काठमाडौं । विश्वका दुई प्रख्यात विश्लेषकले गएको साता उत्तर कोरियाका शासकहरू युद्धको तयारी गरिरहेको घोषणा गरे । यो घोषणाले एकप्रकारको हलचल मच्चाएको छ ।
उनीहरूले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्झौता र एकीकरणको विचार त्यागेको बताएका छन् । जसका कारण उत्तर र दक्षिण कोरियालाई उनीहरूले युद्धका दुई स्वतन्त्र देशका रूपमा प्रस्तुत गरेका छन् ।
पूर्वसीआईए विश्लेषक रोबर्ट एल कार्लिन र धेरैपटक उत्तर कोरियाको भ्रमण गरिसकेका आणविक वैज्ञानिक सिगफ्राइड एस हेकरले ‘थर्टीएटनर्थ’ वेबसाइटमा लेख लेखका छन्, “हामी विश्वास गर्छौँ कि सन् १९५० को दशकमा उनका बुवाले जस्तै किम जोङ उनले युद्धमा जाने रणनीतिक निर्णय लिएका छन् ।”
यो घोषणाले वासिङगटन र सियोलमा हलचल सिर्जना गरेको छ । धेरै विश्लेषक भने यसमा सहमत देखिँदैनन् ।
यसबारे बीबीसीले एसिया, युरोप र उत्तर अमेरिकाका सात विज्ञसँग कुरा गर्यो, । तर, कसैले यो अनुमानलाई समर्थन गरेनन् ।
“उत्तर कोरियालीहरूले सम्भावित विनाशकारी द्वन्द्वमा आफ्नो सम्पूर्ण शासनलाई जोखिममा पार्नु उचित होइन,” कोरियामाथि निगरानी राख्दै आएको नेदरल्यान्ड्सको क्राइसिस ग्रुपका क्रिस्टोफर ग्रीनले भने ।
उनी र अन्य विश्लेषक उत्तर कोरियाले पश्चिमी शक्तिलाई वार्ताको टेबुलमा ल्याउन र देशभित्र राजनीतिक दबाब सिर्जना गर्न चाहेको बताउँछन् ।
तर, किम जोङ उनको आक्रामकतालाई नजरअन्दाज गर्न नसकिने र उनको सरकार झन् खतरनाक भएको उनीहरूको विश्वास छ ।
आक्रामक हुनुको कारण के हो ?
किम जोङ उनमाथि नजर राख्नेहरू भन्छन्– उनको आणविक धम्की नयाँ होइन । तर, केही मानिस प्योङयाङको पछिल्लो सन्देश अलग प्रकृतिको भएको बताउँछन् ।
नयाँ वर्षको अवसरमा किम जोङ उनले कोरियाली प्रायद्वीपमा जुनसुकै बेला युद्ध हुन सक्ने घोषणा गरेका थिए । त्यसको ६ दिनपछि मात्र उनको सेनाले सीमामा गोलाबारी गरेको थियो ।
उत्तर कोरियाले आणविक हतियार बोक्न सक्ने नयाँ ठोस इन्धन मिसाइल र पानीमुनि आक्रमण गर्ने ड्रोनको सफल परीक्षण गरेको दाबी गरेको छ ।
उत्तर कोरियाले पछिल्लो दुई वर्षयता लगभग हरेक महिना मिसाइलहरू प्रक्षेपण गर्दै आएको छ । उत्तर कोरियाले आफ्नो हतियार विकास कार्यक्रमलाई जारी राखेको छ, यो कार्य संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको खुला उल्लंघन हो ।
उत्तर कोरियाले आफ्नो स्थापनादेखि नै दुई कोरियाबीचको एकीकरणलाई महत्त्वपूर्ण उद्देश्य मान्दै आएको छ ।
सियोलको कुकमिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता पिटर वार्ड भन्छन्, “यो ठूलो परिवर्तन हो । यसले यस सरकारको आधारभूत वैचारिक आधारलाई उल्टाउँछ ।”
किम जोङ उन आफ्नो महत्त्वपूर्ण उद्देश्य त्याग्दै छन् । उनले कूटनीतिक च्यानलहरू र सीमापार रेडियो प्रसारणहरू बन्द गरेका छन् । साथै, उनले प्योङयाङबाहिर रहेको नौतले एकीकरण स्मारक भत्काउने घोषणा पनि गरेका छन् । उनका बुवा र हजुरबुवाले एकीकरणको लक्ष्य हासिल गर्न गरेको प्रयासको सम्झनामा सन् २००१ मा उक्त स्मारक निर्माण गरिएको थियो ।
मंगलबार प्लानेट ल्याब्स स्याटेलाइट तस्बिरले उक्त स्मारक भत्किएको देखाएको छ । यद्यपि, यसबारे उत्तर कोरियाबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।
किम द्वितीय सुङले सन् १९५० मा युद्ध सुरु गरेका थिए । तर, कुनै दिन दुई कोरियाली मुलुकको एकीकरण हुनेछ भन्ने उनको सोच थियो ।
सीमित आक्रमणको विकल्प
कार्लिन र हेकरले यी कुरालाई युद्ध सुरु गर्ने तयारीको संकेतका रूपमा लिएका छन् । यद्यपि, धेरै विश्लेषक यसमा असहमत छन् ।
जर्ज एचडब्ल्यू बुस फाउन्डेसन फर यूएस–चाइना रिलेसनका सेओङ–ह्योन लीनका अनुसार, उत्तर कोरियाले अर्को महिनादेखि विदेशी पर्यटकका निम्ति आफ्नो सीमा खोल्दै छ । रुसलाई गोलाबारुद बेचिरहेको छ । यस्तो अवस्थामा उत्तर कोरियाले युद्ध सुरु गर्छ भन्ने आफूलाई नलागेको लीन बताउँछन् ।
कुकमिन विश्वविद्यालयका वार्ड भन्छन्, “युद्धमा धेरै दक्षिण कोरियालीहरू मर्न सक्छन् । र, यसले किम जोङ उन र उनको सरकारको अन्त्य पनि गर्नेछ ।”
केही मानिस उत्तर कोरियाले ठूलो युद्धकोे भन्दा पनि सीमित कारबाहीको सहारा लिनेमा विश्वास गर्छन् । “मेरो चिन्ता दक्षिण कोरियामा सीमित आक्रमणलाई लिएर छ । यो आक्रमणले दक्षिण कोरियाली क्षेत्र वा सेनालाई लक्षित गर्न सक्छ, तर यो सीमित हुनेछ,” कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका विश्लेषक अंकित पांडाले भने ।
उत्तर कोरियाको सम्भावित आक्रामण गोलीबारी वा कोरियाली प्रायद्वीपको पश्चिममा रहेका विवादित टापुहरूको कब्जामा मात्र सीमित हुन सक्ने बुझाइ पांडाको छ ।
सन् २०१० मा उत्तर कोरियाले ओनप्योङ टापुमा आक्रमण गरेको थियो । आक्रमणमा चार दक्षिण कोरियाली सैनिक मारिएका थिए ।
दक्षिण कोरियाको प्रतिक्रिया जान्न यस्तो उत्तेजक कदम चाल्न सम्भव छ । किनभने, दक्षिण कोरियाका राष्ट्रपति यू सुक येओलले उत्तर कोरियाले चालेका कुनै पनि कदमको उचित जवाफ दिइने बताइसकेका छन् । यस्तो भए द्वन्द्वले युद्धको रूप लिने पांडा बताउँछन् ।
उत्तर कोरियाको पुरानो शैली
जर्ज एचडब्ल्यू बुस फाउन्डेसन फर यूएस–चाइना रिलेसनका सेओङ–ह्योन लीनको बुझाइ छ, “यदि, हामीले उत्तर कोरियाको इतिहासलाई हेर्यौँ भने उसले वार्तामा आफ्नो हात माथि पार्न, अन्य देशहरूको ध्यान आकर्षित गर्न यस्ता उत्तेजक तरिकाहरू अपनाएको पाइन्छ ।”
उत्तर कोरियाले अमेरिका र संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध झेलिरहेको छ । सन् २०२४ उत्तर कोरियाको दुस्मन राष्ट्र (अमेरिका, दक्षिण कोरिया)का लागि निर्वाचन वर्ष हो । अमेरिकामा राष्ट्रपति निर्वाचन र दक्षिण कोरियामा संसदीय निर्वाचन हुँदै छ ।
“किम जोङ उनका लागि यो राम्रो अवसर हो,” लीनले भने ।
जो बाइडेनको नेतृत्वको वर्तमान अमेरिकी प्रशासन युक्रेन र गाजामा अड्किएको छ । उत्तर कोरियामा ध्यान दिइरहेको छैन, जबकि प्योङयाङसँग अधिकांश वार्ता रिपब्लिकन प्रशासनले गरेको थियो ।
आणविक निःशस्त्रीकरणमा अवरोध आउनुअघि सन् २०१९ मा डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सिंगापुरमा चर्चित भेट भएको थियो । हुनसक्छ, किम ट्रम्प फर्कने आसमा बसिरहेका छन् ।
रुससँगको घनिष्ट मित्रता र गत वर्ष चीनबाट प्राप्त आर्थिक सहयोगले किम जोङ उनको आत्मविश्वास बढाएको विश्लेषकको विश्वास छ ।
आफ्नो जासुसी उपग्रह प्रक्षेपणमा रुसबाट प्राविधिक सहयोग प्राप्त भएपछि उत्तर कोरिया र रुसबीच निकटता बढेको छ ।
घरेलु लक्ष्य
धेरै विश्लेषक किम जोङ उन सत्तामा आफ्नो पकडलाई स्थिर बनाउने प्रयासमा रहेको बताउँछन् ।
सियोलको इवा विश्वविद्यालयका प्रोफेसर लीफ–एरिक एसले भन्छन्, “यो सत्ता जोगाउन गरिएको एक वैचारिक समन्वयजस्तो देखिन्छ । उत्तर कोरियाली जनतालाई लगातार यो लागिरहेको छ कि आफ्नो कम्युनिस्ट देश दक्षिण कोरियाको तुलनामा असफल भएको छ ।”
उत्तर कोरियाभर भोकमरीको अवस्था निम्तिएको समाचार सार्वजनिक भइरहेको उनको भनाइ छ । यस्तो कठिन समयमा किमको मिसाइल खर्चलाई जायज ठहर्याउन शत्रुमा ध्यानकेन्द्रित गरिँदै छ ।
वार्ड भन्छन्, “दक्षिण कोरिया सुरुमा भ्रष्ट संस्कृतिसहित एक खराब राज्य थियो, जसलाई एकताबद्ध हुन आवश्यक थियो । र, त्यहाँ जनताले खराब सरकारबाट मुक्त पाउनमा जोड दिएका थिए ।”
उनले थपे, “अब दक्षिण कोरियाली संस्कृतिलाई खराब घोषणा गरी दमन जारी राख्नुलाई सही ठहर्याउन सकिन्छ ।”
गएको हप्ता बीबीसीले दुर्लभ फुटेज जारी गरेको थियो, जसमा दुई १२ वर्षीय उत्तर कोरियाली किशोरलाई के–ड्रामा हेरेकामा कडा सजाय दिइएको थियो ।
“उनीहरू वास्तवमा युद्ध चाहँदैनन्,” उत्तर कोरियाली शरणार्थीलाई मद्दत गर्ने एनजीओ लिबर्टी इन नर्थ कोरियाका सोकिन पार्कले भने । उनका अनुसार, यदि उत्तर कोरियाले युद्ध रोजे उनीहरूले सबै कुरा गमाउनेछन्, केही पाउने छैनन् ।
किम जोङ उनको धम्कीको उद्देश्य उत्तर र दक्षिणको नीतिलाई बलियो बनाउनु र देशमा आफ्नो शक्ति सुदृढ पार्नु रहेको बुझाइ सोकिनको छ ।
विश्लेषक भन्छन्– दक्षिण कोरिया, अमेरिका र सहयोगीहरूले सबैभन्दा खराब अवस्थाका निम्ति तयार हुनुपर्छ । तर, उत्तर कोरियाको आन्तरिक अवस्था र व्यापक भूराजनीतिमा पनि नजर राख्नुपर्छ ।
लीनको विचारमा उत्तर कोरियालीको दिमागमा के चलिरहेको छ भन्ने पत्ता लगाउन सबैभन्दा उत्तम तरिका भनेको उनीहरूलाई कुराकानीमा समावेश गर्नु हो । (बीबीसीबाट साभार)