site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानको जीएम नियुक्तिमा पारस खड्काको स्वार्थ ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) नियुक्तिमा विवाद उत्पन्न भएको छ । 

क्यानको नयाँ जएीम नियुक्तिमा व्यक्तिगत स्वार्थ हाबी भएको क्यानकै कार्यसमिति सदस्यले बताएका छन् । क्यानले साउनमै दरखास्त आह्वान गरी प्रक्रियागत हिसाबले सात जनालाई अन्तर्वार्तामा बोलाउने तयारी गरेको थियो । 

तर, असोज ६ गतेको निर्वाचनपछि आएको नयाँ कार्यसमितिले उक्त प्रक्रिया स्वीकार गरेन ।

Dabur Nepal
NIC Asia

पुरानो प्रक्रिया बाइपास गर्दै क्यानले जीएमका लागि मंसिर ७ गते फेरि दरखास्त आह्वान गर्‍यो । जसअनुसार इच्छुकलाई दरखास्त भर्न मंसिर २१ गतेसम्मको समयसीमा उपलब्ध थियो ।

गत असार १४ गते तत्कालीन जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।  खनालको राजीनामा क्यानले असार १५ गते स्वीकृत गरेको थियो ।  त्यसपछि साउन २३ गते पहिलोपटक जनरल म्यानेजरका लागि दरखास्त आह्वान गरेको थियो । 

त्यसबेला साउन ३२ गतेसम्मको ‘डेडलाइन’ तोकिएको थियो ।  दरखास्त आह्वानको केही समयपछि क्यानका तत्कालीन कार्यबाहक सचिव दुर्गाराज पाठकले जीएमका लागि २८ जनाको आवदेन आएकामा सात जनालाई सर्ट लिष्ट गरेर आईसीसीमा प्रक्रियाका लागि पठाइसकेको बताएका थिए । 

“हामीले सात जनाको नाम आईसीसीलाई पठाएको र छनोटमा परेकालाई अन्तर्वार्ताका लागि बोलाएका थियौं,” तत्कालीन कार्यवाहक सचिव पाठकले बाह्रखरीसँग भने, “तर, त्यसपछि चुनाव भयो र नयाँ कार्यसमिति गठन भयो । अनि निर्वाचित सचिवले नयाँ विज्ञापन गर्नुपर्छ भन्नुभयो । त्यसमा अध्यक्षज्यूले पनि पुरानो कामलाई निरन्तरता दिनुपर्छ भनी अडान लिन सक्नुभएन, फेरि विज्ञापन गर्नुपरेको हो ।”

हाल क्यानको कार्यसमिति सदस्य रहेका पाठक जनरल म्यानेजरको नियुक्तिमा व्यक्तिगत स्वार्थ देखिएको बताउँछन् ।

“आईसीसीबाट प्रक्रिया पूरा भइसकेपछि उनीहरुले जनरल म्यानेजर छिटो नियुक्त गर भनेका थिए । त्यसअनुसार हामीले छिटोभन्दा छिटो गर्न खोजेका हौं,’’ पाठकले भने, ‘‘तर, नयाँ सचिव वा कमिटीलाई आफू अनुकूलको हुनुपर्छ भन्ने परेको पनि हुन सक्छ । कता कता यसमा मलाई व्यक्तिगत स्वार्थमा यस्तो काम देखिन्छ । त्यस्तो नभए पहिलेका सात जनामध्येबाट नै नियुक्त गरे भइहाल्थ्यो होला,” पाठकले बाह्रखरीसँग भने ।

क्यानका सचिव पारस खड्का भने पुरानो दरखास्त आह्वान कानुनअनुसार नभएकाले नयाँ सूचना निकालिएको बताउँछन् ।

“चुनावी माहोलमा कानुनविपरीत नियुक्त प्रक्रिया सुरु भएको थियो । किनकि क्यानको चुनाव हुन दुई–तीन महिना बाँकी हुँदा जीएम नियुक्तिका लागि सूचना निकाल्नै पाइँदैन,” पारसले भने ।

उनी पुरानोमा आफ्नो इच्छा वा के–के गरे आफूलाई थाहा नभएको बताए । 

‘‘तर नयाँ कार्यसमिति आएपछि सूचना निकालिएको समय ठीक नभएको र जीएमका लागि सर्ट लिष्टमा परेकाहरूलाई पनि समेट्ने गरी नयाँ सूचना निकाल्ने निर्णय भएको हो,’’ उनले भने, ‘‘किनकि चुनावी प्रक्रियामा हुँदा सूचना निकाल्न पाइँदैन । त्यतिबेला उहाँहरुले किन त्यस्तो गर्नुभयो उहाँहरुलाई नै सोध्नुपर्ला ।”

जनरल म्यानेजरको सम्बन्धमा क्यानको विधानमा चुनावी प्रक्रियामा रहँदा जीएमको पदपूर्तिका लागि सूचना निकाल्न नपाउने भन्ने कतै उल्लेख छैन ।  क्यानको विधान २०८० संशोधनअनुसार बुँदा नम्बर ३३ मा जिएमको नियुक्ति केन्द्रीय कार्यसमितिबाट हुने र योग्यता विनियमावलीमा निर्दिष्ट गरिने उल्लेख छ ।

तर, क्यानले हालसम्म विनियमावली बनाउन सकेको छैन ।  पूर्व कार्यबाहक सचिव पाठक भने जीएमका लागि गरिएका कार्य गलत नभएको दाबी गर्छन् ।

“आईसीसीबाट हुने कार्यका लागि जीएम अनिवार्य हुन्छ । त्यसैले हामीले त्यो समस्यालाई समाधान गर्न त्यतिबेला नै नियुक्ति प्रकृया सुरु गरेका थियौं । त्यसमा विधानविपरीत भन्ने कुरा नै आउँदैन । त्यो क्यानको नियमित कार्यसम्पादनमै पर्ने हुँदा चुनावी प्रक्रियाले रोकिने विषय नै हैन,” पाठकले भने ।

जीएम नियुक्तिबारे क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि पहिलो सूचना आह्वान गर्दा अन्तर्वार्ताको लिने तयारीमा क्यान पुगिसकेको स्वीकार्छन् ।  तर, चुनावअघि नियुक्त गर्दा राम्रो नदेखिने भएर तत्कालीन कार्यसमितिले नै नयाँ कार्यसमितिलाई जीएम नियुक्तिको प्रकृया अघि बढाउने सहमति भएको दाबी चन्दको छ ।

“चुनावअघि त्यो लामो पेन्डिङ भयो । चुनावका मुखमा त्यो राम्रो देखिँदैन भनी त्यसलाई स्थगित गरी नयाँ तरिकाले खोलेका हौं । अन्तर्वार्ताको तयारी भएको थियो । चुनावको १५ दिनअघि गर्ने भन्ने थियो । तर, चुनावअघि त्यति राम्रो देखिँदैन भन्ने कुरा आयो । पुरानो बोर्डले नै नयाँ बोर्ड आएपछि गर्ने भनेको भएर पछि निकालिएको हो,” चन्दले बाह्रखरीसँग भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro