पोखरा । उनी खुसी थिए । फुर्सदको समयमा सामाजिक सञ्जालमा तस्बिर राखिहाल्थे । रुसी सेनाको ड्रेसमा एउटा कोठाभित्र, पृष्ठभूमिमा देखिएका साथीहरूको अगाडि गीत गाउँदै उनले फेसबुक रिलमा एउटा भिडियो सेयर गरेका थिए । भिडियोमा राखिएको गीतले भन्छ– 'नमान टेन्सन, बाँचे तलब मरे त पेन्सन ।'
गत अक्टोबर २८ मा उनले भिडियो राख्दा नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँको अन्तिम दिन थियो । नेपालीहरूले दसैँ मनाइरहँदा उनी रुसको पक्षबाट युक्रेनसँग युद्ध लड्न विदेशी भूमिमा थिए ।
भाइटीकाको दिन उनले एउटा रिल सेयर गर्दै लेखेका थिए, “आजसम्मको बसाइ राम्रो भो, अबको दिन पनि राम्रो होस् भनी ईश्वरप्रति आशा राख्दै अगाडि बढेको छु ।”
उनी फुर्सदमा रमाउन कुनै कसर बाँकी राख्दैनथे । बार्बिक्यू गरेको, साथीसँग रमाएको र रुसी सेनाले खटाएको ठाउँमा हिँडिरहेको भिडियो उनका सामाजिक सञ्जालमा छन् ।
उनी अर्थात्, स्याङ्जाका हरि अर्याल । जसले रुसी सेनामा भर्ती भएको दुई महिनामै ज्यान गुमाए ।
उनले रुसी सेनाको पोसाकसहितको तस्बिरलाई फेसबुकको प्रोफाइलमा राखेका छन् । क्पाप्सनमा लेखेका छन्, “जसले रिस्क लिन्छ, त्यो अगाडि बढ्छ ।”
स्याङ्जाको वालिङ नगरपालिका–१४ मा जन्मिएका अर्याल रुसी सेनामा नै बिलाएका छन् । उनको जन्मगाउँ मान्खुले एउटा २३ वर्षको ठिटो गुमाएको छ, परिवारले चाहिँ कान्छो छोरा ।
दुबई हुँदै रुस पुगेर सेनामा भर्ती भइसकेपछि मान्खुगाउँमा रहेका उनका बाआमा गत मंसिर १९ गतेसम्म पनि छोरासँग बोल्दै थिए । त्यसपछि उनीहरूको कुरा हुन पाएन । छोराको सकुशलताकै कामना गरिरहे ।
तर, पुसको १७ गते बिहानै १४ नम्बरका वडाध्यक्ष बोधराज कुँवर (राजु)लाई फोन आयो । फोन गर्ने व्यक्तिले आफूलाई परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट बोलिरहेको बताए ।
“म कार्यालयमा नै थिएँ, दिनको त्यस्तै १२ बजेको आसपासमा हो । फोनमा मलाई भनियो, तपाईंको वडाको हरि अर्याल भन्ने व्यक्तिको ३ डिसेम्बरमा मृत्यु भएको तर, हामीले अमेरिकन कन्सुलरबाट डिसेम्बर २९ मा सूचना पायौँ र हामीले तपाईंलाई फरवार्ड गर्यौँ,” अर्याल सुनाउँछन् ।
कन्सुलर विभागका अधिकारीलाई उनले प्रश्न गरे– मौखिकरूपमा भनेकै भरमा कसरी पत्यार गर्ने ?
कन्सुलर विभागका अधिकारीबा जवाफ आयो– एउटा व्यक्तिको मात्र नाम पठाउँदा प्रिन्ट गरेर पठाएको जस्तो हुन्छ, सिंगै मेल फरवार्ड गर्दा अरूको पनि नाम छ, जुन गोपनीयताको हिसाबले दिन सक्ने अवस्था छैन ।
यति भनिसकेपछि वडाध्यक्ष अर्यालले परिवारलाई बुधबार साँझ जानकारी गराएका छन् । परिवारले चाहिँ शव ल्याउन सक्ने/नसक्ने अवस्थाबारे बुझिदिन भनेका छन् । त्यसका लागि उनले कानुनमन्त्री धनराज गुरुङलाई बुझिदिन आग्रह गरेका छन् ।
शव आउने भए कसरी ल्याउने प्रक्रिया बुझ्न, अन्यथा संस्कार अनुसार उनको अन्तिम संस्कार गरिने छ ।
वडाध्यक्ष कुँवर आफैँ पनि समयसमयमा अर्यालसँग कुरा गरिरहेका हुन्थे । तर, १५ दिनसम्म सम्पर्कमा नआएपछि उनीलगायत परिवारकै अर्का दाइमा पनि चिसो पसिसकेको थियो ।
“७ डिसेम्बरबाट उनी कसैको सम्पर्कमा थिएनन् । मसँग पनि कुराकानी भइरहन्थ्यो । १५ दिन सम्पर्कविहीन भइसकेपछि हामी सशंकित भइसकेका थियौँ । यस्तो खबर आउन रहेछ,” उनले भने ।
परिवारमा दाइले त्यहाँको परिस्थिति बुझेर सामान्य हुन खोजिरहेका छन् । तर, बुवा आमाको शवस्था सम्हाल्न सक्ने अवस्थामा छैन ।
“उहाँहरू भक्कानिनुभयो । हामीले सम्हाल्न सक्ने अवस्था पनि रहेन,” अर्यालले भने ।
सेनाको मोह अर्याललमा सानैदेखि थियो । आर्मीमा भर्ती हुने उनको सपनालाई पूरा गर्नकै लागि नेपाली सेनामा भर्ती पनि नभएका होइनन् ।
दुई दाइ र दिदीपछिका कान्छा छोराको रूपमा जन्मिएका उनी १८ वर्षकै उमेरमा नेपाली सेनामा भर्ती भएका थिए । तर, नेपाली सेनाबाट आउने वेतनमा उनको सन्तुष्टि थिएन । विदेशमा सोही काम गर्ने र यहाँ उनले गरिरहेको समान कामको सेवासुविधा असमान हुँदा उनको चित्त बुझेको थिएन ।
साढे दुई वर्ष नेपाली सेनामा सेवा गरे पनि यही असन्तुष्टि र चित्त दुखाइले उनलाई रुस डोहोर्यायो । रुस–युक्रेन युद्धपछि त्यहाँ नेपालीहरू भर्ती भइरहेको भिडियो सामाजिक सञ्जालमा देखेपछि उनको मनमा सेना हुने सपना फेरि जागृत भयो ।
सेनामा जाने र राम्रो जीवन बनाउने सपना देखेर रुस जान उनले एजेन्टलाई भेटे । उनै एजेन्टले बाटो सुझाइदिए– भिजिट भिसामा दुबई जाने, दुबईबाट पनि एजेन्टबाटै रुसी सेनामा भर्ती हुने ।
अन्तत: गत कार्तिक २३ गते उनी दुबईबाट रुस पुगे ।
त्यहाँबाट दोस्रोपटक सेनाको रूपमा सुरु भएको उनको जीवन अन्ततः उतै अस्ताएको छ ।