविष्यको मिठो रहर र आशाले पुत्र विमल उत्पन्न भयो । अहिले उही पुत्र बाबुविहीन, देशविहीन, कुल, जात, गोत्र, थरविहीन भएको छ ।

मेरो बालक पुत्र विमल आफ्ना पिताका बारेमा प्रश्न गरेर मलाई पटकपटक आहत गर्दछ । मेरो शरीर मात्र भोग्न आएको फगत बजारु बिम्बिसारलाई म कसरी मेरो पुत्रको पिता भनौँ तथागत ? मेरो बालक पुत्रलाई यो सत्य कसरी बुझाऊँ ?

अनेक दरबारियाहरू, उच्चपदस्थहरू, कुलीन, ब्राह्मण, राजा–महाराजाहरू एकान्त विलासमा मलाई प्रेम, कदर, प्रशंसाले उत्फुल्लित गर्दछन् । ती पुरुषहरू मलाई भोग्न स्वेच्छाले अनेक धन, गरगहना, हिरामोती उपहार लिएर आउँछन् ।

म त जबरजस्ती वेश्या बनाइएकी मान्छे ! मन रोइरहेको हुन्छ, तर पनि शरीर तिनीहरूको कामनापूर्तिमा समर्पण गर्दछु । त्यसपछि म नीच, घृणित, कलंकित ठहरिन्छु । तिनीहरू त जतिपटकको समागमपछि पनि उस्तै सुवासित, प्रशंसित, महान्, उत्तम रहिरहन्छन् । यो कत्रो अन्याय हो तथागत ?

म जन्मेदेखि नै पटकपटक त्यागिएँ, दबाइएँ । मान्छेका नजरबाट त..ल फ्याँकिएँ । तर, आज तथागत, हजुरले मेरो प्रासादमा भोजन गरेर मलाई दरबारभन्दा पनि माथि पुर्याउनुभयो । अब फेरि त...ल फ्याँकिन चाहन्नँ । अब म न उँच न नीच, एकसमानको वैराग्यको जीवन बाँच्न चाहन्छु । यो दलदलबाट म र मेरो पुत्रको उद्धार गर्नुहोस् । मलाई भिक्षु संघमा स्वीकार गर्नुहोस् ।

म मेरो सारा सम्पत्ति, रुपैयाँ, रत्न, जेजे छन्, त्यो पवित्र भिक्षु संघलाई दान गर्न चाहन्छु । म चाहन्नँ मेरो धन फेरि कुनै नगरबधु छान्ने प्रतियोगितामा खर्च होस् वा त्यस्तो विकृत कानुन बनाउने पापीहरूको भोगविलासमा खर्च होस् । त्यसैले मेरो निवेदन स्वीकार गर्नुहोस् तथागत ।’ यति भनिसकेर तिनी अनुनयको मुद्रामा तथागतसामु हात जोडेर रुन लागिन् ।

अम्रपालीको प्रस्तावले त्यहाँ भएका भिक्षुहरूमा हल्लीखल्ली मच्चियो । वेश्याकोमा भोजन गर्नु र अझ वेश्यालाई भिक्षु संघमा स्वीकार गर्नु, त्यो तिनीहरूको सोच्ने शक्तिभन्दा धेरै परको कुरा थियो ।

तर, तथागतले कसैका कुरा नसुनी अटल निर्णय लिनुभयो । अम्रपालीलाई भिक्षुणीको रूपमा स्वीकार गर्नुभयो । त्यसै दिन कपाल मुण्डन गरेर, चीवर धारण गरेर, भिक्षुणी बनेर अरू भिक्षुसँगै अम्रपाली वैशालीबाट प्रस्थान गरिन् ।

धेरै वर्षपछि आफ्ना मातापिताको स्मरणमा तथागत आफ्नो जन्मभूमि कपिलवस्तु आउनुभएको थियो । त्यसपटकको विश्राममा मगधका महाराज अजातशत्रु अचानक कपिलवस्तु आइपुगे । तिनी छिमेकी गणराज्य बज्जीलाई आक्रमण गर्ने विचारमा रहेछन् ।

बाबु बिम्बिसारले राज्य विस्तारमा जहिले पनि तथागतको आशीर्वाद लिएको तिनले देखेका थिए । सोहीअनुसार तिनी पनि तथागतको मन्तव्य जान्न, विमर्श गर्न र आशीर्वाद लिन आएका थिए ।

कपिलवस्तुमा तथागत र अजातशत्रुको ज्यादै महत्त्वपूर्ण वार्तालाप भयो । त्यो वार्ता बुद्घका सारा अनुयायी र प्रिय शिष्य आनन्दका सामुन्ने भएको थियो ।

अजातशत्रुको आशय बुझेपछि तथागतले आफ्नो मन्तव्यमा शिष्य आनन्दलाई केही प्रश्नहरू सोध्नुभयो ।

‘आनन्द, के बज्जी संघको सभा नियमित हुने गर्छ ? के त्यस सभामा सदस्यहरूको संख्या पूर्ण हुने गर्छ ?’

आनन्दले विनम्रतापूर्वक भने, ‘हो भन्ते, यो सत्य हो ।’

फेरि तथागतले भन्नुभयो, ‘त्यसो भए बज्जीहरूको विनाश हैन, वृद्घि नै अपेक्षित छ ।’

फेरि अर्को प्रश्न गर्नुभयो, ‘आनन्द, के बज्जीहरूमा एकता र एकमत छ ? उनीहरू सामूहिक उद्यम गर्दछन् ?’

आनन्दले उतर दिए, ‘हो तथागत, यो सत्य हो ।’

तथागतले भन्नुभयो, ‘यदि, त्यसो हो भने बज्जीहरूको विनाश हैन, वृद्घि नै अपेक्षित छ ।’

फेरि तथागतले सोध्नुभयो, ‘बज्जीहरू के सामूहिक चर्चाबाट नै नियमको निर्माण गर्दछन् ? सन्थागारमा बनेको नियमको सबैले पालना गर्दछन् ? वृद्धको इज्जत गर्दछन् ?’

आनन्दले भने, ‘हो भन्ते, यो पनि सत्य हो ।’

तथागतले भन्नुभयो, ‘त्यसो भए बज्जीहरूको विनाश हैन, वृद्घि नै अपेक्षित छ ।’

अन्त्यमा तथागतले सोध्नुभयो, ‘के बज्जीहरू आफ्ना कुल स्त्री र कुल कुमारीहरूको इज्जत, मर्यादा र इच्छाको कदर गर्दछन् ?’

तथागतले यो प्रश्न गर्दा आनन्दका आँखा अनायासै सबैभन्दा पहिलो लहरमा बसेकी भिक्षुणी अम्रपालीसँग ठोक्किन पुगे । तिनका भरिएका आँखा र मुखमण्डल देखेर तिनी हच्किए । तिनले बडो यत्नपूर्वक विस्तारै भने, ‘अहँ, तथागत त्यस्तो छैन । नगरबधुजस्तो कुप्रथा अझै उसैगरी राज्यले नै चलाइरहेको छ ।’

त्यत्तिकैमा सबैले अम्रपालीलाई हेरे । तिनका आँखाबाट आँसु बगिरहेका, अनुहार रातोपिरो भएको र ओठ थर्र कामिरहेका थिए ।

तथागतले बडो करुणामय दृष्टिले अम्रपालीलाई हेरिरहनुभयो र अजातशत्रुतर्फ फर्केर भन्नुभयो, ‘मान्यवर, अरूअरू कुरा जतिसुकै महान् किन नहुन्, तर जनपद यदि स्त्रीपीडक छ भने त्यसको विनाश निश्चित छ । स्त्रीपीडक व्यक्ति, परिवार, जाति वा राज्य जेसुकै होस्, त्यसको विनाश अवश्यम्भावी छ ।’

अजातशत्रुले तथागतको मन्तव्यमा स्त्रीपीडक बज्जीको अन्त्य हुनैपर्छ भन्ने राय पाएको अनुभूति गर्यो । साथै, तथागतले विभिन्न प्रश्नोत्तरमार्फत बज्जीलाई जित्न मार्गदर्शन गरेको महसुस गर्दै उसले तथागतको चरण छोयो र मगध फर्कियो ।

अजातशत्रुले तथागतको इसाराअनुसार नै आफ्ना विश्वासपात्र उदायनलाई वैशाली पठायो । उदायनले वैशालीमा त्यहाँकोे एकता, सामूहिक निर्णय प्रणाली, सन्थागारप्रतिको विश्वास आदिमाथि प्रहार गरी राज्यलाई कमजोर बनायो ।

त्यही समयमा मगधले बज्जीमाथि आक्रमण गरी विजय प्राप्त गर्यो । त्यो विजयसँगै बज्जीको त्यो धृणित कानुनको पनि अन्त्य भयो ।

पराजयको चोट खप्न नसकेर बज्जीका प्रमुख लिच्छवि राजा चेतकले कुवामा हामफालेर आत्महत्या गरे । बाँकी लिच्छवि भाइभारदार, दरबारिया, उपराजा र दरबारका भित्रियासहितका लिच्छविहरू भागेर नेपालमा शरणार्थी जीवन बिताउन थाले ।

राजपाठ र शासकीय संस्कार उनीहरूको पुस्ताँैपुस्ताको जीवन पद्धतिमा थियो । उनीहरूले केही पुस्तापछाडि नै किराँतहरूलाई वशमा पारेर नेपालको राज्यसत्ता हातमा लिए ।

कथा भन्ने सुन्दर युवक कथा भन्न छोडेर मुसुक्क मुस्कुरायो र टेबलमा भएको पानीको बोतलबाट एकएक घुड्की गर्दै पानी पिउन थाल्यो । स्रोता यति मुग्ध भएर कथा सुनिरहेका थिए कि उसले पानी पिइरहेको समयमा पनि उनीहरू अधैर्य देखिए ।

कृतिले सोधिहाली, ‘कथा सकिएको हो ?’

‘किन हतारिनुभएको ?,’ उसले बोतलको बिर्को बन्द गर्दै भन्यो ।

कथावाचकको भनाइले कहानी अझै बाँकी रहेको जस्तो बुझिन्थ्यो । त्यसैले स्रोताहरूको शरीर र मनमा आएको छट्पटी थामियो ।

त्यो युवकले पानीको बोतल टेबलमा राख्दै फेरि भन्न थाल्यो, ‘यो अहिले मैले तपाईंहरूलाई सुनाएको कथा भगवान् बुद्धको जीवनकालको ज्यादै महत्त्वपूर्ण कथा हो र यो कथा बुद्धले निर्वाण प्राप्त गरेपछि तक्षशिला विश्वविद्यालयमा पढाइ हुने गर्दथ्यो ।

केही शताब्दीपछिको कुरा हो, एक दिन उक्त विश्वविद्यालयमा सारांश लेखन प्रतियोगिता हुने भएछ । त्यो प्रतियोगितामा त्यहाँ अध्ययनरत चीन, नेपाल, भारत, ग्रीस आदिका प्रतिभाशाली विद्यार्थीहरूले भाग लिएका थिए ।

सबै विद्यार्थीले आ–आफ्नो प्रतिभाको उच्चतम् अभ्यास गरे र आफ्नो उत्तरलाई उत्कृष्ट बनाउने कोसिस गरे । ती सबै उत्तरमध्ये सानै उमेरका मेधावी छात्र चाणक्यको उत्तरलाई निर्णायक समितिले सर्वोत्कृष्ट घोषणा गर्यो ।

उनले यो कथाको सारांशमा मनुस्मृतिका दुई हरफ मात्र लेखेका थिए– 
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।

यही महाप्रतियोगितादेखि नै मनुको यो भनाइ लोकप्रिय भएको भन्ने किंवदन्ती रहेको छ ।

कथावाचक फेरि उस्तै मिठो मुस्कान मुस्कुरायो र कथा सकिएको संकेतस्वरूप सबैलाई नमस्कार गर्दै भन्यो– नमो बुद्धाय ।

बेलुका होटेलको कोठामा ती प्रिय सखीहरू सर्वश्रेष्ठ सुन्दरी अम्रपालीको जीवनकथा मन्थन गरेर भावुक भए । आफूआफूले चिनेका त्यस्ता स्त्रीपीडक परिवार, समाज र राष्ट्रका बारेमा पनि तिनीहरूले चर्चा गरे ।

यसैक्रममा कृतिले भनी, ‘आजको विश्वका जति पनि विकसित र समृद्ध देशहरू छन्, ती देशमा स्त्रीको सम्मान, स्वतन्त्रता र अधिकार स्थापित छ । जुन देशमा महिलाको अवस्था दयनीय छ त्यस्ता देशहरू अविकसित र पछाडि परेका छन् ।’

अंशुले प्रश्न गरी, ‘लिच्छविकाललाई हाम्रो देशको स्वर्णयुग भनिन्छ । वैशालीबाट आएका ती स्त्रीपीडक लिच्छविहरूका सन्तति खोइ आज नेपालमा कहाँ छन् ?’

अंशुको प्रश्नमा सबै जिल्ल परे । सलिनाले गम्भीर भएर भनी, ‘भगवान् बुद्धको वाणी आज पनि उत्ति नै सान्दर्भिक छ ।’

गफैगफमा तिनीहरू भगवान् बुद्धको न्यायप्रियतामा नतमस्तक भइरहे । 

(मेचीनगर–९, झापा)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement