site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओली बालुवाटार त्यसै धाउनुभएको छैन, प्रचण्ड रणनीति : कांग्रेस–एमालेलाई शत्रुतामा राखेर खेलिरहने  

डा. मिनेन्द्र रिजाल, कांग्रेसका प्रखर नेता, अनि प्रखर वक्ता पनि हुन् । अघिल्लो संसदीय कालखण्डमा संसदमा सक्रिय र प्रभावकारी पार्न खटेका सीमितमध्येका एक सांसद पनि ।  तर, कांग्रेसले गएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएन । अर्थात्, रिजालविरुद्ध राजनीतिक दाउपेच रचियो र उनको राजनीतिक भविष्यमाथि धरापमा पारियो । 

यतिखेर राष्ट्रिय सभा निर्वाचन हुँदैछ, पूर्वको कोसी प्रदेशबाट उमेदवारका आकांक्षी हुन् ।  रिजाल नेतृत्वले ‘न्याय’ गर्छ कि गर्दैन भन्ने हेरिरहेका छन् । गठबन्धन सरकारले एक वर्ष पार गर्दैछ । 

सरकारकै मूल्यांकन र सत्ता राजनीतिका विषय बाह्रखरी मिडियाका हरिबहादुर थापा र बलराम पाण्डेले डा. रिजालसँग गरेको कुराकानीको सम्पादित अंश :

–सरकारको एक वर्षको समीक्षा कसरी गर्नुहुन्छ ? 

म सरकारका सबै काम–कुरा या निर्णय समीक्षा गर्न चाहन्न । सरकारको एक–एक काम कुराको समीक्षा गर्नेभन्दा मुलुकको राजनीति कुन दिशामा गइरहेको छ भन्नेमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ । 

मुलुकको वृहत्तर राजनीतिका चिन्ता र चिन्तन गर्न सकिन्छ । मूलतः हाम्रो पार्टी पनि सरकारमा छ, तर हाम्रै पार्टीका तर्फबाट हेर्दा अघिल्लो चुनावभन्दा सात प्रतिशत मत घटेको छ । 

अघिल्लो चुनावमा २३ सिट जित्यौँ, यसपल्ट ५७ । समानुपातिकमा हाम्रो ८ सिट घटेको छ । २३ बाट हामी ५७ पुगेको हाम्रो तागतले भन्दा पनि गठबन्धन बनाएर हो । हिजो केपी ओलीको र हाम्रो जनसमर्थनको आधार उत्तिकै हुँदा गठबन्धन कारण ८० सिट जित्नुभयो । 

हामी २३ सिटमा सीमित हुन पुग्यौं । यसपालिको चुनावमा २३ बाट ५७ पुग्नुमा हाम्रो कारणले भन्दा पनि गठबन्धनकै कारण पुगेको हो । त्यसअर्थमा हामी दुवैथरि तेस्रो दललाई साथ लिँदै एकले अर्काेलाई परास्त गर्नतिर लाग्यौ । 

हिजो ओली लाग्नुभयो, आज हामी लाग्यौं । जनताकहाँ गएर ५–६ प्रतिशत मत थपेर सिट ल्याइन्छ भन्दा पनि काठमाडौं बैठकमा बसी प्रचण्डलाई खुसी बनाउँदा फाइदा हुने सोच बनिरहेको छ ।

त्यहीकारण हेर्नुस्, सात प्रतिशत मत घट्दा पनि कांग्रेसलाई छोएन । ओलीको कांग्रेस बराबर भयो । यसरी हेर्दा अब लोकतन्त्र कसरी अघि बढ्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ ।

–तपाईंले भन्न खोज्नु माओवादीसँग कांग्रेस भोट घटे पनि सिट बढ्नु ठिक होइन भन्न खोज्नु भएको हो ? 

हेर्नुस्, २०५६ सालको चुनाव हेर्दा करिव ६ प्रतिशत वामदेव गौतमको मत थियो ।  त्यतिखेर ६ प्रतिशत मत एमालेमा जोडिएको भए ११० सिट भन्दा बढी हुन्थ्यो ।  एमालेको ६ प्रतिशत कम हुँदा कांग्रेस ११० सिटभन्दा बढीको पार्टी भयो । 

प्रजातन्त्रको सुन्दर पक्ष भनेकै ५–६ प्रतिशत बढ्दा या घट्दा सत्तामा पुग्ने या बाहिर रहने परिस्थिति तय हुन्छ ।  यसरी हुने प्रतिस्पर्धाले लोकतन्त्रलाई बलियो बनाउँछ ।  अनि जनताका बीचमा जाँदै उनका कुरा सुन्दै सर्वाधिक मत बढाउनेतिर ध्यान जान्छ । अब स्थिति त्यस्तो छैन ।

–यस्तो स्थिति कसरी हुन पुग्यो त ?

चुनावी पद्धतिका कारण गठबन्धनबेगर बहुमत प्राप्त गर्न सकिन्न छ ।  राजनीतिमा पूरै ध्यान वा  खेल गठबन्धनतिरै छ ।  जनतातिर ध्यान नभएका कारण उनीहरु रिसाएका छन्, निराश छन् । त्यो थाहा पाएर पनि हाम्रो ध्यान आपसी सम्ब्न्धमै छ, पार्टी–पार्टी या नेता–नेताबीचको सम्बन्धमा । 

प्रचण्डलाई देउवा रिसाउँदा सत्ता जान्छ भन्ने छ ।  अर्काेतर्फ देउवालाई प्रचण्ड रिसाएर ओली कहाँ पुग्नुभयो भने सत्तामा रहने या पुग्ने बाटो बन्द हुन्छ । त्यसैले हामी सबै राजनीतिक पार्टीहरु अन्तरमुखी भयौँ । ओली पनि पटक–पटक बालुवाटार त्यसै धाउनुभएको छैन ।

देउवालाई फकाउन नसके पनि प्रचण्डलाई फकाउँछु भनेर आउनुभएको हो नि । त्यसै कोही आउँछ ? केही नजानेको व्यक्तिजस्तो गरेर आइरहनुभएको छ नि । कहिले सिंहदरबार हेरेर फोटो खिँचाउनुभएको ।

उता पछिल्ला चुनावमा माओवादी राम्रैसँग खुम्चिँदैछ । तर, त्यति हुँदा हुँदै पनि ठूला दुई दलबीच खेलेर सत्तामा बसिरहने सोचमा प्रचण्डजी हुनुहुन्छ ।  यो लोकतन्त्रका लागि धेरै हितकर कुरा होइन । कांग्रेस–एमाले सम्बन्धलाई शत्रुतामा बदलेर सत्तामा सँधै टिकिरहने सोचमा प्रचण्डजी छैनन् कसरी भन्न सकिन्छ र ? 

पार्टीका केन्द्रीय तहमा हुने सम्बन्धका आधारमा सत्ता रहने कि नरहने भन्ने हुने भयो ।  जनताका कारणले होइन, आपसी सम्बन्धका कारण सत्ता निर्माण र भंग हुने भयो । यसले हाम्रो लोकतन्त्रलाई अत्यन्त ठूलो समस्या पारिरहेको छ ।

– कसरी ?

जनतासँग हामी जोडिने कुरा कम भएको छ । कुनै पनि पार्टी जनताकहाँ जाऊँ भन्नेमा छैनन् ।  समर्थन लिएर के पाइन्छ भन्ने छ । बाध्यतामा ओली मध्यपहाडी राजमार्गमा हिँड्नुभएको हो । पहिला कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शैलजा आचार्य देशभर हिँड्नुहुन्थ्यो । 

आधारभूत कुरामा जनताकहाँ पुग्नु हुन्थ्यो । कुनै पार्टीको ध्यान जनताकहाँ जाउँ भन्ने नै छैन । कांग्रेसमा नीति अनुसन्धान तथा प्रतिष्ठान प्रशिक्षण विभाग छ । पार्टीको महाधिवेशन भएको दुई वर्ष भयो ।  एकजना सदस्यसचिवबाहेक संयोजकले केही बनाउनुभएको छैन । प्रतिष्ठान दौडाएर के हुन्छ र भन्ने नेताहरुमा परेको छ ।

यहाँ प्रचण्डले धर्म छाडिदिएको दिनमा गयो नि भन्ने छ । त्यसैगरी प्रचण्डलाई देउवाले छाडेको दिनमा गयो, ओलीले ढोक्सो थापेको दिनमा त झन् गयो । 

दलहरुले जनता छाडेर जाँदाको परिणाम हो, यतिखेर देखिएको निराशा । जनता निराशामा चुलिएर जाँदा पनि ०८४ सम्म केही बिगार गर्दैन भन्ने दलहरुलाई लागेको छ । ठिक गठबन्धन बनाउन पाए पुगिहाल्यो भन्ने मनस्थितिमा देखिन्छन् । दलहरुमा पार्टी बनाएर काम गर्छु भन्ने देखिएन । 

–राजनीतिक नेतृत्व वृत्तको ध्यान सत्तामात्रै भन्न खोज्नुभएको हो ?

राजनीतिमा सत्ता र पैसाको बोलवाला भयो । सात आठ वर्षदेखि यो तहको भ्रष्टाचार कहिले र कहाँ भएको छ ? कल्पना पनि गरिएको थिएन । टनका टन सुन आउँछ । 

सुन दानमा आएको हो र ? सुन यहाँ आयो भने सुनसँग लेनदेन कहीँ हुन्छ होला नि ? यहाँका मान्छेको संलग्नता त होला नि ! जति सुन समातिएको छ, त्यसको सात गुणा बढी आयात भइसकेको हुनुपर्छ नि । नभए कसरी चल्छ होला र ? यो सुन उदाहरणमात्रै हो ।

सुन ल्याउने पैसा कुन खाताबाट चलेको छ ? खाली क्रिप्टोबाट मात्रै चलेको होला र ? मनी लाउन्डरिङ भएको छैन र ? अर्को कुरा बूढीगण्डकी बनाउने भनेका छौँ । किन त भन्दा त्यहाँ परियोजना बन्नुसँग अभिरुचि छैन, मुआब्जा बाँड्नुसँग छ । 

मुआब्जा बाँड्दा बढी भाउमा दियो भने खान पाइन्छ भन्ने छ ।  चोर्ने र विकास कुरा टुक्रा पारियो । पोखरा, लुम्बिनी विमानस्थल जहाज उडाउन बनाइएको होइन भन्ने प्रमाणित भएन र ?अब त, ठेक्कापट्टा ‘कम्प्लिट’ हुनुपर्दैन । ठेक्का ‘मोबिलाइजेसन’का निम्ति सरकारी ढुकुटीबाट पैसा लिएर जग्गा किन्न पुग्छन् । कमिसन लिनेले कमिसन पाए भयो ।

त्यसैले मलाई के लाग्छ भने भ्रष्टाचारको जुन तह बढेको छ, निराशा पनि त्यसैगरी बढेको छ । आजको चलन ‘हिरोइज्म’को छ । मैले यो गरेँ यो गरेँ मात्रै भन्ने छ ।

–लोकतन्त्रमा यस्ता खराब कामको जिम्मेवारी कसैले लिनु पर्दैन ?

यहाँ एउटा कुरा भनौँ, अस्ति प्रधानमन्त्रीले भाषण गर्नुभयो । अर्थमन्त्र बिग्रिएको थियो म आएपछि ठिक भयो भन्नुभयो । 

एउटा प्रश्न छ, उहाँ आउनुभन्दा अगाडि सरकारमा उहाँको पार्टी थियो कि थिएन ? अर्थमन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो होइन ? सरकारका उहाँको पार्टी भएपछि हुनु भएको होइन र ? सरकारमा उहाँकै पार्टी छ । अर्थतन्त्र नासिएको जिम्मा माओवादीले लिने कि नलिने ? 

यतिखेर प्रचण्ड आफैँले सत्ता हाँकिरहनुभएको छ । केपी शर्मा ओलीको सरकारमा प्रचण्ड हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो ? त्यहाँ पनि हुनुहुन्थ्यो ।  त्यो अघि शेरबहादुर देउवा नेतृत्त्वको सरकारमा पनि सानो आकारमा हुनुहुन्थ्यो । 

सरकारमै हेर्नुस्, ०७२ सालपछि लगातार सरकारमा बस्ने पार्टी माओवादी मात्र होइन र ? अनि त्यही पार्टीका नेताले म आउनुभन्दा अघि नास थियो भन्न मिल्छ ? यो के हो ? 

यसको सही तथ्य ‘चेक’ कसले गर्ने ? हो, त्यसमा हामीले पनि केही भन्न मिल्छ, एमालेले केही भन्न मिल्छ । तर, माओवादीले मिल्छ र ? माओवादी ०७२ पछि कुनै न कुनै रुपमा निरन्तर सरकारमा छ, अहिलेसम्म भएको नासको जिम्मेवारी लिने कि नलिने ? प्रधानमन्त्रीले भन्नुभयो भन्दा पनि जिम्मेवारी बोध नहुने हद कहाँसम्म छ भन्ने उदाहरण यो एउटामात्रै हो ।

शिविरका लडाकुहरुको रकम एकमुष्ट बुझ्ने चलनबाट भ्रष्टाचारमा गुणात्मक फड्को आएको होइन र ? त्यसपछि बढ्दै गएको भ्रष्टाचार लुकाउन, ढाकछोप गर्न अख्तियारदेखि विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्न ध्यान गएको होइनन् र ? आफ्ना मानिस सबै चिज छोपिने अर्काको भए विना दोष पनि सजायँको भागीदार हुनुपर्ने ?

राज्य संयन्त्र कब्जा गर्न संसद् चल्न नदिने, मिडिया तह लगाउने, अदालत आफ्नो बनाउने र संवैधानिक निकायमा आफ्ना नियुक्त गरेर राज्य कब्जा गरेको होइन र ? मलाई चिन्ता एक वर्षमा केही गर्‍यो कि गरेन भन्ने होइन सिंगो प्राथमिकता उल्टो बाटोमा छ भन्ने हो । तर सरकारको एक वर्षको समीक्षामा मलाई अभिरुचि छैन । 

– विकल्प के त ? कसरी सम्भव छ ?

यसको एउटा मात्रै समाधान हो, चुनाव प्रणाली बदल्ने । अहिलेको जनताको समर्थन र मतका आधारमा ठूला दलहरु सामान्य बहुमत या बहुमतको नजिक पुग्नेगरी प्रणाली हुनुपर्छ ।  यसका लागि प्रत्यक्ष निर्वाचन प्रणाली कायम राखी समानुपातिक प्रणालीबारे समीक्षा गर्नुपर्छ । 

समानुपातिक पद्धतिको दुईवटा अंश छ, एउटा अंशले सामान्यतया कहिल्यै पनि निर्वाचित हुन नसक्ने समुदायलाई प्रतिनिधि सभामा पुर्‍याएको छ । साँच्चै अर्थमा प्रतिनिधि सभालाई प्रतिनिधित्वमूलक बनाएको छ । यो अंशलाई जोगाउनुपर्छ । 

अर्कातर्फ चुनावी प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका र सहजै सफलता प्राप्त गर्न सक्नेलाई पनि प्रत्यक्ष होइन, समानुपातिकको चोर बाटोबाट आउने लोभ जागेको छ । म जस्तो मानिसले किन समानुपातिकबाट आउनु पर्‍यो र ? म जस्ता मानिस त सिधा प्रतिस्पर्धा गरेरै आउनुपर्छ । 

त्यस्ता समूहहरुलाई समानुपातिक सुरक्षितको साटो तिनलाई हटाउनुपर्छ । शक्तिशाली वर्ग र व्यक्तिलाई चोर बाटो बन्द गर्नुपर्छ । त्यसो गरेमा समानुपातिकको संख्या ११० बाट ५०–५५ मा सीमित गर्न सकिन्छ । त्यसो भएमा जनताको बढी समर्थन प्राप्त गर्ने दल बहुमत प्राप्त वा बहुमत नजिक पुग्न सक्छ ।

– फेरि प्रचण्ड र केपी ओली मिल्छन् भन्ने त्रासका कारण कांग्रेस बरु प्रचण्डले पाँचै वर्ष खाए हुन्छ भन्ने अवस्थामा कांग्रेस पुग्छ भन्छन् नि !

यसमा म बोल्न चाहन्न । यहाँ दुई पार्टी मिल्दा अर्को सरकार बन्ने सम्भावना छ । सरकारको ध्यान खाली सरकार कसरी टिकाउने भन्ने नै छ । यहाँ विश्वासको संकट नै छ । बालुवाटारबाट निस्केको व्यक्तिलाई बालकोट पुर्‍याएको होइन ? 

हामीलाई पनि त्यसरी नियुक्त भएको प्रधानमन्त्रीलाई बालकोटको सट्टा धुम्बाराही ल्याउनु परेन र ?

– राष्ट्रिय सभा निर्वाचन हुँदैछ, उमेदवारमा तपाईंको दाबी रहन्छ कि रहँदैन ?

गएको निर्वाचनमा मलाई पार्टीले सर्वसम्मतिबाट प्रतिनिधि सभामा उम्मेदवार नबनाउने निर्णय गरेको हो । 

आजको दिनमा पार्टीले सर्वसम्मत् रुपमा मलाई संसद्को कुनै पनि सदनमा पठाउन हुँदैन भनी निर्णय गर्‍यो भने मैले पनि पार्टीमा आवद्धता र क्रियाशिलताकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ला नि ।  

– त्यो भनेको पार्टी छोड्ने हो ?

मैले त्यसो भनेको छैन । जति भनेँ त्यति मात्रै हो । ७५ वर्ष नाघिसकेका व्यक्ति कांग्रेस राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने सोचमा हुनुहुन्न भने म त ६६ वर्षको मात्रै भएँ । तर मेरो सोच अलि फरक छ । यस्तै निर्णयहरुलाई मनन गर्दै, हृदयंगम गर्दै मैले मेरो सार्वजनिक कसरी उपयोग बनाउन सक्छु भनी सोच्नुपर्ला नि ! 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro