site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लघुवित्तपीडितले फागुन १ गतेदेखि आन्दोलन गर्ने

काठमाडौं । लघुवित्तपीडितले आगामी फागुन १ गतेदेखि आन्दोलन गर्ने भएका छन् । मंगलबार लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उक्त आन्दोलनमा वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभाका पूर्वसांसद रामनारायण विडारीले साथ दिने बताए । विडारीले सरकारले पीडितलाई न्याय नदिए कडा आन्दोलन गर्ने बताए ।

Argakhachi Cement Island Ad

“हजारौँको बलिदानपश्चात नयाँ व्यवस्था आए पनि नेपाली जनता आज पनि पञ्चायतीकाल जस्तो आर्थिक उत्पीडनमा पिल्सिरहेका छन्,” विडारीले भने, “राजतन्त्र र सामन्ती व्यवस्था गयो तर, गरिब जनता झन् शोषणको दलदलमा फस्नुको मुख्य कारण व्यवस्था फरक भए पनि पात्र सामन्ती नै छन् ।”

समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले विगत दुई वर्षदेखि अनवरत आन्दोलन गर्दै आएको र अब त्यसलाई निर्णायक मोडमा ल्याएको जानकारी दिए । 

“सरकारको आदेश तथा निर्णयलाई पनि नकार्ने राष्ट्र बैंक अझै पनि न्याय दिन तयार नहुनु, वार्तामा प्रतिनिधिसम्म नपठाउनु दुःखत विषय बनेको छ,” ज्ञवालीले भने । राष्ट्र बैंकका गर्भनर जनविरोधी र वित्तीय माफियाहरूको दलाल भएको ज्ञवालीले बताए ।

फागुन १ गते चितवनको मुग्लिनदेखि हजारौँ पीडितहरूसहित पैदल यात्रामार्फत राजधानी प्रवेश गरी न्याय नपाएसम्म धर्ना, जुलुस लगायतका कार्यक्रम गरेर निर्णायक संघर्ष गर्ने ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्