site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इजरायल घटनाले चुँडिएको मन : विदेशिने सपना त्यागेर गाउँमै खेती
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत इजरायल जाने सोचमा थिए । पढाइसँगै राम्रो आम्दानी हुने आसमा उनले इजरायलको सपना देख्दै आएका थिए । इजरायल घटनापछि भने मेहता हच्किएका छन् ।

पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनुपर्दा अमनको मन मात्र चुँडिएको छैन, वर्षौँदेखिको उनको सपना समेत तुहिएको छ ।

पढ्दापढ्दै इजरायल गएका साथीहरूले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात् अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् । विदेश नजाने निधोमा आफूलाई पुर्‍याएका छन् ।

उनी भन्छन्, “चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाइ जाँदा मैले स्थानीयस्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनी विदेशिने समयलाई पछि सारेको थिएँ । के हुन्थ्यो/हुँदैन थियो कसलाई के थाहा ?” उनी गुमाउनुपरेका साथीभाइसँग अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् ।

इजरायल घटनापछि मन चुँडिएको बताउने अमन अब विदेशिने आफ्नो सपना सपनामै सीमित भएको बताउँछन् । उनी भन्छन्, “अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यावहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु ।”

हुन त सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुर घर भएका अमनले कृषि विज्ञान अध्ययन सुरु गर्दा नै खेतीबाली लगाउन थालिसकेका थिए । त्यस बेला अनुसन्धान तथा सिकाइका रूपमा अघि बढाएको उक्त कार्यलाई अब भने व्यावसायिक खेती अँगाल्ने अठोटसाथ उनी अघि बढेका छन् ।

गाउँमै खोलेको एलिसा कृषि फार्मलाई दीर्घकालीन रूपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फार्मलाई अमनका बुवा रामेश्वर मेहतासहित सिंगो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रमपश्चात् त छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेका छन्, अमनका अभिभावक ।

अमनले कृषि फार्ममा यति बेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । पाँच कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेसालाई अघि बढाउने तयारीमा पुगेका छन् ।

आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब विस्तार गर्ने तयारीमा रहेको उनले बताए । विदेशिने सोच बदलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे । उनले कृषि नीतिमा समयसापेक्ष परिवर्तनको खाँचो समेत औँल्याए ।

सरकारले कृषकको हकहितमुखी योजना लागु गर्न सके स्वदेशमै खेतीकिसानी गर्नेलाई राहत मिल्ने उनले बताए । त्यसो गरे व्यावसायिक रूपमा कृषि क्रान्ति सम्भव हुने उनको धारणा छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro