काठमाडौं । चिसोसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको छ । उपत्यकाका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ ।
वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रले बिहीबार दिउँसो ३ बजे गरेको मापनअनुसार रत्नपार्क सबैभन्दा बढी प्रदूषित देखाएको छ । रत्नपार्कमा वायु प्रदूषणको मात्रा १६५ एक्यूआई पुगेको छ ।
यस्तै, ललितपुरको भैँसेपाटीमा १६१, खुमलटारमा १६२, कीर्तिपुरमा १५७, शंखपार्कमा १५३, पुल्चोकमा १५० मापन भएको छ ।
भक्तपुरमा १०० एक्यूआईभन्दा माथि रहेको विभागको रेकर्ड छ । बुधबार रत्नपार्कमा वायु प्रदूषणको मात्रा १७८ एक्यूआई पुगेको विभागको तथ्यांक छ ।
एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ (पर्टिकुलेट म्याटर) औषतमा दैनिक पाँच माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड राखेको छ । तर, नेपालको वार्षिक औषत ५१.७ हुने गरेको विभागको तथ्यांक छ । मंसिरबाट बढ्दै गएको २.५ को मात्रा पुस र माघमा अधिक हुने गरेको छ ।
प्रदूषणले कुन अंगमा कस्तो असर ?
पीएम २.५ भन्दा साना कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्न र विभिन्न भागमा पुगी जम्मा भएर बसिरहन सक्छन् । यस्ता कण रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदूषण विज्ञ भूषण तुलाधार बताउँछन् ।
यदि काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हुने हो भने काठमाडौंबासीको औसत आयु ४.६ वर्षले बढ्ने तुलाधारको भनाइ छ ।
श्वासप्रश्वास : नेपालमा बर्सेनि ४२ हजार नेपालीको मृत्युको कारण श्वासप्रश्वाससँग सम्बन्धित रोग सीओपीडी रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । जसको ६६ प्रतिशत कारण वायु प्रदूषण रहेको तुलाधार बताउँछन् ।
वायु प्रदूषणले फोक्सो मात्रै नभइ मिर्गौला, मुटु र कलेजोमा समेत गम्भीर असर निम्त्याउने वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमको अनुभव छ । साथै उच्च रक्तचाप, मधुमेह नियन्त्रण नहुने, घातक मुटुरोग, डिप्रेशन र निःसन्तानपनसम्मका परिणाम निम्त्याउने उनी बताउँछन् । यो समयमा मर्निङ र इभिनिङ वाक गर्नुलाई पनि स्वस्थकर मानिँदैन ।
आँखा : वायु प्रदूषणले आँखा चिलाउने, पोल्ने, बिझाउने, पाक्नेजस्ता समस्या देखिने गरेको छ । विशेषगरी काठमाडौं उपत्यकाभित्र हिँड्डुल गर्नेहरूमा आँखाको समस्या धेरै हुने गरेको कीर्तिपुर आँखा अस्पतालका आँखारोग विशेषज्ञ डा. एरिक वैद्य बताउँछन् । यस्ता समस्या धुलो, घाम र संक्रमणका कारण पनि देखिने गरेको छ । त्यस्तै, धुलोमा खेल्ने बालबालिकाहरूमा पनि एलर्जीको समस्या धेरै देखिने उनी बताउँछन् ।
संक्रमणबाट जोगिन हातको सरसफाइमा ध्यान दिने, धुलो, धुवाँबाट जोगिने, सनग्लास प्रयोग गर्ने, औषधि नियमित लगाउने र विशेषगरी बालबालिकालाई जोगाउनेजस्ता सजगता अपनाउनु पर्दछ ।
छाला : सुक्खायाममा एन्टी अक्सिजन पोलुसन अर्थात् हावामा अक्सिजनको मात्रा कम हुने र र अन्य दूषित ग्यासहरू हावी हुने गरेको छ । एन्टी अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन सी र इ को मात्रालाई घटाइदिन्छ, यसले छालामा विभिन्न समस्या निम्त्याउँछ ।
वायु प्रदूषणको असरस्वरुप ओजन तह पातलिँदै जाँदा त्यसबाट आउने पराबैजनी किरणले छालामा क्यान्सरसम्मको समस्या निम्त्याइरहेको पाटन अस्पतालका छालारोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।
उनका अनुसार वायु प्रदूषणका कारण मानिसको छालामा पसिना निस्कने ग्रन्थी बन्द गर्नाले छाला ओइली हुने र विभिन्न समस्याहरू देखिने गरेका छन् । प्रदूषणले बाहिरी छालामात्र नभइ छालाको तीनवटै तहलाई असर पुर्याइरहेको उनको भनाइ छ ।
पछिल्लो समय घरबाहिर हिँड्ने र बाहिरी वातावरणमा काम गर्ने व्यक्तिहरू उमेरभन्दा चाँडै चाउरीपना, छालामा दागधब्बा, पोतोजस्ता समस्या लिएर आउने गरेको डा. पौडेलको अनुभव छ । प्रदूषण उच्च भएको समयमा घरबाहिर सकेसम्म ननिस्कन र निस्कनै परे सुरक्षा कवच अपनाउन उनको सुझाव छ ।
घरबाहिर जाँदा पुरा बाउला भएको कपडा, क्याप, चस्मा, लगाउने, एसपीएफ ३० भन्दा बढी भएको सन्सक्रिम लगाउने र हाइ ३० भन्दा बढी एसपीएफ लगाउने र सन्तुलित खानपानमा ध्यान दिनुपर्ने डा. पौडेल बताउँछन् ।
नाक : सुक्खायाममा वायुमा आद्रता कम हुने भएकाले शरीरका विभिन्न अंगमा सुक्खापनको समस्या हुनेगर्छ । वायु प्रदूषणले नाकको पानी शोषित गर्ने भएकाले नाक सुक्खा हुने, एलर्जी हुने जस्ता सम्स्या बढ्ने गरेको नाक कान घाँटीरोग विशेषज्ञ डा. योगेश न्यौपाने बताउँछन् ।