site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुर्गा प्रसाईंसँग एमाले किन भिडेको ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भने, “यो त (युवासंघ) एमालेको काहिँलो छोरा हो, काहिँली छोरी हो । जेठो, माहिलो, साहिँलो बाँकी छ । युवा संघले एक झलक देखाएको छ । एमाले परिवार सिंगो उत्रियो भने...!”

युवा संघको केन्द्रीय समिति बैठकमा ओलीले दिएको अभिव्यक्तिले पनि एमालेमा युवा संघको स्थान प्रस्ट्याउँछ । युवासंघ मात्रै होइन, सिंगो एमाले प्रसाईंविरुद्ध उत्रिएको छ । 

युवा संघले गएको बिहीबार काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गर्‍यो । त्यहीदिन प्रसाईंले पनि बल्खुमा शक्ति प्रदर्शन गरेका थिए ।

पोलिट ब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा युवा संघले प्रसाईंको प्रदर्शनलाई ‘काउन्टर’ दिएको थियो । युवा संघलाई अध्यक्ष ओलीले 'आइलागे जाइलाग्न' निर्देशन दिएका छन् ।

एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग अभियान केन्द्रित कार्यक्रम गर्दै छ । त्यही अभियानमा पनि युवा संघलाई काउन्टर दिन तयार पारिने सन्देश ओलीले दिइसकेका छन् ।

Global Ime bank

“हाम्रो साथमा युवाहरूको सानो टिम मात्रै हिँड्ने छ । त्यो पद ओहोदाको सम्मान होइन । बाटामा टिक्ने पनि पर्‍यो नि । परी आए भिड्ने गरी हिँड्नुपर्‍यो,” ओलीले युवा संघको बैठकमा भने, “अरू युवाहरू स्थानीय तहमा भोलिन्टियर भएर काम गर्ने छन् ।”

विवादित मेडिकल व्यवसायी प्रसाईंलाई केन्द्रीय सदस्य बनाएर एमालेले नै ‘महत्त्व’ दियो । ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाए । त्यससँगै उनी ‘मार्सी’को नामले चर्चित भए ।

‘नेकपा’ बन्नुअघि प्रसाईं माओवादी कार्यकर्ता थिए । नेकपा विभाजनपछि एमालेमा रहँदै केन्द्रीय सदस्य बने । त्यसो त, एमालेको विधान महाधिवेशनमा आफू प्रतिनिधि भन्दै पार्टीका नेताहरूलाई नै चकित बनाइसकेका थिए ।

पार्टीको १०औँ महाधिवेशनमा नै केन्द्रीय सदस्य बन्न खोजेका थिए । प्रसाईंलाई ०७८ मंसिर २६ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको थियो । प्रसाईंलाई एमाले अध्यक्ष ओलीले नै ‘स्पेस’ दिएको आरोप नेताहरू लगाउँछन् ।

“दुर्गा प्रसाईं जस्ता व्यक्तिलाई केन्द्रीय सदस्य बनाउँदा विरोध गर्न सक्दैनन् । अनि उनीहरू नै पार्टी अध्यक्षको नजिक रहेको देखाउँछन्,’’ एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘‘तिनै प्रसाईंले एमालेमाथि प्रहार गरिरहेका छन् । समयमै खराबलाई खराब नै हो भन्ने नजिक रहेकाले बुझ्न सक्नुपर्थ्यो ।”

यतिखेर ‘अनावश्यक’ रूपमा प्रसाईंविरुद्ध खनिएर थप महत्त्व दिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । एमालेकै केही नेताहरू पनि एक व्यक्तिका पछि सिंगो युवा संघ वा पार्टी लाग्नु उचित देख्दैनन् ।

“महेश बस्नेतको ‘इगो’मा सिंगो टिम नै लाग्नु आवश्यक छैन । मलाई चाहिँ यो कुरा चित्त बुझिरहेको छैन,” युवासंघकै एक नेता सुनाउँछन् ।

मंसिर ७ को अभियानअघि बस्नेतले पनि प्रसाईंको पछि लाग्दै आफ्नै अनुहारमा हिलो छ्यापिन्छ भन्ने व्यक्तिहरू पनि पार्टीमा रहेको सुनाएका थिए ।

तर, उनीहरू कायर वा बौद्धिक नभएको टिप्पणी बस्नेतले गरेका थिए । प्रसाईं देशको व्यवस्था परिवर्तन गर्ने दाबी गर्दै हिँडेका छन् ।

द्वन्द्वको शृङ्खला 

प्रसाईं गएको निर्वाचनमा झापाबाट सांसद बन्ने चाहनामा थिए । उमेदवार बन्न नपाएपछि उनी असन्तुष्ट बन्न थाले । एमालेमा रहँदै गएको फागुन १ गते प्रसाईंले पूर्वराज ज्ञानेन्द्र शाह उपस्थित गराएर महाभियानको घोषणा गरे ।

राजसंस्था र राष्ट्रवादी आन्दोलनको सुरुवात गरेको प्रसाईंंले घोषणा गरे । प्रसाईंंले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन भन्दै अभियान सुरु गरेका थिए । 

त्यसपछि एमालेले उनलाई पार्टीबाट कारबाही गर्‍यो । ०७९ फागुन १३ गते बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यबाट हटाएको थियो । त्यसअघि नै उनले आफूले एमाले छाडेको घोषणा गरिसकेका थिए ।

एमालेबाट निष्कासिच भएपछि आक्रोशित बने । सँगै जसले एमालेमा स्थान दियो, उनै पार्टी अध्यक्ष ओली खनिए । अनि पोलिट ब्युरो सदस्य बस्नेतविरुद्ध पनि ।

गएको असोज २२ गते यलो प्यागोडा होटलमा पत्रकार सम्मेलनबाट बाहिर निस्कने क्रममा प्रसाईंमाथि कालोमोसो दलियो । महेश बस्नत समूहले उनीमाथि कालोमोसो दलेको थियो । त्यसको तीन दिनपछि प्रसाईं समूहले बदला लियो ।

झापाको अर्जुनधारा नगरपालिका आयोजित युवा संघको कार्यक्रममा सहभागीहरूको गाडी प्रसाईं समूहले तोडफोड गर्‍यो । 

प्रसाईं र बस्नेत समूहको द्वन्द्व थप चर्कियो । बस्नेतको 'एकजना महिलासँग रहेको' टिकटक भिडियो बाहिरियो । उक्त भिडियो प्रसाईं समूहले भ्रमित पार्न फैलाएको आरोप बस्नेत समूहले लगाएको छ ।

ओलीमाथिको प्रहार

एमालेमा अध्यक्ष ओलीलाई प्रसाईं ‘हजुरबुबा’ भन्छन् । एमालेमा रहँदा उनले हजुरबुबा भन्थे । 

ओलीसँगको सम्बन्ध बिग्रिएपछि प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको तीन करोड लगानी रहेको दाबी पत्रकार सम्मेलनमा गरे । भारतीय सञ्चारमाध्यमले समेत समाचार छापेको बताउँदै प्रसाईंंले त्यसको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

गएको कार्तिक १३ गते गण्डकीको प्रदेश कमिटीलाई शपथ गराउँदै ओलीले प्रसाईंलाई जवाफ फर्काएका थिए । पोखरामा आयोजित कार्यक्रममा उनले कम्बोडियाको टेलिकममा लगानी गरेको प्रमाण ल्याए एकहजार थपेर ‘बक्सिस’ दिने बताएका थिए । त्यसयता आरोप प्रत्यारोप चल्दै आयो । राजतन्त्र फर्काउने भन्दै प्रसाईंले प्रर्दशन गरेपछि एमाले उनीविरुद्ध उत्रिएको हो ।

एमालेलाई जे गरे नि सुख छैन !

केही दिनमा नै प्रसाईंको आन्दोलन सुस्ताएको जस्तो देखिएको छ । एमालेका पोलिट ब्युरो सदस्य विशाल भट्टराई प्रसाईं समूहको आन्दोलन थला परेको बताउँछन् ।

एमालेले प्रसाईंलाई ‘स्पेस’ दिएको आरोप नर्कार्दै उनी भन्छन्, “हामीले ‘स्पेस’ दिएको होइन । एमालेले त थला बसाइदियो,” उनी भन्छन्, “हामीले नगरेको भए गणतन्त्रमा चुनौती दिँदा सरकार त बोलेन । प्रतिपक्षी एमाले बोल्नुपर्दैन ? भन्ने प्रश्न हामीमाथि नै उठ्थ्यो । एमालेले जे गर्दा पनि सुख छैन ।”

आफूहरू व्यक्तिविरुद्ध भन्दा पनि व्यवस्थाविरुद्ध उभिनेहरूमाथि खरोरूपमा उत्रिएको र उत्रिने भट्टराई बताउँछन् ।

“गणतन्त्रलाई चुनौती दिन सडकमा जो आउँछ, उनीहरूसँग एमाले झुक्दैन । मानिसहरू व्यक्ति भन्छन्, व्यक्तिलाई मोहोरा बनाइएको हो । जसमा देश र देशबाहिरका तागत छ,” उनी भन्छन्, “एमालेले सही निर्णय गरेर गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको पक्षमा उभ्याएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu