काठमाडौं । इजरायली सेनाको आक्रमणबाट ज्यान गुमाएकाहरूको शव अस्पताल बाहिरै बेवारिसे अवस्थामा रहेको बताइएको छ । गाजास्थित इन्डोनेसियन अस्पतालबाहिर शवहरू बेवारिसे अवस्थामा रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएरातिदेखिको आक्रमणबाट इन्डोनेसियन अस्पतालमा १२ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
"इजारयली फौजले अस्पतालको सर्जिकल डिपार्टमेन्टलाई लक्षित गरेर मध्यरातबाट आक्रमण गर्न थालेको थियो । जसबाट काम गरिरहेका चिकित्सक घाइते भए । अन्य १२ जना सर्वसाधारण मारिए," गाजाको स्वास्थ्य मन्त्रालयका महाप्रबन्धक मन्नर अल–बर्सले अल्जजिरालाई भनेका छन् ।
इजरायली फौजले अस्पतालबाट बाहिरिरहेकाहरूमाथि पनि आक्रमण गरेको उनको आरोप छ ।
"उनीहरूको शव अस्पतालबाहिरको मैदानमा ढलिरहेको छ । उनीहरूलाई गाड्न सक्ने अवस्थामा कोही छैन," उनले भनेका छन् ।