site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासको भूमिगत ‘सहर’ निसानामा

जेरुसेलम । प्यालेस्टाइनी लडाकुलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजापट्टीमा हमासको सुरुङको विशाल सञ्जाललाई मुख्य निसाना बनाइएको विज्ञले बताएका छन् ।

इजरायली सेनाले शुक्रबार गाजामा रातको समयमा १५० ‘भूमिगत लक्ष्य’मा आक्रमण गरेको र त्यसले ‘आतंकवादीको सुरुङ’ र ‘जमिनमुनिका लडाकु स्थानहरू’ ध्वस्त पारेको तथा हमासका लडाकुहरू मारिएका जनाएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार ४०० जनाको ज्यान लिएको इजरायलले जनाएको छ । सेनाले गाजा क्षेत्रको सुक्खा शिविरमा युद्ध प्रशिक्षणलाई तीव्र बनाएको छ ।

Argakhachi Cement Island Ad

इजरायलले इजरायलबाट अपहरण गरिएका २२० भन्दा बढी व्यक्तिलाई सुरुङमा राखिएको पनि जनाएको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार तीन हप्ताको युद्धमा इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी बालबालिकासहित सात हजार ७०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

हमासको सैन्य शाखाले आक्रमणमा करिब ५० जना बन्धक मारिइसकेको जिकिर गरेको छ । तर, यसलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

इजरायली जेटहरूले विशाल सुरुङ नेटवर्कका केही भागमा प्रहार गरेका छन् । त्यो हमासले वर्षौँदेखि निरन्तर विकास वा पुनर्निर्माण गरेको थियो । यसलाई इजरायली सैनिकले अक्सर ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्छन् ।

करिब ४० किलोमिटर लामो गाजामा ५०० किलोमिटर (३०० माइल) सम्म फैलिएको उक्त क्षेत्रलाई ध्वस्त पार्न सेनाले निरन्तर नयाँ हतियारको खोजी गरिरहेको छ ।

इजरायली दैनिक मारिभले अक्टोबर ७ को आक्रमणपछि व्यापक रूपमा अपेक्षित भूमि आक्रमणको तयारी गरिरहेका बेला यसै हप्ता यसलाई ‘भूमिगत नरक’ भनेको छ ।

हमासले अहिलेसम्म रिहा गरेका चार बन्धकमध्ये एक ८५ वर्षीया योचेभेद लिफशिट्जले इजरायल फर्केपछि आफू सुरुङको ‘माकुराको जालो’मा हिँड्न बाध्य भएको बताएकी छन् ।

अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टका मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक सहरहरूमुनि एउटा अर्को सहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए ।

सैन्यविज्ञका अनुसार हमासले आफ्नो नेतृत्व, लडाकु, मुख्यालय, सञ्चार, हातहतियार, पानी, खाद्यान्न, गोलाबारुदजस्ता आपूर्तिलाई स्थलगत आक्रमणको तयारीका निम्ति आफ्नो सुरुङ परिसरमा राखिसकेको छ । यी सुरुङमा आफ्नै विद्युत् आपूर्ति, भेन्टिलेसन र खाद्यान्न तथा पानीको मौज्दात रहेको पर्यवेक्षकले बताएका छन् ।

वासिङटनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विश्लेषक तथा अवकाशप्राप्त अमेरिकी सेनाका जनरल मिक रायनले भने, “हमासले आफ्नो भूमिगत सञ्जालको फाइदा उठाउँदै लडाकुलाई सही समयमा सही ठाउँमा सार्न सक्छ वा उनीहरूलाई प्रभावकारी रूपमा सम्हाल्न नसक्ने खतराबाट टाढा लैजान सक्छ ।”

इजरायलले विशेषज्ञ कमान्डो इन्जिनियरहरूलाई सुरुङ पत्ता लगाउन र नष्ट गर्न तालिम दिएको पश्चिमी विज्ञले बताएका छन् । सेनाले भूमिगत रूपमा काम गर्न कुकुरलाई विशेष तालिम समेत दिएको छ ।

स्पेन्सरले भने, “यसको याहलोम एकाइ यो विश्वको सबैभन्दा ठूलोमध्ये एक हो, जसले भूमिगत युद्धको सामना गर्न प्रशिक्षण, मानव, सुसज्जित, प्रयोग र नयाँ तरिका विकास गर्छ ।” रासस/एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्