site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभामा सोमबार उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।”

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका निम्ति विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए । आउँदा दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले भने, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मी समेत उत्पादन गरिरहेको छ ।”

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, “कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।”

आउँदा दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको उनले बताए । उनले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभूत गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे ।

औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ 
प्रधानमन्त्री प्रचण्डले प्राकृतिक स्रोत र सम्पदाको बहुआयामिक उपयोग गरेर कर्णाली प्रदेशले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए । उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।”

प्रधानमन्त्रीले औषधि उत्पादनका निम्ति आवश्यक गृहकार्य गर्न समेत प्रतिष्ठानलाई निर्देशन दिए । साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले आउँदा दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, “बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।”

चिकित्सक, प्राविधिक र कर्मचारीको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूका मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।” रासस

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro