
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ ।
महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन.१ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरू, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् ।
नेपालमा पहिलोपटक सोमबार सात जनामा कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन.१ भेटिएको थियो । साथै संक्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउनसमेत उनले आग्रह गरेका छन् ।
मन्त्रालयले संक्रामक दर बढी भएकाले भिडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ । रासस