site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

राज्यका अंग–प्रत्यंगलाई जवाफदेही र पारदर्शी हुन बाध्य पार्ने शक्तिशाली संवैधानिक दायित्व बोकेको संस्था हो, संघीय संसद् । शासन व्यवस्थामा रहेका संस्थाहरूबाट सम्पादित काम वा निर्णयको निगरानी गर्नु, खराब भएमा प्रश्न गर्नु र सुधार्न बाध्य पार्नुपर्ने संस्था अहिले आफैँ प्रश्नको घेरामा परेको छ । विधिको बाटोमा हिँड्नुपर्ने संघीय संसद्मा विधि पालना भएन भनेर अरूले प्रश्न उठाउने ठाउँ नहुनुपर्ने हो, तर त्यसो हुन सकेको छैन ।

दुर्भाग्य मान्नुपर्छ, संघीय संसद्को महासचिवमा नियुक्तिका निम्ति सिफारिस पद्मप्रसाद पाण्डेयका कारण संसद् र संसदीय पदाधिकारीमाथि प्रश्न उब्जिएको छ । उनले नागरिकतामा उमेर घटाएको, सोही नागरिकताका आधारमा राहदानी बनाएको विवाद उत्कर्षमा पुगेको छ । पाण्डे स्वयंले ६ वर्ष उमेर घटाएर नागरिकता लिएको र त्यही नागरिकताका आधारमा पासपोर्ट बनाएको तथ्य स्वीकारिसकेका छन् ।

संसद्ले बनाएको कानुनकै आधारमा हेर्ने हो भने किर्ते नागरिकता र राहदानी बनाउनु दुवै फौजदारी कसुर मानिन्छ । कुनै पनि नागरिकले यस्ता कसुर गरेमा कैद र जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारको सचिव नै भए पनि कानुनको पालना नगरी हुँदैन, सहजै बच्न पाउनु हुँदैन । प्रस्तावित महासचिवले त्यसरी उमेर घटाउँदै प्रतिलिपि नागरिकता बन्नुमा जिल्ला प्रशासन कार्यालयको त्रुटि भएको र आफूले ‘भुलवश’ प्रयोग गरेको जिकिर गरेका छन् । अर्थात्, उनी स्वयंको बोली हेर्दा दुइटा नागरिकता प्रयोगमा ल्याएको स्पष्ट हुन्छ । उनले उमेर घटाउँदै नागरिकता लिएपछि त्यसबाट कुनै न कुनै किसिमको ‘लाभ’ लिएका हुन सक्छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पाण्डेय महासचिवमा सिफारिस भएका हुन् । प्रारम्भमा राष्ट्रपति कार्यालयले यो नियुक्तिलाई ‘संवैधानिक कारण’ देखाउँदै केही दिन रोकेको थियो । महान्यायाधिवक्ता कार्यालयमा कार्यरत पाण्डेयलाई सभामुख घिमिरेले पहिला प्रतिनिधिसभा सचिव बनाएका थिए । त्यसपछि कार्यरत महासचिवको पदावधि नौ महिना बाँकी हुँदाहुँदै बीचैमा राजीनामा गर्न बाध्य बनाउँदै पाण्डेयलाई महासचिवका निम्ति सिफारिस गरेका छन् ।

कर्मचारीतन्त्रमा सचिवबाट मुख्यसचिव बनाएझैँ ‘बढुवा’ शैली अपनाएपछि राष्ट्रपति कार्यालयले प्रश्न उठायो, ‘राजनीतिक नियुक्तिमा बढुवा कसरी हुन्छ ?’ त्यो विषयलाई सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना दुवै राष्ट्रपतिलाई विवादमा तान्न खोज्दै थिए, त्यहीबीचमा प्रस्तावित महासचिवको ‘नागरिकता प्रकरण’ आएपछि दुवै मत्थर भए । तर, नागरिकता प्रकरणमा मुछिएका पाण्डेयलाई ‘कार्यवाहक महासचिव’को जिम्मेवारी दिँदै गर्दा सभामुख तथा अध्यक्ष दुवैले कानुनको धज्जी उडाएका छन् ।

नागरिकता ऐन, २०६३ अनुसार दुईवटा नागरिकता लिनु वा झुटो विवरणमा नागरिकता लिनु दण्डनीय कार्य मानिन्छ । त्यो कानुन त्यही संसद्बाट बनेको हो । त्यसअतिरिक्त राहदानी ऐन, २०७६ अनुसार झुटो विवरणका आधारमा राहदानी लिनु वा लिन प्रयत्न गर्नु पनि कानुनविपरीतको कार्य मानिन्छ । कानुनतः नागरिकता र राहदानी दुवै गरी पाण्डेयलाई अधिकतम १० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुनसक्छ । उनको कसुरलाई न्यूनतम मानेर सजाय हुने हो भने पनि उनी तीन वर्ष कैद र दुई लाख २० हजार जरिवानाको भागीदार हुन्छन् । कानुनतः उन्मुक्ति पाउने ठाउँ देखिँदैन ।

अझ प्रस्तावित महासचिव पाण्डेय स्वयं कानुनका ज्ञाता हुन्, विशिष्ठ श्रेणीको नायब महान्यायाधिवक्ताको जिम्मेवारीमा रहेका व्यक्ति हुन् । त्यसरी विवाद उब्जिएपछि छानबिनका निम्ति उनी स्वयंले पनि मार्गप्रशस्त गर्नुपर्थ्यो । त्यो नैतिकता उनीबाट प्रदर्शन भएन ।

तीन सातादेखि कार्यवाहक महासचिव नागरिकता विवादमा छन्, उनलाई नियुक्त गर्ने संसदीय पदाधिकारीका नियतमा प्रश्न उब्जिरहँदा पनि अनौठो तवरले मौनता साँधिएको छ । फौजदारी अभियोग आकर्षित हुने गरी भएका कानुनी विवादमा परेपछि छानबिनको दायरामा पठाइनुपर्थ्यो । उल्टो स्वयं सभामुख र अध्यक्षले कार्यवाहकको जिम्मेवारी दिनुले नकारात्मक सन्देश गएको छ । कानुन निर्माता संसद् कानुनी दायरामा हिँडेको सन्देश दिने कि संसद्को साख नै दाउमा पार्ने ?

कानुनका नजरमा सबै बराबर हुन् भन्ने न्यायको सिद्धान्त लागु भएको भए संसद्को प्रस्तावित महासचिव अहिले छानबिनको दायरामा तानिइसकेका हुन्थे । नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने विरक्तिलो भनाइ यस्तै घटनाबाट स्थापित भएका हुन् ।

सभामुख र अध्यक्षले यति बुझ्दा हुन्छ कि यो प्रकरण जति ढाकछोप या आलटाल गर्‍यो, उत्ति नै संसद्को साख गिर्दै जान्छ । यस्ता प्रकरणमा जति नियुक्तिका लाभग्राही दोषी मानिन्छन्, उत्ति नै जोगाउनेहरू पनि । कानुन निर्माता संसद्ले कानुन पालना गर्ने हो भने प्रस्तावित महासचिवका आएका विषयलाई तत्कालै छानबिनमा पठाइनुपर्छ, अन्यथा यसबाट पर्ने नकारात्मक सन्देशको मार संघीय संसद्ले भोग्नुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro