काठमाडौं । पर्यटकको भेषमा नेपाल आएर विभिन्न व्यक्तिको एटीएम कार्डको पिनकोड नम्बर चोरी रकम निकाल्न पल्केका पूर्वी युरोपका १५ नागरिक प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्यटकको भेषमा नेपाल छिर्ने अनि अरुको एटीएम प्रयोग गरी रकम चोर्ने ती विदेशी चोरलाई कानुनी दायरामा ल्याएको छ ।
करिब २ वर्षको अवधिमा १५ विदेशी चोर प्रहरीको फन्दामा परेका हुन् । उनीहरुमध्ये केहीलाई सजाय भुक्तान गरी स्वदेश फिर्ता गरिएको छ भने केही अझै जेलमा छन् । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार ४ जना रोमानियन, ४ जना टर्किस, ३ जना बुल्गेरियन र ४ जना मोल्दोभियन नागरिक एटीएमको पिन चोरी गरेर रकम निकालेको भेटिएपछि कारवाहीमा परेका छन् । उनीहरुबाट ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७५ हजार २ सय ४५ अमेरिकन डलर र ७३ हजार ८ सय ७५ युरो बरामद भएको छ ।
त्यसैगरी उनीहरुले रकम चोरी गर्दा प्रयोग गरेका उपहरण पनि ठूलो परिमाणमा बरामद भएका छन् । १४ सय ३९ थान एटिएम कार्ड, ठूलो परिमाण्मा कार्ड स्क्यानिङ डिभाइस, स्पाई क्यामेरा, ल्यापटपलगायत सामग्री बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
यसरी गर्थे चोरी
अनुसन्धान अधिकारीका अनुसार एटीएमको पिन कोड ह्याक गर्ने एक गिरोह विदेशमै हुन्छ । त्यो गिरोहले उतैको एटीमए बुथमा वेबक्याम राखेको हुन्छ । कतिपय एटीएम बुथभित्रै पिनकोड रिड गर्न सक्ने क्षमताको अर्को डिभाइस राखिएको हुन्छ ।
त्यसरी पिन कोड पाएपछि उनीहरु एटीएममा त्यो पिन कोड र उक्त व्यक्तिको विवरण भरेर भिषा तथा अन्य विजनेस कार्डहरु तयार पार्छन् ।
यसरी तयार पारेको कार्डलाई तस्करहरुले बैकिङ सुरक्षा कमजोर भएको र सहजै आवजावत गर्न मिल्ने देशलाई रोज्छन् । यसमध्येको एक नेपाल पनि हो । पक्राउ परेका १५ चोरले बेलायत, फ्रान्स, जर्मनी, पेरू, रसिया, इटाली, साउथ कोरिया, कोस्टारिका, जापान, इन्डोनेसियालगायत मुलुकका नागरिकको एटीएम ह्याक गरी रकम चोरी गरेको अनुसन्धानबाट खुलेको छ । ती चोरहरुले पछिल्लो समय नेपाली ग्राहकको पनि एटिएमको पिन कोड चोरी गरेको तथ्य खुलेको छ । तर, उनीहरुले चोरी गरेको धेरै डाटाहरु बाहिर पास हुन नपाएको ब्युरोको दाबी छ ।
अनुसन्धान अधिकारीका अनुसार यसरी ह्याक गरी एटीएमबाट निकालेको रकम ६० प्रतिशत मुख्य ह्याकरले लिने गरेको हुन्छ भने ४० प्रतिशत एटीएमबाट रकम निकाल्नेले लिने गर्छ ।
पिन कोड ह्याक गर्ने र एटीएमबाट रकम निकाल्नेको प्रायजसो चिनजान पनि हुँदैन । पिन कोड ह्याक गरी नयाँ एटीएममा विवरण भरेर मुख्य ह्याकरबाट अर्कोको हातमा एटिएम पुग्छ, अनि त्यसपछि मात्र एटीएममा पैसा झिक्नेको हातमा पर्छ । अनि उनीहरुले भिजिट भिषामा नेपाल आएर रकम निकालेर डलर तथा युरोमा साटेर फिर्ता लाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार यसरी ह्याक भएका एटीएम तीन प्रकारले प्रयोग हुने गरेका छन् ।
पहिलो, नेपाल तथा भारतका क्यासिनोमा स्वीप गरी रकम निकाल्ने । दोस्रो, नेपालीहरुलाई प्रयोग गरी महँगा सामान जस्तै– क्यामेरा, मोबाइल, घडीलगायतका महँगा सामान अनलाइनमार्फत सपिङ गर्ने र तेस्रो नेपाल घुम्न आउने बहानामा पर्यटक भिषामा नेपाल आउने र रकम निकाल्ने, होटल तथा रेष्टुरेन्टडमा कार्डमार्फत बिल तिर्ने र नेपाली बैंकका एटिएमबाट रकम निकालेर फर्कने ।
नेपालको बैंकिङ प्रणाली सुरक्षित नभएकाले ह्याकरको रोजाइमा नेपाल परेको सीअार्इबीले बताउँदै अाएको छ ।