site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राज्य र जनतालाई ठग्ने काम भयो : सांसद तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम भएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले नियामक निकायको कार्यप्रति पनि असन्तुष्टि जनाइन् ।

“राज्यलाई ठग्ने काम भएको छ । जनतालाई ठग्ने काम भएको छ,” उनले भनिन्, “यो सबैको विषय हो । नियामक निकायको प्रस्तुति एकदमै चित्तबुझ्दो भएन ।”

नियामक निकाय हुँदाहुँदै एनसेल प्रकरणमा अर्को छानबिन समिति किन गठन गरियो भन्दै उनले प्रश्न गरिन् ।

“कति धेरै नियामक निकाय छन् । यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ? यस्ता पहिले धेरै भए । अहिलेको कसरी भयो ?,” उनले प्रश्न गरिन्, “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ कि छैन ? नियामक निकायलाई किन राखिएन ? पन्छाउन खोजेको हो कि !”

बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले राज्यसंयन्त्र कमजोर भएको बताए । “संयन्त्र यति कमजोर भयो कि कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुरले हल्लाउने, त्यसैले होला यस्तो भइरहेको,” उनले भने, “नियामक निकायलाई मिडियाबाट थाहा हुने । यो हुँदा उनीहरू कमजोर छन् या बदनियत छ भन्ने हुन्छ ।”

राष्ट्र ठगिएको उनले बताए । गिरोह मोटाउने प्रवित्ति देखिएको उनको भनाइ छ । “यहाँनिर राष्ट्र ठगिएको छ । गिरोह मोटाउने प्रवित्ति देखिएको छ,” उनले भने, “त्यसैले छानबिनको निष्कर्षमा पुग्नुपर्छ । यहाँ कमायो, अन्तिममा यहाँ लगानीको वातावरण छैन भन्नुले देशले कति घाटा व्यहोर्नुपर्ने हो ।”

एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले उचित निष्कर्ष दिनुपर्नेमा उनले जोड दिए । “यो समितिले उचित निष्कर्ष दिएन भने, न्यायिक निरूपण गरेन भने, दुष्प्रभावित भयो भने हामी संसदीय समिति गठन गर्न बाध्य पर्नेछौँ,” उनले भने, “समितिले अहिले सहयोग गरौँ ।”

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro