काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने बताए ।
उनले देशलाई सनातन हिन्दु राष्ट्रको रूपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए ।
उनले बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दु राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले बेवास्ता गरेको बताए ।
"सनातनीहरूको मूल मन्दिरको रूपमा रहेको देश यसलाई आत्मसात् नगर्नु दुर्भाग्य हो । त्यसकारण कांग्रेसजस्तो राष्ट्रियताको विचार बोकेको पार्टीले यो विषयलाई हिजो गल्ती गर्यौँ । अब सच्याएर आत्मसात् गर्दै लोकतन्त्रवादी पार्टी, राष्ट्रवादी पार्टीले यो विषयलाई आत्मसात् गरौँ," उनले भने ।