site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसाको घुसकाण्डदेखि नक्कली भुटानी शरणार्थीको अनुसन्धानबारे लामिछानेका प्रश्नैप्रश्न
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘अध्यागमन अधिकृत कसरी फरार भए ?’ भन्दै प्रश्न गरे । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले ‘भिजिट भिसामा घुस प्रकरणमा मुछिएका अध्यागमन अधिकृत ताराबहादुर कुँवर कसरी फरार भए ?’ भनेर प्रश्न गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं डीआईजी अर्जुन चन्द ठकुरीको राजीनामा र प्रहरी कर्मचारीले पुरस्कार पाएको विषय समेत स्पष्ट पानुपर्ने माग गरे ।

Argakhachi Cement Island Ad

“सरकारी कर्मचारी फरार कसरी हुन्छ ? राजीनामा आएको हो कि होइन ?,” बैठकमा उनले प्रश्न गरे, “निलम्बितलाई पुरस्कृत गरिएको हो कि होइन ?”

अध्यागन अधिकृतले घुस लिनका निम्ति छुट्टै समिति बनाएको भन्ने विषयमा समेत गृह मन्त्रालयले अनुसन्धान नगरेको उनको आरोप छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबारे पनि सांसद लामिछानेले प्रश्न गरे । सो प्रकरणमा ‘हाई प्रोफाइल’ जोडिएपछि प्रहरीले पूरक अनुसन्धान प्रतिवेदन तयार गर्न नसकेको उनले आरोप लगाए ।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा थप हाई प्रोफाइलको पूरक प्रतिवेदन ल्याउने भनिएको थियो, प्रतीक थापा, निरज राईहरू पक्राउ परे कि परेनन् ?,” उनले प्रश्न गरे, “नैनकला थापा र अडियोमा नाम लिइएकाहरूको अनुसन्धान, बयान भयो कि भएन ?”

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्