site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महन्थ–राजेन्द्र टकराब : राष्ट्रियसभा कि केन्द्रीय समितिको भागबन्डा ? 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्रको विवाद सतहमा देखिएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेपछि विवाद छताछुल्ल भएको हो । लोसपामा पार्टी गठनको दुई वर्षमा नै विवाद चर्किएको छ ।

केन्द्रीय समितिमा आफूनिकटका व्यक्तिलाई समावेश नगरिएकाले महतो आइतबारको बैठकमा सहभागी भएनन् । उनीसँगै नेता अनिल झा पनि केन्द्रीय समिति बैठकमा गएनन् ।

अध्यक्ष महन्थ ठाकुरले पार्टीका दोस्रो तहका नेताको अनुपस्थितिका बाबजुद बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक सञ्चालन गरे । केन्द्रीय समिति बैठक आइतबार र सोमबारका निम्ति तय गरिएको थियो । तर, बैठक आइतबारै सकाइएको छ ।

गएको असोज ८ गते ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति गठन, विस्तार र कार्यविभाजन गरे । ६३ सदस्यीय पदाधिकारी बनाइएको थियो ।

ठाकुरले आफूनिकटका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिएको भन्दै महतो रुष्ट बनेका हुन् । उनले दुई महिनाअघि नै ठाकुरलाई निर्णय सच्याउन दबाब दिएका थिए ।

Global Ime bank

“केन्द्रीय समिति र कार्यकारिणी समिति दुई वर्ष लगाएर बनाइयो । तर, पुराना काम गरेका नेता–कार्यकर्ताहरूलाई राखिएको रहेनछ । मधेसको लागि लड्नेहरूलाई समेटिएको रहेनछ भनेर मैले दुई महिनाअघि कार्यकारिणी समिति बैठकमा विरोध गरेको थिएँ,” महतोले बाह्रखरीसित भने ।

ठाकुर नेपाली कांग्रेसमा हुँदा नै मधेसको हितका निम्ति लड्ने नेताहरूलाई अहिले पाखा लगाइएको भन्दै उनी असन्तुष्ट छन् । “तपाईं (महन्थ ठाकुर) जति बेला कांग्रेसमा हुनुहुन्थ्यो, उनीहरू त्यति बेला लाठी, जुत्ता खाइरहेका थिए, यसरी छाड्न मिल्दैन, सम्मान गर्नुपर्छ भनेको थिएँ,” उनले भने, “उहाँ (महन्थ ठाकुर)ले ठिक छ, म सुधार गर्छु भन्नुभयो । तर, अझै सुधार भएको रहेनछ । नभएपछि मैले विरोध गरेको हुँ ।”

‘जम्बो’ टोलीमा आफ्नो पक्ष कमजोर बनेपछि उनी विरोधमा उत्रिएका हुन् । एक नेताका अनुसार, उनले आफूनिकट ४० जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेका छन् ।

“पहिले पनि उहाँ (राजेन्द्र महतो)ले निर्णय सच्याउन भन्नुभएको थियो । सद्भावना हुँदै जसपाका केन्द्रीय समितिमा रहेका ४० जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राख्नुभएको छ । तर, अध्यक्षले त्यो माग सम्बोधन गर्नुभएको छैन,” ती नेताले भने ।

महतोनिकट नेता सन्तोष मेहता पार्टी अध्यक्षको एकलौटी निर्णयले समस्या निम्तिएको जिकिर गर्छन् । “अध्यक्षले एकलौटी ढंगले केन्द्रीय समिति विस्तार गर्नुभयो । सद्भावनादेखिका नेतालाई समावेश नगरेपछि समस्या उत्पन्न भएको हो,” उनले भने ।

ठाकुर र महतोबीच लामो समयदेखि को शक्तिशाली भन्ने टकराब देखिँदै आएको छ । दुई नेताबीचको टकराबले पार्टी विभाजनको तहसम्मै पुग्ने आकलन गर्न थालिएको छ ।

मेहता भने पार्टी विभाजनको कुरा नभएर असन्तुष्टि मात्र भएको बताउँछन् । “दोस्रो तहका नेताले कुनै प्रस्ताव गरेपछि पहिलो तहका नेताले त्यो स्वीकार गर्ने हो । तर, कार्यान्वयन नभएपछि असन्तुष्टि पोख्ने त्यसैगरी त होला नि,” उनले भने, “यो असन्तुष्टि मात्रै हो । विद्रोह वा पार्टी विभाजनको कुरा होइन ।”

महन्थ बोल्दैनन्, राजेन्द्रको ‘बार्गेनिङ’
महतोको माग सम्बोधन गर्नुपर्ने पक्षमा आइतबारको बैठकमा नेताहरूले जोड दिएको मेहताको भनाइ छ । “वरिष्ठ नेता नै उपस्थित नभएपछि उहाँको माग सम्बोधन गर्नुपर्छ भनेर कुरा उठेको हो । उहाँले माग सम्बोधन गर्नुपर्‍यो नि,” उनले भने ।

महतोले बैठकमै आएर आफ्नो असन्तुष्टि राख्नुपर्ने नेताहरूले बताएका थिए । “बैठकमा आएर असहमति राख्ने हो । बाहिर कराउँदै हिँड्ने होइन भन्ने कुरा बैठकमा उठ्यो,” एक नेताले भने ।

महतोनिकट अर्का नेताका अनुसार, उनले राष्ट्रियसभा सदस्यका निम्ति ‘बार्गेनिङ’ गरेको टिप्पणी बैठकमा गरिएको थियो । “उहाँ (राजेन्द्र महतो)ले राष्ट्रियसभाका लागि बार्गेनिङ गरेको टिप्पणी बैठकमा भयो,” ती नेताले भने ।

ठाकुरनिकट एक नेताले पटक–पटक मन्त्री बनेका महतोले अहिले पनि बार्गेनिङ गरेको टिप्पणी गरे । “अध्यक्षज्यू आफू कहिल्यै मन्त्री बन्नुभएको छैन । तर, महतोजी सद्भावनादेखि जसपासम्म आइपुग्दा पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बनिसक्नुभएको छ । अहिले लोसपामा पनि पदकै लागि बार्गेनिङ गर्दै हुनुहुन्छ,” ती नेताले भने ।

बैठकमा उपस्थित भएर महतोले आफ्ना कुरा राख्नुपर्ने उनले बताए । “उहाँ (राजेन्द्र महतो)का केही अपेक्षा भएर आग्रह गर्नुभएको हो भने उपस्थित भएर अध्यक्षसहित नेताहरूसँग कुरा राख्नुपर्‍यो,” ती नेताले भने, “घुर्की लगाउनुभएको हो भने एउटै व्यक्तिलाई सधैँभरि लाभको पद मधेसले दिन सक्दैन ।”

बैठकमा महतोनिकट नेताहरूले उनको माग पूरा गर्न दबाब दिएका थिए । अध्यक्ष ठाकुर भने नबोलेको एक नेताले बताए । नबोल्ने र अरूले भनेको नसुन्ने प्रवृत्ति अध्यक्षमा रहेको ती नेताले टिप्पणी गरे ।

“उहाँ (महन्थ ठाकुर)मा कुरा गर्ने तर अरूले भनेको नमान्ने प्रवृत्ति छ । सल्लाह लिने तर एकलौटी गर्ने,” ती नेताले भने, “आफैँ गुट बनाउनु हुँदैन भन्नुहुन्छ, तर आफैँ गुट बनाउनुहुुन्छ । हामीले माग राख्दा पनि उहाँ बोल्नु भएन । नबोल्ने बानी उहाँको छ ।” 

दुई नेताबीचको सम्बन्ध पहिलेदेखि नै उतारचढावपूर्ण छ । दुई नेता सँगै बस्दै आएका छन् र तिक्तता पनि छ । उनीहरूबीच को शक्तिशाली भन्ने लडाइँ लामै समयदेखि चल्दै आएको पार्टीकै नेताहरू बताउँछन् ।

कांग्रेसबाट विद्रोह गरेर महन्थ ठाकुरले ०६४ वैशाख १० गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए । त्यति बेला राजेन्द्र महतो सद्भावना आनन्ददेवीमा आबद्ध थिए ।

०७४ वैशाख ७ गते तराईकेन्द्रित ६ दलबीच एकता भएको थियो । महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीबीच एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरिएको थियो ।

त्यहाँ उनीहरूबीच शक्तिसंघर्ष थियो । ०७७ वैशाख १० गते मध्यरातमा तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालबीच एकीकरण गरियो । एकीकरणपश्चात् गठित जनता समाजवादी पार्टी (जसपा)मा पनि शक्तिसंघर्ष देखियो ।

जसपाबाट छुट्टिएर ०७८ भदौ ९ गते लोसपा गठन गरिएको हो । लोसपामा पनि ठाकुर अध्यक्ष र महतो वरिष्ठ नेता छन् । वरिष्ठ नेताले आफूले नेतृत्व लिएर पार्टी हाँक्ने इच्छा व्यक्त गरे पनि त्यो पूरा भएको छैन । दुई नेतामा ठाकुर भद्रशैलीका छन् । महतो ‘आक्रामक’ देखिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu