site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
हुनेखाने इस्टमित्रलाई सधैँ खुसी बनाइराख्नू, नत्र... 

प्रस्तुत आलेख दुई वर्ग (सामान्य र उसको हुनेखाने इस्टमित्र)बीच हेर्दा र देख्दा सामान्य लाग्ने तर त्यसले मनमा कहीँ न कहीँ बिझाउने व्यवहार हकमा केही व्यवहारगत दृष्टान्तहरूबाट उजागर गर्न खोजिएको छ । इस्टमित्र भन्नाले आफन्त अनि साथीभाइ सबै पर्ने हुँदा ठूलाबडा र सामान्यबीचको सोचाइ र व्यवहारले सम्बन्धमा कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने देखाउनु यो लेखको मूल मर्म हो ।

‘के हो आजकल त न फोन न म्यासेज, केही छैन ?’ यस्तो गुनासो प्रायः धनाढ्य आफन्त, नातेदार, साथीभाइबाट आइरहेकै हुन्छ । यो गुनासोभन्दा पनि उनीहरूले हेयको नियत राखी बोलिएको औपचारिक वाक्य भावानुभूत त्यति बेला हुन्छ, जब उनीहरूले चाहिँ कत्ति न सम्झिने, शुभ चिताउने अनि समय–समयमा सम्पर्क गरी नै रहेझैँ ठूलो भई टोपल्न प्रस्तुत गरेका हुन्छन् ।

‘आउँदै गर न, यो त कहिल्यै आउँदैन । सम्पर्क गर्दै गर न, यसले त कहिल्यै सम्पर्क नै गर्दैन ।’ यस्ता औपचारिक वाक्यहरू बोलेर आफूचाहिँ सामान्यभन्दा फरक हो भनी टोपल्ने उनीहरूको व्यवहारबाट बुझिन्छ । त्यो भन्नेले कतिपटक सामान्य इस्टमित्रहरूको झुपडीमा गइयो त ? अनि, आफूले चाहिँ कतिपल्ट सम्पर्क गरेँ त भन्ने प्रश्नको उत्तर मनन नगरी औपचारिकताको सम्बन्ध प्रस्तुत गरेका हुन्छन् ।

अपवादका अवस्था छाड्ने हो भने फोन गर्दा लामै समयसम्म रिङ बजाउँदा पनि रिसिभ गरिँदैन । कसैगरी रिसिभ भए तापनि आफू साह्रै व्यस्त रहेको भावभंगी देखाइन्छ । अनि, म्यासेज पठाउँदा रिप्लाई दिन धेरै नै ढिला गरिन्छ । त्यसो गर्नु भनेको उसले गरेको बेवास्ता हो भनेर बुझ्न गाह्रो पर्दैन ।

अझ कसैकसैले सोधेको हालखबरको ‘रेस्पोन्स’ गरिदिन समेत महिनौँ लगाइदिन्छ्न् । जसले गर्दा त्यो सामान्य इस्टमित्रलाई पुनः सोधौँसोधौँ लाग्दैन । अनि, विस्तारै सम्बन्ध पातलिँदै गइरहेको हुन्छ । बडो चासो राखेर उनीहरूको हालखबर सोधियो भने जवाफ फर्काइने गरिन्छ ‘ठिक छ ।’

सोध्नेलाई तिमीलाई चाहिँ कस्तो छ भन्ने सहानुभूतिका प्रश्न सोधिन्न भने सम्झनुपर्छ कि त्यो ठूलो मान्छे हो । यदि, बडो गाह्रो गरी रिप्लाई गरिहालियो भने पनि अत्यन्तै छोटो ‘थ्यांक्स’जस्ता ‘रेस्पोन्स’ गर्ने गर्छन् ।

‘अब त कमाउने भइस् अनि दाम छापेको छस् । त्यही भएर होला, अचेल त के गन्थिस् अब हामीलाई ।’

‘अब त ठूलो भई टोपलेको’ जस्ता वाक्य यसरी हेपेर बोलिरहेका हुन्छन् कि उनीहरूले देख्दा वा उनीहरूका सामुन्ने सधैँ उही हैसियतमा रहिरहनुपर्थ्यो । त्यसो नगरेर यदि मिहिनेत र लगनशीलताले गर्दा कोही कमजोरले पछि प्रगति गर्‍यो भने पनि त्यो हुनेखाने इस्टमित्रहरूलाई स्वीकार्य बहुतै कठिन हुन्छ ।

आजकल सबैभन्दा बढ्ता सामाजिक सञ्जालमा उनीहरूले राखेको र लेखेको कुरा आफूलाई चित्त नबुझेता पनि ‘आहा, कत्ति जाती !’ भनी दिएन भने उनीहरूको मन बेखुस हुन्छ । अनि, आफूलाई नटेरेको जस्तो ठानी वैरभाव मनमा लिएका देखिन्छ ।

जर्साबलाई स्वस्ति नगर्दा सिपाहीको जागिर खुस्किएको कथाझैँ उनीहरूलाई हरपल प्रशंसा गरिरहनुपर्ने, उनीहरूकै भक्तिगान गरिरहनुपर्ने । यदि, त्यसमा कुनै दिन कमी आएमा उनीहरूको मनमा चसक्क पस्छ । अनि, नटेरेको भान हुन्छ, कहीँ कतै थोरै चुकियो मात्र भने पनि । उनीहरूले लगाएका/अह्राएका कामहरू आफ्नो महत्त्वपूर्ण काम समेत छाडी विनाआनाकानी तुरुन्तै आज्ञापालन गर्न सकियो भने उनीहरू बेहद खुस, नत्र भने अनादरको भाव सिर्जना ।

उदाहरणका लागि, उनीहरूको आफ्नै मात्र जन्मोत्सव, विवाहोत्सव, पास्नी, छेवर, चूडाकर्मलगायत दिनहरूमा मात्र नभई उनीहरूका आफन्तका पोस्टलाई समेत ऐजन ऐजन मन नपराइदिएर प्रशंसा गर्न चुकियो मात्र भने पनि वक्रदृष्टि पर्छ । तसर्थ, ठूलाबडा इस्टमित्रलाई सधैँ खुसी बनाइराख्नुपर्छ ।

‘के काम गर्छस् ? के कस्तो कमाएको छस् ? प्रगति के गरिस ? जस्ता हेय भावना झल्किने प्रश्न सोधेर आफू उपल्लो स्थानमा रहेको र उसको स्थान आफ्नोभन्दा सधैँ तल्लो रहेको देखाइटोपल्ने किसिमको प्रश्न सोध्ने गर्छन् भने अरूलाई आवश्यक नपर्ने निःशुल्क सल्लाह समेत दिन भ्याइरहेका हुन्छन् ।

उनीहरूले सालौँ पहिले देख्दाखेरि जुन अवस्था र परिस्थितिमा थियो, वाग्मतीमा कैयौँ पानि बगिसकेपछि पनि उही अवस्थामै रहनुपर्छ भन्ने उनीहरुको चाहना देखिन्छ । जति बेला हेप्ने गरिएको थियो, त्यसरी इन्सल्ट गर्दै बोल्दा सहनुपर्छ भन्ने हेय भावका साथ प्रस्तुत हुने गरिएको देखिन्छ ।

के भएकाले यस्तो हुन्छ ? प्रसिद्ध मनोविद् बब हन्डरसनले यस किसिमको मनोभावलाई एक मनोसमस्याकै रूपमा अर्थ्याएका छन् । उनले मानिसलाई चार उमेर समूहमा राखी व्याख्या गरेका छन् ।

किशोरावस्था
उनीहरूका मोजमस्ती, रवाफिलो क्रियाकलाप, सुन्दरता, वीरता इत्यादिको प्रशंसा गरेको रुचाउँछन् । यति त सामान्य हो कि उनीहरूले बनाएका टिकटकको समेत मुक्तकण्ठाले प्रशंसा गरियोस् भन्ने आशय राखेका हुन्छन् । उनीहरूले साथीसंगी अनि नातेदारहरूका माझ आफ्नो माथि उल्लेखित कुरा जोडेर वीरताका गाथा प्रस्तुत गरिदियोस् भन्ने चाह राखेका हुन्छन् ।

२५ देखि ३५ उमेर समूह 
उनीहरूको करियर अनि हासिल गरेका उपलब्धि सबैमाझ गुणगान गाइयोस् भन्ने मनोभाव हुन्छ । विशेषगरी बाल्यकालका हुन् या विद्यालयसँगै पढेका साथीभाइहरू वर्षौँपछि भेटघाट हुँदा त्यहाँ आफ्नो प्रगति सिधै प्रस्तुत गर्दा घमण्डी कहलिने हुँदा हाउभाउ, रेस्पोन्स, व्यवहारमार्फत उनीहरूले आफ्नो वीरताका गाथा प्रस्तुत गरिरहेका हुन्छन् । उनीहरूको प्रस्तुत व्यवहारले सामान्य साथीलाई हीनताबोध गराउने काम भइरहेको हुन्छ ।

प्रौढ अवस्था
यसमा उनीहरूका मात्र नभई सन्तान, श्रीमान्, श्रीमतीलगायत आफन्तको समेत प्रशंसा गरिदियोस् भन्ने चाह राखेका हुन्छन् । यही उमेर समूहमा सबैभन्दा बढ्ता धन र प्रगतिको तुजुक देखाउने रहर हुन्छ । अन्य सहकर्मीभन्दा वा कमजोर आफन्तभन्दा केही फरक ढोङ प्रस्तुत गर्न उनीहरू पछि पर्दैनन् । यो उमेर समूहका विशेष गरी गृहणीहरूमा अरूले बोल्ने शब्दशब्द यस्तो सूक्ष्म रूपमा केलाएर बुझ्ने अलौकिक शक्ति हुन्छ । यदि, कसैले उनीहरूको मान–सम्मानमा कहीँ कतै कैफियत छोडेका देखेमा त्यो उनीहरूको प्रधान शत्रु कहलिन सक्छ । 

बुढ्यौलीअघिका सुरुआती अवस्था  
यो अवस्थामा विशेष गरी आफ्नो प्रशंसाप्रति रुचि राख्दैनन् । बरु, आफ्नो सट्टा आफ्नो सन्तानले गरेको उन्नति–प्रगति, गाथा सबैसामु प्रस्तुत होओस् भन्ने चाह राखेर बसेका हुन्छन् । अझ विशेष गरी हाम्रोजस्तो अतिकम विकसित राष्ट्रहरूमा उन्नति र प्रगतिको ‘इन्डिकेटर’ भनेको आर्थिक विकासलाई प्रमुख मानिने हुँदा ज्ञान, बुद्धि, विवेक, सोचाइ, सामाजिक मर्यादा एवं उसको क्षमता प्रायः गौण रहन्छ ।

समृद्धि भनेको उसले कति आर्थिक प्रगति गर्‍यो, त्यसले निर्धारण गर्ने गर्दछ । टाढाका नातेदारहरू पनि यदि त्यो असाध्यै धनी र उच्च ओहोदामा रहेछ भने जो आफ्नै इस्टमित्र कहलिन्छ । जसको आर्थिक हैसियत कमजोर छ भने उसलाई नजिकैको नातेदारले समेत बेवास्ता गरिरहेका हुन्छन् ।

आफन्त जोसँग सम्पति छैन, उसलाई बेवास्ता गरिरहेको देखिन्छ हाम्रो समाजमा । हो, यसको एक मात्र कारण भनेको पुँजीवादको प्रश्रय र त्यसले निम्त्याइरहेको विकृति हो ।

एकातिर त्यस्तो छ भने मनोविद् बब हन्डरसनले यसको अर्कोतिरको पाटो पनि विश्लेषण गरेका छन् । कमजोर अवस्थाका इस्टमित्रले प्रगति गरेकाप्रति धेरै आशावादी हुनु पनि एक फरक पाटो मानेका छन् उनले । आफूले निर्वाह गर्नुपर्ने दायित्व केही पूरा नगर्ने, गर्नुपर्ने जिम्मेवारी वहन नगर्ने अनि ‘मलाई फलानोले गरिदिएन’ भन्ने मानसिकता जबसम्म रहिरहन्छ, तबसम्म सम्बन्धमा चिसोपना देखिइरहेको हुन्छ ।

उनको रिसर्चले यो पुष्टि गरेको थियो कि जब मानिसको स्टाटस परिवर्तन हुन्छ, तब उनीहरूमा स्वतःस्फूर्त हार्मोन समेत परिवर्तन हुन्छ । जसले उनीहरूको सोचाइको दायरालाई फराकिलो पारिदिइरहेको हुन्छ । जसले गर्दा उनीहरूमा एकप्रकारको मपाइँत्व कहीँ न कहीँ भित्र लुकेर बसेको हुन्छ, जो कुनै बेला बोली–व्यवहारमा अवश्य देखापर्छ भनेर पुष्टि गरेका छन् ।

यस समस्याको एक मात्र निदान हो, ठूलो बन्न खोज्ने त्यस्ता इस्टमित्रलाई आफूले पनि ‘ड्यामकेयर’ गरिदिनु अर्थात् मतलबै नगरिदिने । आखिर आफ्नो कर्म, व्यवहार आफैँले नगरी हुन्न ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro