site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री हेरफेरको मूडमा प्रधानमन्त्री, देउवा रणनीति– दाहाललाई नबिच्काउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीहरु हेरफेरको तयारीमा जुटेका छन् । दाहालका अति निकट एक नेताका अनुसार, यो महिनाभित्रै मन्त्री हेरफेरको तयारीमा दाहाल पुगेका छन् ।

“तयारी केही पहिला पनि हो, त्यसबेला दसैं, तिहार भनियो,” ती नेताले भने, “बीचमा जाजरकोटमा गएको भूकम्प अर्को कारण बन्यो । त्यसले नै लम्बिएको हो । अब सरकारको एक वर्ष पनि पूरा हुन लागेको छ । त्यस अवसरमा मन्त्रीहरुको व्यापक हेरफेरको तयारी छ ।”

सत्तारुढ कांग्रेसले गृहमन्त्री र माओवादीले अर्थमन्त्रीको आलोचना गर्दै आएका छन् । दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए । माओवादीभन्दा पनि कांग्रेसबाट बढी दबाब आएको दाहाल निकट ती नेताको भनाइ छ ।

“गृहमन्त्रीले साह्रै दुःख दिए फेरिहालौँ भन्ने कांग्रेसका साथीहरुको आग्रह छ,” उनले भने, “तर फेरिहाल्ने अवस्था थिएन । नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डलगायतका काण्डले गृहमन्त्री हटाएको सन्देश जाने अवस्था थियो ।”

प्रधानमन्त्रीले भने कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राम्रो ‘पर्फर्मेन्स’ दिन नसकेको भन्दै सबै फेर्ने तयारी गरेका छन् । माओवादीका केही नेताहरुले प्रधानमन्त्री दाहाललाई आफ्नो सचिवालयमा पनि हेरफेरको आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराएको स्रोत बताउँछ ।

Global Ime bank

उनका अनुसार, अबको फेरबदल ‘व्यापक’ हुन सक्नेछ । ‘‘मन्त्रिपरिषद् र प्रधानमन्त्रीको सचिवालयको टिममा फेरहेर गर्दा नयाँ सन्देश दिन सकिन्छ कि भन्ने सोच पनि प्रधानमन्त्रीले बनाउनुभएको छ’’ ती नेताले भने, ‘‘हाल देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी सरकार सञ्चालनको योजनामा हुनुहुन्छ ।’’

अहिलेको आर्थिक संकट समाधान गर्न सरकारले केही गर्न नसकेको आलोचना भइरहेको भन्दै त्यसको दोष माओवादीले लिनुपर्ने अवस्था आए पनि अर्थ मन्त्रालय कांग्रेसले सम्हालेको हुँदा तालमेल नमिलेको प्रधानमन्त्रीको गुनासो रहने गरेको छ ।

“आर्थिक क्षेत्रमा काम पुगेन, काम गराईको चाँजोपाँजो मिलेन भनेर प्रधानमन्त्रीले नै निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल थाल्नुभयो,” उनले भने, “यसपल्टको बजेट पनि विगतका भन्दा फरक तरिकाले निर्माण गर्नुपर्छ भनेर प्रधानमन्त्री लागिसक्नुभएको छ ।”

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले दिएको जानकारीअनुसार अब सरकारको सिंगो काम र मन्त्रीहरुको कामको समीक्षा गरेर निर्णय गर्नुपर्ने बेला आएको छ । कार्यकारिणी प्रधानमन्त्री, मन्त्री सेरेमोनियल भूमिकामा जस्तै रहेको बताउँदै प्रधानमन्त्रीले यसमा पनि केही सुधार गर्न सकिन्छ कि भनेर छलफल थालेका छन् ।

“केही काम गरौँ भन्यो, अख्तियारको २२ बुँदे देखाउँछन्, अर्कोतिर अदालतले अघि बढ्नै दिँदैन,” प्रधानमन्त्री निकटले भने, “मन्त्रीहरुको अवस्था पनि त्यस्तै छ । विभागका महानिर्देशकले नै मन्त्री हल्लाइदिने हाम्रो सिस्टम छ ।”

दाहालले सरकार सञ्चालन निम्ति सहयोग गर्न पनि बृहत् खालको टिम बनाउने तयारी गरेका छन् ।

“शीर्ष नेतामात्रै सहभागी भएको टिमले गरेका निर्णय पार्टीभित्रै कार्यान्वयनको तहमा समस्या देखियो,” दाहाल निकट स्रोतले भन्यो, “कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा, माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, नेकपा एसबाट राजेन्द्र पाण्डे, घनश्याम भुसाललगायत समेटेर जानुपर्छ भन्ने देखिएको छ ।”

देउवाबाट सरकारका काममा कुनै हस्तक्षेप नभएको भए पनि उनको ध्यान ‘सहज सत्ता हस्तान्तरण’मा केन्द्रित रहेको छ ।

“देउवाले पहिला गृहमन्त्री हटाउने प्रस्ताव गर्नुभएको थियो,” उनले भने, “तर प्रधानमन्त्रीले सबै मन्त्रीको समीक्षा गरेर निर्णय गरौँ भन्नुभयो देउवाले मान्नुभयो । उहाँ आफ्ना कुरा भन्ने, प्रधानमन्त्रीको निर्णय मान्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्रीले गरेको निर्णय आफूलाई मान्य हुने धारणा उहाँको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu