काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आज वेस्ट एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)मा सिरियाविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।
पश्चिम एसियाका राष्ट्रहरुबीच हुने प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । साउदी अरेबियामा जारी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै प्यालेस्टाइन, इराक र सिरिया छन् ।
साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । जसको समूह ‘ए’ मा घरेलु टिम साउदीसँगै गुआम, जोर्डन र लेबनान छन् । सोमबारदेखि सुरु भएको प्रतियोगिता २९ फेब्रुअरीसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि नेपाली टिम एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानी र राजेन्द्र तामाङको प्रशिक्षणमा छ ।