site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी कार्यकर्ताका गुनासा : नेता आफ्ना बन्न सकेनन्, पार्टी अरूभन्दा फरक रहेन

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र दुई महिनायता घर–दैलोमा छ । २०७९ को निर्वाचन सकिएको ९ महिनापछि खस्किएको साख फर्काउने प्रयत्नस्वरुप माओवादी गाउँ पसेको हो ।

२०६४ को पहिलो प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी बनेको माओवादी । तर, ०७९ को निर्वाचनमा गठबन्धन गर्दा पनि ३२ सिटमा खुम्चन पुग्यो ।

पार्टी पुनर्गठन गर्न माओवादीले गएको भदौ १६ गतेबाट तीन महिने पार्टी रुपान्तरण विशेष अभियान सञ्चालन गरेको छ ।

पार्टी सुदृढीकरण निम्ति पहिले पनि माओवादीले अभियान सञ्चालन गरेको थियो । ती औपचारिकतामा सीमित भएको र यसपालिको अभियान भने भिन्न भएको मााओवादी नेताहरुको दाबी छ । 

माओवादी केन्द्रीय सदस्य तथा सांसद राजन दाहाल अहिलेको अभियानमा फरकपन देख्छन् ।  

Global Ime bank

“पहिले पनि अभियान त सञ्चालन भएकै थियो । त्यो औपचारिकतामा नै सीमित भयो । यो अभियानमा सिंगो पार्टी पङ्ति परिचालन भएको छ,” उनी भन्छन्, “अब माओवादीले फेरि केही गर्छ कि भन्ने जनतामा उत्साह पैदा भएको छ ।”

यो अभियान प्रभावकारी भएको भन्दै माओवादीले अभियानको म्याद पनि एक महिना थप गरेको छ । आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकले अभियानको म्याद थप गर्ने निर्णय गरेको हो । 

पार्टीका सचिव दिनानाथ शर्माका अनुसार, अब अभियान पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

“अभियानबारे बैठकमा समीक्षा भयो । अभियानमा ८० प्रतिशत कार्यकर्ता खटिनुभएको छ भन्ने ब्रिफिङ पनि भएको छ । समयावधि बढाउन साथीहरुले माग पनि गरिरहनुभएको थियो,” शर्माले भने ।

माओवादीले केन्द्रीय सदस्यहरुलाई वडा तहमा नै खटाएको छ । उनीहरुलाई प्रत्येक घर–घरमा पुग्न निर्देशन दिइएको छ । 

अभियानअन्तर्गत पार्टीमा आन्तरिक बैठक बस्ने, कमिटी गठन, पुनर्गठन गर्ने काम भइरहेको केन्द्रीय सदस्य सूर्य सुवेदी बताउँछन् । कीर्तिपुरमा खटिएका सुवेदीले आफ्नो कार्यक्षेत्रमा १०० भन्दा बढी बैठक राखिसकेको जानकारी दिए ।

“पार्टीको कमिटी गठन पुनर्गठन भइरहेको छन् । जनताको घर–दैलो, टोलमा पुगिरहेका छौं । जनताका कुरा सुनेका छौैैं, पार्टीले गरेका कामको जानकारी गराएका छौं,” उनी भन्छन् । 

घर–दैलोमा पुग्दा जनतामा पार्टी, नेताको कार्यशैलीप्रति आक्रोश र निराशा पाएको उनले बताए । तर, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको भ्रष्टाचारविरुद्धको अभियानले भने उत्साह पैदा भएको उनी बताउँछन् । 

“जनयुद्धबाट आएको पार्टीका नेताहरुलाई सच्चिन कार्यकर्ताको सुझाव छ । भ्रष्टाचारविरुद्धका अभियानले जनतामा आशा पलाएको छ,” सुवेदी बताउँछन् ,“सच्चिएर जनताको पक्षमा काम गर्ने पार्टी माओवादी नै हो भन्ने भएको छ । पार्टीमा सुधार्न पर्ने धेरै कुरा छन् । यो अभियान सुरुवात हो ।”

केन्द्रीय सदस्य दाहाल पनि जनतामा आशंकासहितको उत्साह देखिएको बताउँछन् । 

“जनतासँगको सम्बन्ध बीचमा बिग्रिएकै थियो । चिसिएको सम्बन्ध प्रगाढ बनाउन यो अभियानले मद्दत गरेको छ । जनतामा अब पार्टीले के गर्ला र भन्ने आशंकासहितको अपेक्षा देखिएको छ,” उनी भन्छन्, “पार्टीविरुद्ध फैलाइएका भ्रम र आशंका हटाउँदै अघि बढ्नुपर्छ ।”

अभियानका क्रममा बाटो–घाटो सरसफाई, बाटो निर्माण, अन्तक्रिया, चियापान कार्यक्रमलगायतका गतिबिधि भइरहेको उनले जानकारी दिए । 

“सरकारले गरेका कामको प्रचार भएको छ । निष्क्रिय जस्तै रहेको पार्टी पंक्तिलाई सुदृढ गर्ने काम भएको छ,” दाहाल बताउँछन्, “सरकारलाई जनतासँग जोड्ने, जोखिम मोलेर काम गर्ने र हामी जनताका छोराछोरी हौं भन्नेसहित जनतामा उत्साह ल्याउन यो अभियानले मद्दत गरेको छ ।”

अभियान सकिएपछि माओवादीले पार्टी विधान सम्मेलन गर्दैछ ।  पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन विधान सम्मेलन गर्न लागिएको नेताहरु बताउँछन् । 

जनताका गुनासै गुनासा 
अभियानका क्रममा बस्तीमा पुगेका नेता–कार्यकर्तासँग मतदाताले गुनासाका पोका फुकाएका छन् । जनयुद्धको जगबाट आएको पार्टीका नेताहरुको जीवनशैलीप्रति जनताले आक्रोश पनि पोखेका छन् । पार्टीले उठाएका एजेन्डा स्थापित भए पनि जुन वर्गको प्रतिनिधित्व गर्नुपर्ने हो त्यसअनुसार हुन नसकेको भन्दै निराशा व्यक्त गरेको एक नेताले बताए । 

“माओवादी पार्टी स्थापित छ । माओवादीका ऐजेन्डा अनुसार नै अघि बढेको छ । तर, नेता स्थापित हुन सकेनन्,’’ ती नेताले भने । 

उनका अनुसार, पहिले अरु पार्टीबाट आएका कार्यकर्तालाई नेता मानियो । उनीहरुले अवसरको चरम दुरुपयोग गरे । हामीले हाम्रो वर्गबाट नेता बनाउन सकेनौं । बनिबनाउ नेता खोजेर ल्याएर भएन । अब आफ्नै वर्गबाट नेतृत्वको विकास गर्नुपर्छ । आयातित नेताले चल्दैनन्  । नेताहरु ओजिलो बन्नुपर्यो ।

त्यस्तै पार्टीका नेताहरुको शैली अरु भन्दा फरक देखिन नसकेको भन्दै त्यसलाई चिर्न घरदैलोबाट सुझाव आएको केन्द्रीय सदस्य सुवेदीले बताए । 

“जनयुद्ध गरेर आएको पार्टीले समस्या जादूको छडीले हल गर्ला भन्ने थियो । अपेक्षाअनुसार खरो रुपमा उत्रिन सकेन,” घरदैलोका गुनासा उद्धृत गर्दै उनी भन्छन्, “माओवादी कांग्रेस वा अरु पार्टीजस्तो बन्न खोज्यो । अरु पार्टीभन्दा तात्विक भिन्नता रहेन । नेताहरुको कार्यशैली उस्तै बन्यो । जनताको पार्टी बन्न सक्नुपर्छ । सच्चिनुपर्छ भन्ने आम सुझाव पाएका छौं ।”

पहिले गरेका वाचा पूरा नभएकाले पनि निर्वाचनमा भोट घट्दै गएको माओवादी नेताहरु स्वीकार गर्छन् । यस पटकको अभियानबाट आगामी निर्वाचनमा मत बढाउने लक्ष्य माओवादीको छ । 

अभियानमा गएका नेताहरुले पार्टीले गरेका कामको प्रचार, अब गर्नुपर्ने काम, जनयुद्धका सहिद परिवार, घाइतेहरुको अपेक्षा र सुझाव संकलन गरिरहेका छन् । यस पटकको अभियानले उत्साह पैदा गरेको समीक्षा माओवादीको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu