काठमाडौं । उद्घाटन खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै साविक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा सुखद् सुरुआत गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा सम्पन्न खेलमा राजिव लोप्चनले गरेको गोल काठमाडौंको जितमा निर्णायक बन्यो । ५१औँ मिनेटमा राजिव लोप्चनले गरेको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । राजिव दोस्रो हाफमा प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
आजदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।