
काठमाडौं । निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० संसद्मा प्रस्तुत भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत भएको हो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत हुनुअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । उनले विधेयक पारित भए नदी दोहन बढ्ने र वातावरण बिग्रने जिकिर गरे ।
साथै उनले चुरेलगायत क्षेत्रका खनिजको दोहन हुने र केही व्यक्तिले राज्य दोहन गर्ने अधिकार पाउने भन्दै व्यक्ति पोस्न र राज्य दोहन गर्न विधेयक आएको दाबी गरे । उक्त विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसपश्चात् विधेयक सदनमा प्रस्तुत भएको हो ।