site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
पूर्वीय दर्शनमा कर : को सँग, कसरी, कति असुल गर्ने ?

भारत वर्षमा विकास भएको दर्शनहरूलाई पौरस्त्य दर्शन भनिन्छ । पौरस्त्य दर्शनलाई पूर्वीय, आर्य, जनक, भारत आदि दर्शनका नामले पनि चिनिन्छ । पौरस्त्य दर्शनहरूले जीवन, जगतकाबारेमा शुक्ष्म र गहन अध्ययन कार्य गरेका छन् । 

पूर्वीय दर्शनको मूल प्राज्ञिक स्रोत वेद हो, जुन संस्कृत भाषानिष्ट हो । वेदकै टीका–टिप्पणी र समालोचनामा पूर्वीय दर्शनको विकास हुँदै जान्छ । विभिन्न दार्शनकि सिद्धान्त तथा सम्प्रदायहरूको जन्म हुँदै जान्छ ।
 
कतिपय दर्शनहरूले वेदलाई प्रामाणिक मान्छन् कति अप्रमाणिक पनि मान्छन् । यस आधारमा पौरस्त्य दर्शनहरूलाई आस्तिक र नास्तिक गरी विभाजन गर्ने गरिएको पाइन्छ ।
 
वेदलाई प्रामाणिक मान्ने ईश्वरको अस्तित्वमा विश्वास गर्ने र परलोकप्रति विश्वास गर्ने दर्शनहरू आस्तिकअन्तर्गत पर्छन् भने वेदलाई प्रमाणिक नमान्ने ईश्वरप्रति विश्वास नगर्ने र परलोकमा विश्वास नगर्ने दर्शनहरू नास्तिकअन्तर्गत पर्छन् ।

आस्तिक दर्शनअन्तर्गत साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनहरू पर्दछन् । नास्तिक दर्शनअन्तर्गत चार्वाक, जैन र बौद्ध दर्शनहरू पर्छन् ।

KFC Island Ad
NIC Asia

पौरस्त्य आस्तिक दर्शनहरूले आ–आफ्नै मान्यता अघि सारे तापनि ईश्वर, आत्मा, जगत्, मन, मोह, जीवनको क्षणिकतासम्बन्धी कतिपय विषयहरूमा यी दर्शनहरूको सारभूत मान्यता लगभग समान रहेको देखिन्छ ।

यहाँ पौरस्त्य दर्शनसँग सम्बन्धित कर र दस्तुरसम्बन्धी व्यवस्थालाई यसरी प्रस्तुत गरिएको छ–

Royal Enfield Island Ad

पुराणकालीन कर र दस्तुर

पुराण शब्दको अर्थ पुरानो भन्ने हुन्छ । प्राचीनतम ज्ञान र नैतिकताको कुरा पुराणभित्र रहेका हुन्छन् । यो मानवसभ्यताको आधारशीला  हो । प्राचीन ग्रन्थहरू वेदको भाषा तथा शैली कठिन हुनुका साथै सर्वसम्मत् तरिकाबाट वेदलाई बुझ्ने सामर्थ्य सबैमा सहजता नभएकाले वेदव्यासले पुराणको रचना गरेका हुन् ।

वेदमा भएका जटिल तथ्यहरूलाई पुराणमा कथाको माध्यमबाट बुझाइएको देखिन्छ । पुराणको विषय नैतिकता, विचार, भूगोल, खगोल, राजनीति, संस्कृति, समाज, परम्परा र विज्ञान रहेका देखिन्छन् । पुराणमा देवीदेवता, राजा/महाराजा, ऋषिमुनि तथा साधारण मानवको चरित्र कथाको माध्यमबाट व्यक्त गरिएको पाइन्छ । 

ती पुराणहरूमध्ये महत्त्वपूर्ण पुराणको रूपमा रहेको श्रीमद्भागवत महापुराणमा करको सम्बन्धमा निम्न तरिकाले वर्णन गरिएको पाइन्छ–

“परीक्षित् महाराजले आफ्नो देशमा कलि प्रवेश गरेको अप्रिय समाचार सुनेपछि सेनासहित दिग्विजय गर्ने विचारले पूर्व, पश्चिम, उत्तर र दक्षिण चारवटै दिशाका समुद्र तटमा विद्यमान भद्राश्व, केतुमाल, भारत र उत्तर कुरुदेशहरूमा विजय प्राप्त गर्नुभयो र त्यहाँका राजासँग कर ग्रहण गर्नुभयो ।’’

यसै प्रसँगमा “जब ब्रह्माजीले संसार सृष्टि गर्ने विचार गर्नुभयो, तब आफ्नो दुई जाँघबाट मनु र तिनकी रानी शतरुपाको सृष्टि गर्नुभयो । यिनकै मैथुनबाट धर्मद्वारा प्रजा बढ्न थाले ।  त्यसपछि सृष्टिको विकाससँगै प्रजाको सङ्ख्या बढ्यो । राज्यको क्षेत्र पनि विस्तृत भयो । त्यसपछि राज्यको सञ्चालन गर्न सरकारको आवश्यकता पर्यो । सरकारलाई पूर्ण रूप दिई जनताको आवश्यकता पूरा गर्न कर अपरिहार्य रह्यो ।’’

महाभारतकालीन कर र दस्तुर

महाभारत हिन्दूहरूको एक प्रमुख काव्यग्रन्थ हो । यसलाई स्मृतिवर्गको ग्रन्थ मानिन्छ । 

यस ग्रन्थ भारतीय संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ हो । महाभारतको प्रथम अध्यायअनुसार यो महाकाव्य ऋषि वेदव्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन्) द्वारा बोलेर, भगवान् गणेशद्वारा लेखाइएको हो ।

व्यासले यो ग्रन्थ आफैँले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिएपछि भगवान् गणेशले लेख्नुभएको हो । यस महाकाव्यको सुरुवात एउटा सानो रचना जयबाट भएको थियो भन्ने मान्यता छ । 

यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाई सामान्यतया वैदिक युगमा लगभग १४०० ईसापूर्वको समयको मानिन्छ । विद्वानहरूले यसको तिथि निर्धारित गर्न यसमा वर्णित सूर्यग्रहण र चन्द्र ग्रहणहरूबारेमा अध्ययन गरेका छन् र यसलाई ३१औँ शताब्दी इसा पूर्वको मान्छन् भने पौराणिकहरू ५०७८ वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१ पूर्व लेखनकार्य सम्पन्न भएको मान्दछन् । 

महाभारत हिन्दूधर्मको अनुसार प्राचीन समाजलाई बुझ्न ऐतिहासिक स्रोतको रूपमा रहेको छ । सोही महाभारत ग्रन्थमा करको सम्बन्धमा पनि वर्णन पाइन्छ । 

करको सम्बन्धमा महाभारतको शान्ति पर्वमा “युधिष्ठिर भीष्म पिताहसँग सोध्छन्– ‘‘हे बुद्धिमान् पितामह ! राज्यको सम्पत्ति बढाउन के गर्नुपर्छ ?’’

यो प्रश्नको उत्तर दिँदै भीष्म पितामह युधिष्ठिरलाई भन्छन्, “भँवराले बिस्तारै बिस्तारै वृक्षका फूलको रस लिन्छ, जस्तो मनुष्य बाच्छोलाई कष्ट नदिइकन गाईको दूध दुहुन्छ, थुनमा कुनै पीडा पर्दैन । त्यसैगरी राजाले कोमलताको व्यवहार गरी राष्ट्ररूपी गाईको दोहन गरोस् । जस्तो जुकाले बिस्तारै बिस्तारै रगत चुस्तछ, त्यसैगरी राजाले पनि कोमलताका साथ राष्ट्रबाट करमार्फत् धन असुल गराओस् । जस्तो बघिनी आफ्नो बच्चालाई दाँतले च्यापी यताउता गर्छिन् । परन्तु उसलाई घाउ, पीडा कुनै पार्दिन, त्यसैगरी नरम उपायले राष्ट्रले कर दोहन गर्नुपर्छ । जस्तो तिखो दाँत भाएको मुसोले सुतेका मानिसको पाउको मासु बिस्तारै कोपर्छ, उसलाई पीडाको भान हुँदैन । खालि पाउसम्म चलाउँछ, यस्तै राजा सजिलो उपायले राष्ट्रबाट कर (धन) लेओस्, जसले गर्दा प्रजा दुःखी नहोस् । राजाले पहिले थोरै थोरै कर लिएर पछि बिस्तारै बिस्तारै बढाउनुपर्छ । जस्तो बहरलाई बोझ बोक्ने अभ्यास गराउने मानिसले पहिले त्यसलाई नाथी, बिस्तारै बिस्तारै थोरथोरै भार लदाउँछ, त्यसैगरी प्रजामा राजाले पहिले करको भार कमै राखी पछि उसलाई बिस्तारै बिस्तारै बढाओस् । कथं कदाचित् ती बहरलाई एकैचोटि भार लाद्यो भने काबुमा ल्याउन कठिन हुन्छ । त्यसैले तिनलाई एक एक गरी उचित ढङ्गले भारी बोक्न लगाएमा पछि तिनै बहर भारी बोक्न सक्ने हुन्छन् । त्यसैले राजाले सबै पुरुषलाई एकैचोटि वशमा पार्नु दुष्कर हुन्छ । अतः पहिले प्रधान मनुष्यलाई मधुर वचनद्वारा सान्त्वना दिएर वशमा ल्याओस् र पछि अरु साधारण मनुष्यलाई वशवर्ती बनाओस् । राजाले समय र परिस्थितिको प्रतिकूल प्रजामा करको बोझ बढाउनु हुँदैन । समय र परिस्थितिअनुसार सम्झाई बुझाई उचित रीतिले क्रमशः कर असुल गरियोस् ।’’

सोही क्रममा भीष्म पितामह युधिष्ठिरलाई राजधर्मबारे उपदेश दिँदै भन्नुहुन्छ– “मदिरा खाने ठाउँ, यौनकर्मी, कुटिनी, दलाल, जुवाडी र यस्तै अरु खराब पेसा भएका जति पनि मनुष्यहरू छन्, ती सबै राष्ट्रलाई हानि पुर्याउने खालका हुन्छन् । त्यसैले यी सबैलाई उचित दण्डले दबाएर राख्नुपर्छ । यिनीहरूले राज्यमा रही कल्याणमार्गमा चल्ने प्रजालाई ठूलो हानि पुर्याउँछन् । जो–जो राजकर्मचारीहरूले बढ्ता बढ्ता कर असुल गर्दछन्, ती तिम्रो हातबाट दण्ड पाउन योग्य छन् । तिनको सट्टा अर्को अधिकारी पठाई त्यहाँबाट ठीकठाकमात्र कर लिने अभ्यास गर्नुपर्दछ । धनीहरू राष्ट्रको मुख्य अंग हुन् । धनवान् पुरुष सबै प्राणीमा प्रधान हुन्छ । यस्ता व्यक्तिलाई भोजन, अन्न, पानी आदिद्वारा आदर र सत्कार गर्नुपर्छ । त्यस समय विनयपूर्वक भन्नुपर्दछ– “तपाईँले र मैले यी आतुर प्रजाहरूमा कृपादृष्टि राख्नुपर्यो ।’’

मनुस्मृतिमा कर र दस्तुर

मनुस्मृति मनुद्वारा रचित धर्मशास्त्र हो । हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन् । भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नै हुन्छ । 

यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद–विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएको छ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म–व्यवस्था वेदमा आधारित छ ।

मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास–पुराणहरू स्पष्ट छैनन् । तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो । 

मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ–साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँछन् ।

मनुस्मृतिको काल एवं प्रणेताको विषयमा नवीन अनुसन्धानकारी विद्वानहरूले पर्याप्त विचार गरेका छन् । कसैको मत यो छ कि “मानव’’ चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो ।

कसैले भन्छन्– मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदै वर्तमान रूपमा प्रचलित भयो ।

मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रन्थमा पाइँदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन् । मनुस्मृतिमा समाजको आवश्यकताका विविध पक्षकाबारे वर्णन गरिएको पाइन्छ । सोही ग्रन्थमा करका सम्बन्धमा पनि वर्णन पाइन्छ ।

करको सम्बन्धमा मनुस्मृतिमा यसप्रकारको उल्लेख पाइन्छ–
“राजाले शास्त्रको विधिअनुसार राजकर्मचारीहरूद्वारा प्रजाहरूबाट वार्षिक कर उठाउनुपर्छ र उनीहरूप्रति पिताको जस्तै व्यवहार गर्नुपर्छ । त्यस्तै, व्यापारीहरूको खरिद–बिक्री खानपिन, बाटो खर्च, सुरक्षामा लागेको खर्च, बचेको सरसामान आदिको हिसाब–किताब राम्रोसँग राखेर तिनीहरूसँग कर लिनुपर्छ । त्यस्तै खेतीपाती, व्यापार/व्यवसायमा सबैको लाभ होस् भनी सधैँ भलो चिताएर राजाले कर उठाउनुपर्छ । जसरी जुको, बाच्छो र भँवराले अलिअलि जम्मा गरेर आफ्नो खानेकुराको प्रबन्ध गर्छ, उसैगरी राजाले प्रजाबाट अलिअलि कर लिनुपर्छ । त्यस्तै राजाले पशु, सुन, सुन व्यापारीको लाभमा पचासौँ भागको एक भाग र खेतीबालीसँग अन्नको छैठौँ, आठौँ र बाह्रौँ भागको एक भाग कर लिनुपर्छ । त्यसैगरी काठ, मासु, मह, घिउ, सुगन्ध, औषधी, रस, फूल, कन्दमूल, फल आदिको व्यापार गर्ने व्यापारीहरूबाट कर लगाउनुपर्छ । साग, घाँसपात, छाला, बाँसका, माटाका, ढुङ्गाका सामानको व्यापारीबाट लाभको छैटौँ भाग लिनुपर्छ । राजाले आफ्नो राज्यका स–साना व्यापारीहरूबाट पनि वार्षिक रूपमा केही न केही कर लिनै पर्छ । कलाकार, नर्तक, गायिका र नाच्ने युवतीहरू जस्ता विभिन्न वर्गका मानिसहरूलाई पनि करको रूपमा महिनाको एक दिन काम लगाइने प्रचलन थियो । सुनका सिक्का, गाईवस्तु, अनाथ, कच्चा पदार्थका आकारमा र व्यक्तिगत सेवा दिएर पनि कर तिर्ने व्यवस्था थियो । ब्राह्मणबाट कर लिनुहुन्न । जसले धर्मशास्त्रको संरक्षण गर्छ, उसलाई अनिकाल हुनु हुँदैन । जसले शिक्षा प्रदान गर्छ, उसले गर्दा नै राजाको धर्म, आयु, धन र राज्यको विस्तार हुन्छ ।

त्यस्तै कर बढी लिएर प्रजाको उठिबास लगाउनु हुँदैन । मनुस्मृतिका अध्यायहरूमा विभिन्न प्रकारका करका उपायहरूका बारेमा पनि उल्लेख गरेको भेटिन्छ । मनु तथा अन्य ऋषिले करलाई आम्दानी र व्ययसँग जोड्नुपर्ने कुरा उल्लेख गरेको छ । तथापि राजाले अत्यधिक कर लगाउन नहुने भन्ने कुरा उल्लेख गरेको र करको पूर्ण अनुपस्थिति वा अत्यधिक दुवै करबाट जोगिनुपर्छ भन्ने भनाइ तत्कालीन समयमा रहेको पाइन्छ ।  प्रजाले कर तिर्नमा ढिला नगरून् भनी राजाले कर असुलीको लागि आवश्यक व्यवस्था गर्नुपर्दछ । 

कौटिल्यकालीन कर र दस्तुर

चाणक्य वा कौटिल्य (वा कौटल्य) (ईसापूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्दवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान् ग्रन्थहरू रचना गरेका थिए । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ । 

मुद्राराक्षसमा वर्णन भएअनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ । बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए । उहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । उहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए । उहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ उहाँ राजसी ठाट–बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे । उनै कौटिल्यले रचना गरेको अर्थशास्त्र प्रख्यात ग्रन्थ हो  ।

करको सम्बन्धमा कौटिल्यको अर्थशास्त्रमा, देशभित्र जन्मिएको, कुलीन, अवगुण नभएको, अर्थशास्त्रको ज्ञान भएको, स्वामीभक्त, प्रभावशाली, स्वस्थलगायतका योग्यता भएको व्यक्ति प्रधानमन्त्रीको पदका लागि योग्य र उल्लिखित योग्यतामध्ये आधा वा एक चौथाइ योग्यता हुनेलाई मध्यम वा अयोग्य मन्त्री ठान्नुपर्छ । त्यसैगरी मन्त्री, अमात्य, पुरोहित आदिजस्ता नेतृत्वदायी पदहरूमा विभिन्न योग्यताहरू निर्धारण गरिएका हुन्थे र विभिन्न परीक्षाको माध्यमबाट योग्यतम व्यक्तिहरू चयन गरी नियुक्त गरिएको हुँदा त्यो बेला कर प्रशासनमा गुणात्मक नेतृत्व पनि रहेको कुरा बुझ्न सकिन्छ । 

प्राचीन समयको सार्वजनिक प्रशासनमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व छुट्टिएको पाइँदैन । प्राचीन समयमा कर प्रशासनमा बौद्धिकता प्रवर्द्धन र प्रदर्शनबाट प्राप्त हुने कुरा कौटिल्यको अर्थशास्त्रबाट थाहा पाउन सकिन्छ । किनभने त्यो समयमा विभागाध्यक्षलगायतका पदाधिकारीहरू निश्चित योग्यता भएका र निश्चित परीक्षाबाट सफल भएकाहरू मात्र कर प्रशासक नियुक्त हुन्थे । 

त्यसैगरी कार्यकुशलताको आधारमा पनि उपल्लो पदको नेतृत्व प्राप्त हुन सक्ने कुरा अर्थशास्त्रको अध्ययनबाट थाहा पाउन सकिन्छ । जुन पदको लागि जस्तो योग्यता निर्धारण गरिएको हुन्थ्यो, त्यस्ता पदहरूमा योग्यताअनुसारकै व्यक्तिहरूलाई नेतृत्व प्रदान हुन्थ्यो । त्यस्तै कौटिल्यका अनुसार राजकीय उच्च पदस्थ कर्मचारीहरू अमात्यमा हुनुपर्ने गुणले युक्त हुनुपर्ने, योग्यता र दक्षताको आधारमा तिनीहरूलाई नियुक्त गरिनुपर्ने व्यवस्था थियो । 

त्यस्तै कौटिल्यको अर्थशास्त्रअनुसार युवराज तीन विशिष्ट क्षेत्रहरूमा प्रशिक्षित हुनुपर्छ, अर्थशास्त्र (आर्थिक प्रशासन), नीतिशास्त्र (विदेश मामिला) र दण्डनीति (राजनीति) भन्ने कुरा अर्थशास्त्रको अध्ययनबाट थाहा पाउन सकिन्छ । 

नेपालमा कर पद्धति

नेपालमा गैर–कर सम्बन्धी नीतिगत व्यवस्था नेपालमा प्राचीन कालदेखि नै कुनै न कुनै रूपमा कर लगाउने प्रथा रही आएको छ ।

त्यस्तै कौटिल्यको अर्थशास्त्रको दोस्रो अध्यायको नब्बेऔँ प्रकारणमा राज्यका कोषमा थोरै धन भएमा अर्थसंकट परेर दुःख बढ्ने हुनाले राज्यको कोषमा धन जम्मा गर्ने काम राजाले गर्नुपर्दछ । 

आफ्नो देश ठूलो होस् वा सानो होस्, देवमातृक (आकाशबाट पानी परेर खेती हुने), नदीमातृक (खोलानालाको पानी लागेर खेती हुने), जस्तो भए पनि धेरै अन्नहरू भएको मौकामा उब्जाउको तीन भागको एक भाग वा चार भागको एक भाग अथवा मझौला वा तल्लोखालको जनपदमा भएको उब्जाउअनुसार केही भाग राज्यको कोषका निमित्त ग्राम, नगरवासीसँग बाधा नपर्ने गरी मागेर लिनू भन्ने उल्लेख पाइन्छ ।

सोही प्रकरणमा कृषकहरूका लागि, व्यापारीहरूका लागि, पशुपंक्षी पाल्नेहरूका लागि छुट्टाछुट्टै कर सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी बगैँचाबाट काँचो छोडेर पाके पाकेको फल टिपेझैँ राजाले अधर्मीहरूको धन टिप्नुपर्दछ । काँचो फल टिपेझैँ गरी धर्मात्माको धन लिएमा प्रजाहरू चिढिने हुनाले त्यो लिन हुँदैन । 

प्राचीनकालमा राज्यको उद्देश्य हासिल गर्न सरकारले तोकिएबमोजिम विभिन्न क्रियाकलापहरू सञ्चालन गर्नुपर्दथ्यो । जसका लागि स्रोतसाधनको आवश्यक पर्दथ्यो । राज्यले विभिन्न क्षेत्रबाट आवश्यक स्रोतसाधनहरूको जोहो गरेको हुन्थ्यो ।

प्राचीन समयमा सरकार धेरै शक्तिशालीभएकाले जनताबाट चाहेजति राजस्व असुल गर्न सक्दथ्यो । यस्ता स्रोतसाधनहरू मानवीय, आर्थिकलगायतका हुन्थे । राज्यले आन्तरिक तथा बाह्य रूपमा स्रोतसाधन प्राप्त गरिरहेको हुन्थ्यो । राज्यले आमनागरिकबाट वित्तीय स्रोतको रूपमा विभिन्न किसिमका कर, दस्तुर, शुल्क, जरिवाना आदिका माध्यमबाट स्रोत सङ्कलन गरिरहेको हुन्थे । यसरी नागरिकबाट सङ्कलित स्रोतसाधनका सम्बन्धमा सरकार, आम नागरिकहरूप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने हुन्थ्यो ।

यसप्रकार प्राचीन श्रीमद्भागवतकालीन, महाभारतकालीन, मनुस्मृतिकालीन र कौटिल्यकालीन कर र दस्तुरको अवस्थालाई अध्ययन गर्दा राज्यले जनताको हितको निमित्त मात्र कर सङ्कलन गर्नुपर्ने र यसबाट नै राज्यको समृद्धि सम्भव भएको पाइन्छ । सुखी जनता र समृद्ध राज्य बनाउन यथोचित करको सङ्कलन तथा उचित दर र दायरा लगाउनुपर्नेमा तत्कालीन शास्त्रमा एक मत रहेको देखिन्छ । 

बौद्ध दर्शनमा कर र दस्तुर

बुद्ध धर्म, एक धार्मिक र दार्शनिक परम्पराको रूपमा, कर र कर्तव्यहरू सम्बन्धी विशेष नियमहरू तोक्दैन । बौद्ध धर्मले आर्थिक वा राजनीतिक मामिलामा विस्तृत मार्गदर्शन प्रदान गर्नुको सट्टा आध्यात्मिक विकास, नैतिक आचरण, र ज्ञानको मार्गमा ध्यान केन्द्रित गर्दछ । 

यद्यपि बौद्ध धर्मले नैतिक सिद्धान्तहरू र सद्गुणहरूलाई जोड दिन्छ, जुन आर्थिक गतिविधिहरू सहित जीवनका विभिन्न पक्षहरूमा लागू गर्न सकिन्छ । 

बुद्ध धर्मका पाँच उपदेशहरू नैतिक जीवनका लागि दिशानिर्देशहरू छन् । जीवित प्राणीहरूलाई हानि पुर्‍याउन, चोरी गर्न, यौन दुर्व्यवहारमा संलग्न हुन, झुठो बोली र मादक पदार्थको उपभोग गर्नबाट टाढा हुन यिनीहरूले सहयोग गर्दछन् ।

यद्यपि यी उपदेशहरूले स्पष्ट रूपमा आर्थिक मामिलाहरूलाई सम्बोधन गर्दैन तर बौद्ध धर्म र आर्थिक अभ्यासहरूबीचको सम्बन्ध रहन्छ । सक्षेपमा भन्नुपर्दा बौद्ध धर्म आफैँले कर लगाउने सम्बन्धमा विशेष मार्गदर्शन प्रदान गर्दैन, तर यसको नैतिक सिद्धान्तहरूले व्यक्ति र समुदायको आर्थिक अभ्यासलाई विभिन्न तरिकामा प्रभाव पारेको देखिन्छ ।

लेखक कर विषयमा विद्यावारिधीको शोधार्थी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro