पत्रकारिता कमजोर भएको छ । धेरै प्रकारले पत्रकारिताको प्रभाव क्षीण हुदै गएको भान हुन थालेको छ । त्यसो त राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार, विचार प्रवाह भइरहेकै छ । मानिसले थाहा पाउने विषय र गति घटेको छैन । बरु, जानकारीको ओइरो नै लागेको छ । तर कस्तो र कसरी ?
समयमा परिवर्तन आउँछ । आएको छ । त्यसले समाजमा प्रभाव पार्ने नै हो । यही कारण समयलाई गतिशील भनिएको हो । समय गतिशील त हो नै प्रगतिशीलसमेत हुन्छ । समयलाई प्रगतिशील प्रकृति र प्रगतिले बनाएको हो ।
प्रकृति कसले निर्माण गरेको हो ? कसले बनायो ? र यसको गतिशीलता ? यो नसुल्झिने सोधाइ होला । प्रगति खासमा मानिसले ल्यायो । प्रकृतिलाई पनि उसले सधायो, कजायो र उपलब्धि कमायो । अर्थात्, प्रगति चारैतिर भइरहेको छ । चौथो अंग भनिने पत्रकारितामा पनि परिवर्तन त स्वतः स्वीकार्य हुने नै भयो ।
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा पत्रकारिताले न काठे युगको मान्यता बोक्न मिल्छ न ग्यालीमा प्रत्येक अक्षर टिपेर डोरीले बाँधी बनाइएको प्लेटजस्तो छपाइको समयले अहिलेको पत्रकारितालाई पूर्णता नै दिन्छ, न पहिचान । त्यस बेलाको बखान सुन्दा 'दन्त्यकथा' जस्तो ठान्ने पुस्ता आइसकेको छ ।
अहिलेको समयले त्यो पत्रकारिता पढ्दैन । न तस्बिरमा जिङ्क ब्लकको प्रयोग नै निरन्तर रह्यो न टाइपराइटर बाँच्यो र न 'सर्ट ह्यान्ड' लेखन नै जारी रह्यो । त्यो त जन्म, मरणको इतिहास भयो । संग्रहालय सजाउन उपयोग गर्न सकिने भए । अर्थात्, प्रगति, परिवर्तन आइरह्यो ।
विश्व सञ्चार युगमा आयो र सबैभन्दा बेसी सञ्चार, स्वास्थ्य र यातायातमा विश्वले प्रगति पायो । यसको आधारभूमि शिक्षा, अध्ययन, अनुसन्धान र खोज नै थियो । हामीले यसलाई ज्ञान, विज्ञान भन्यौ । समग्रमा यिनै उपलब्धिलाई विकास, प्रगति वा उन्नति मान्यौ । विज्ञान सिर्जना हो र जीवन पनि हो । अर्थात्, अरू प्रविधिको जस्तै पत्रकारिताको जीवन बाच्न पनि ज्ञान, विज्ञानको सोध खाँचो रहन्छ । यतिबेला बढी खाँचो खट्किँदो छ ।
प्रकृतिमा कति परिस्कार अथवा विकार आयो ? यो प्रश्नमाथि विचार सजिलो छैन । तर, जे होस् आएको छ । मान्छेले गर्ने वा गरेको प्रगतिमा चाहिँ व्यापक परिस्कार भएको छ । त्यसले विकृति ल्याएको पिरलो पनि सबैतिर गरिन्छ ।
पत्रकारितामा पनि प्रविधि र पहुँचको उचाइसँगै यस्तो पिरलो थपिँदै छ । हाम्रो राज्य र राज्य सञ्चालक मानिने सरकार, पत्रकारिता सम्बद्ध विभिन्न संघ, संस्था र पत्रकारिताका माध्यम सञ्चार संस्था सबै भने यस विषयमा कठिनाइ त भोग्दैछन् तर गम्भीर समीक्षा र पुनरुत्थानमा सक्रिय समावेश देखिँदैनन् । एक्लाएक्लै आफ्नै धुनमा ती डोलायमान देखिन्छन् ।
भनिन्थ्यो – पत्रकारिता शिक्षा, ज्ञान, जानकारी र मनोरञ्जन आदि दिने सशक्त माध्यम हो । यो सत्य, तथ्य, तटस्थ वा निष्पक्ष साधन हो । पहिलो सोच त यो दिग्दर्शनभित्र पत्रकारिता कति अटाउँछ वा यसले पत्रकारितालाई समग्रतामा कति समेट्छ भन्ने हो । तर, जति अट्छ, समेट्छ त्यति विषय प्रवाह पत्रकारितामा मात्रै केन्द्रित वा सीमित रह्यो र अब ? भन्नुको अर्थमा यस्ता विषय प्रवाहमा पनि विभिन्न माध्यम वा तौरतरिका स्थापित र विकास भए ।
भनिएका विषयको प्रवाह अहिले पनि पत्रकारिताले गर्छ, दिन्छ । तर, दिने त्यो माध्यम पत्रकारितामात्र रहेन । अन्य साधनसमेत आए । ती के त, भन्ने बुझ्नुअघि पत्रकारिता के हो, के होइन ? भन्ने प्रश्नमा विश्वको यो फाँट सुल्झिसकेको छैन, उल्झिएकै छ ।
जस्तै मनोरञ्जन दिने साधन चलचित्रदेखि हाते फोनको पर्दा (स्क्रिन) आदि आए, भए । यिनै माध्यम ज्ञान, जानकारी र शिक्षा पनि प्रवाह हुन्छ, हुनसक्छ । मानिसले पत्रकारिताभन्दा अलग साधनको माध्यम यी विषय आर्जन गर्नसक्छ, विकल्प पायो । कुनै जमाना यी विषय प्रवाह पत्रकारिताको बलियो आधार थियो । त्यो खस्कियो ।
सशक्त माध्यम भएर छापा आयो । विद्युतीय अर्थात् श्रव्य माध्यम (रेडियो, रेकर्डिङआदि) आए । पछि श्रव्यदृश्य (टेलिभिजन) आयो । छापालाई पछि धकेल्दै आएको रेडियो टेजिभिजनले खस्कियो । यतिबेला यी सबै खस्किएर अनलाइन (ईपत्रकारिता) प्रवाहमा उकासिएको छ । कुनै दिन यसको पनि विकल्प विज्ञानले खोज्ला ।
यी त भए माध्यमहरूको आगमन, विस्थापन, घिटिघिटी र विस्तारका कुरा । तर, आएको वा अहिलेसम्म चलेका सबै माध्यम घिटिघिटी छन् । ईपत्रकारिता पनि घिटिघिटी नै छ । कोही थप साधनको विकल्पसमेतले र कोही स्रोत साधनको कमीले घिटिघिटी । सबैको समान टाउको दुःखाइ चाहिँ कथित 'सामाजिक सञ्जाल' भएको छ ।
सामाजिक सञ्जाल पत्रकारिता हो कि होइन ? होइन । जानकारी दिने माध्यम भने हो । जानकारी दिनु नै पत्रकारिता त होइन । बौद्धिक प्रयोग भए यो सञ्जाल अरू पनि हुनसक्छ । तर, पत्रकारिता चाहिँ कसैले मानिएन । अन्त यसको प्रयोग, उपयोग, दुरुपयोग र नियमन कसरी भइरहेछ ? त्यो खोज यहाँ प्रस्तुत सम्भव छैन ।
हाम्रोमा भने कुनै दिन ‘नागरिक पत्रकारिता’ भनिएको सामाजिक सञ्जालको व्यापक दुरुपयोग र उत्तेजना फैलाउन प्रयोग बढी भएको छ । यथार्थ प्रवाहभन्दा बढी समाज भडुँवा बनाइएको छ सामाजिक सञ्जाललाई ।
माथि भनिएका मूलधार पत्रकारिताको माध्यमहरू विविध कारण, माध्यम र प्रयोगले कमजोर भएका छन् । यी माध्यम कमजोर हुनुको अर्थ ‘सत्यको मुख थुनिने र असत्यको थुतुनो खुल्ने’ अवस्था आउनु हो । यस्तो अवस्थामा लोकतन्त्र, नागरिक स्वतन्त्रता, चेत र विवेकको प्रवाह कसरी सशक्त रहला ? अनि सार्वभौम नेपालको आवाजमा के हबिगत आउला ?
यस्तो संवेदनशील स्थिति, चुनौती र जोखिमप्रति कथित राज्य सञ्चालक सरकार चनाखो छैन । उल्लिखित संघ, संस्था कोही पनि चुनौती सामनाको लागि एकत्रित सहभागी देखिँदैनन् । एकजुट पाइँदैनन् । पत्रकारितामा पनि सबै आआफ्नो स्वार्थमा मात्र केन्द्रितजस्ता लाग्छन् ।
मूलधारको पत्रकारितालाई विभिन्न विकल्प माध्यमहरू चुनौती र जोखिम दुवै हो । तर, योमात्र सबै होइन । हाम्रोमा बढी चुनौती र घिटघिटी अवस्था त स्रोतको समेत कमीले हो । मुलुकको आर्थिक दुरवस्थासँगै पत्रकारिताको आयस्रोत पनि खुम्चिएको छ । फलतः अहिले सबै प्रकारका सञ्चार, पत्रकारिताका माध्यम पारिश्रमिक पनि दिन नसक्ने स्थिति सामना गरिरहेको खबर आएका छन् ।
पत्रकारहरू कतिपय माध्यमबाट निकालिएका छन् । कति त बन्द हुने अवस्थामै पुगेका भनिन्छन् । सक्षम पत्रकारहरू बेरोजगार हुने वा पेसा फेर्ने चुनौतीमा पुगेका छन् । यही स्थिति अरू केही लम्मिए सबैभन्दा पहिले अब छापा पत्रकारिताको अन्त्य हुनेछ ।
सरकारी विज्ञापनको कारण केही समय राज्य सञ्चालित छापा र माध्यम बाँच्लान् पनि । बाच्नुमा स्रोतमात्र पर्याप्त हुँदैन त्यसमा जीवन्तता पनि चाहिन्छ । लामो समय राज्यका माध्यममा काम गर्दासमेत अहिले पनि मलाई एउटा प्रश्नले सोधिरहन्छ – विज्ञापन र साधन स्रोत भरपूर भएर पनि राज्यका भनिने माध्यमभन्दा बढी अरू किन लोकप्रिय भएका होलान् ? के हामीले ती माध्यमलाई बढी आलोचक र चटपटे पत्रकारिता आरोपित गरेजस्तै कारणले ती लोकप्रिय भएको भनिएको सत्य हो त ? यहाँ उदाहरण पीत र मिथ्या माध्यम, छापाहरूको दिइएको होइन ।
बाँच्नु र लोकप्रिय हुनु भिन्न अवस्था हुन् । बाँचेर लोकप्रिय हुन सकिने हो । आर्थिक, औद्योगिक र उत्पादनमा स्वतन्त्र गतिविधि बढ्दा नै पत्रकारिताको स्रोत पनि बढ्छ । विज्ञापनको माध्यम हुँदै । अन्यथा १२ पेजको पत्रिका छाप्न पनि रू २५ भन्दा बढी खर्चनुपर्छ । पाँच, दस रुपियाँमा पत्रिका बेचेर कोही पनि पालिन सक्दैन । धान्ने थप विज्ञापनले हो जुन अहिले नेपालमा सुक्दै गएको छ ।
यस्तो अवस्था हाम्रो पत्रकारितामा मात्रै आएको होइन । लोकतान्त्रिक विश्वले नै बेहोरेको समस्या हो । विकसित मुलुकमा स्रोतको समस्याभन्दा पनि विकल्प माध्यमहरूको चुनौती थपिएको हो । जीवनको टड्कारै समस्या छापा माध्यमले बेहोर्दैछ ।
समग्रमा मूलधार पत्रकारिता खस्किँदै कमजोर हुँदैछ । केही भ्रष्ट कारण देखाएर लोकतान्त्रिक र नागरिक सार्वभौम स्वतन्त्रताको विरुद्ध खनिन थालेको मिथ्या प्रचारले ल्याउने संकट विगतको तानाशाहीभन्दा कठोर वा घीनलाग्दो हुने निश्चित छ । यस्तो बेला राज्य र पत्रकारिता माध्यम तथा ती सम्बद्ध संघ संस्थाको अवस्था, भूमिका वा योगदान के हो, हुनु के पर्छ भन्ने गम्भीर विषयमा हाम्रो कुनै तहमा पनि बहस भएको सुनिदैन ।
लोकतान्त्रिक मुलुकहरूमा यस्ता विषयमा विभिन्न कोणबाट अध्ययन, अनुसन्धान र समस्या सम्बोधन गर्ने उपाय खोजी भइरहेको समाचार आइरहेका छन् । हाम्रोमा भने पत्रकारिताका संस्था स्रोत सुकेको कारण जनाएर पत्रकार निष्कासन गर्दैछन् । कतिले त महिनौदेखि पारिश्रमिकसमेत दिन छोडेको सुनिदैछ ।
पत्रकार सम्बद्ध संस्थाहरू भने त्यस्ता माध्यम संस्थालाई पत्रकार निष्कासन नगर्न र पारिश्रमिक दिन स्वभावअनुसार एकोहोरो माग गरिरहेका छन् । केही गरेको देखाउन तिनीहरू सम्बद्ध संस्थाको गेटमा धर्ना दिन पुग्छन् । ती कहिल्यै पूरा नहुने रागजस्ता । तर, ती माध्यम संस्था क्रमशः रुग्ण भएको प्रति ती संघसंस्थाको कुनै चासो, अध्ययन वा सरकारलाई सुझाव दिएको सुनिदैन ।
चालीस पृष्ठ छापिने छापा किन आठ, बाह्र र त्यसभन्दा पनि कममा खुम्चिन गए ? श्रव्य, दृश्य दुवै विद्युतीय माध्यमको घुँइचो पनि पातलिँदै न्यून हुने क्रममै छ । प्रभावकारी त हुन् तर जीवन्त रहनसक्ने गारो ईपत्रकारिता वा म्यागेजिनको पनि संकट हो ।
सबै प्रकारका सञ्चार पत्रकारिताको बोझिलो जोखिम र चुनौतीको कारण र सामनाको उपाय न सरकार खोज्छ न त्यस्ता संघसंस्थाको अनुसन्धानमा नै यो विषय परेको छ वा प्रवाह सम्बद्ध संस्था नै पारदर्शी छन् । पत्रकारिता खस्कँदै कमजोर भएको कारण र प्रभावले आउने दुष्परिणाम कस्तो होला ? सोचिएको छ कि ?
के यो राष्ट्रिय ध्यान जानुपर्ने र पत्रकारिताका सबै तह र तप्काका मठाधीशले सार्वजनिक ध्यान जाग्रत गर्नुपर्ने अत्यन्त जरुरी विषय होइन र ?