site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साढे १५ सय नेपाली रहेको लेबनानको भ्रमण नगर्न शक्ति राष्ट्रले भनिसके, के गर्दै छ नेपाल ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टिन चरमपन्थी समूह हमासले असोज २० गते इजरायलमा आक्रमण गरेपछि पश्चिम एसियामा तनाव बढ्दो छ ।

इजरायलले गाजामा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ भने सँगसँगै लेबनानको चरमपन्थी समूह हिजबुल्लाहविरुद्ध पनि लडिरहेको छ ।

हमासले इजरायलमा आक्रमण गरेपछि हिजबुल्लाहले उक्त आक्रमणको समर्थन गर्दै लेबनानबाट इजरायलमा रकेट आक्रमण गरिरहेको छ । बदलामा इजरायलले हिजबुल्लाह रहेको शंकास्पद स्थानहरूमा हवाई आक्रमण गर्दै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

असोज २० गतेयता हमास र इजरायलबीचको युद्धमा पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ, जसमा १० जना नेपाली विद्यार्थी पनि परे । हजारौँ घाइते भएका छन् ।

इजरायलले पछिल्लो पटक गाजामा हमासविरुद्ध र लेबनानमा हिजबुल्लाहविरुद्ध एकै पटक लडिरहेको छ । आगामी केही दिनभित्रै इजरायलले गाजा र लेबनानमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेको छ ।

Global Ime bank

इजरायलले लेबनानसँग सीमानजिक रहेका इजरायली बस्तीलाई सार्न थालेको छ । त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिसकेपछि इजरायलले लेबनानमा रहेका हिजबुल्लाहविरुद्ध स्थल र हवाई आक्रमण एक साथ गर्ने विश्लेषण धेरैले गरेका छन् ।  

यसैको भेउ पाएर शक्ति राष्ट्रहरू अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र फ्रान्स छुट्टा छुट्टै ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न भनिसकेका छन् ।

हिजबुल्लाह र इजरायली सेनाबीच रकेट, मिसाइल र गोली हानाहाना भएकाले अमेरिकाले आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न भनेको हो ।

पश्चिमी राष्ट्रहरूले इजरायलको समर्थन गरेपछि हिजबुल्लाहका कार्यकर्ताहरूले ती देशको दूतावास अगाडि प्रर्दशन गर्दै आएका छन् । अष्ट्रेलियाले जुनसुकै बेला जुनसुकै स्थानमा आतंकवादी आक्रमण हुन सक्ने भन्दै आफ्ना नागरिकलाई लेबनान नजान भनेको छ ।

हिजबुल्लाह को हुन् ?
हिजबुल्लाह– शिया मुस्लिमहरू आवद्ध राजनीतिक पार्टीको नाम हो । यो अर्धसैनिक संगठन पनि हो । हमासलाई जस्तै हिजबुल्लाहलाई पनि इरानको समर्थन छ । सन् १९९२ देखि हिजबुल्लाहको नेतृत्व हसन नसरुल्लाहले गर्दै आएका छन् ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार, सन् १९८० मा इजरायलले लेबनान कब्जा गरेका बेला इरानको आर्थिक तथा सैन्य सहायतामा हिजबुल्लाहको स्थापना भएको थियो । लेबनानको दक्षिण भू–भाग (इजरायलसँग सीमा जोडिएको स्थान) मा हिजबुल्लाहको पकड रहेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध हुँदा राष्ट्रपति बशर अल–असदको समर्थनमा हिजबुल्लाहले हजारौँ आफ्ना लडाकु पठाएको थियो ।

सन् २००८ मा पश्चिम समर्थित लेबनान सरकारले हिजबुल्लाको निजी सञ्चार नेटवर्क बन्द गरिदिएको थियो । त्यसपछि हिजबुल्लाहले राजधानी बेरुतको अधिकांश स्थानलाई कब्जामा लिएको थियो । सन् २००९ मा भएको निर्वाचनमा हिजबुल्लाहले १० सिटमा जितेको थियो ।

लेबनानमा कति छन् नेपाली ?
इजिप्टस्थित नेपाली दूतावासका अनुसार, लेबनानमा करिब एक हजार ६०० नेपाली छन् । लेबनानसमेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालका अनुसार वैदेशिक रोजगारीका क्रममा ७०० नेपाली त्यहाँ कार्यरत छन् ।

लेबनानमा नेपाली सेना पनि छन् । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ युनिफिल मिसन लेबनानमा ८७४ नेपाली शान्ति सैनिक तैनाथ छन् । नेपाली सेना लेबनान र इजरायलको सीमा क्षेत्रमा लेबनानी भू–भागतिर छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर ५४ नेपाली लेबनानमा काम गर्न गएका थिए । यसरी जानेमा ३७ जना महिला र १७ जना पुरुष थिए । आर्थिक वर्ष २०७८/७९ मा ५७ जना नेपाली श्रम स्वीकृति लिएर लेबनान पुगेका थिए ।

इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्ध चर्किए लेबनानमा रहेका नेपालीलाई उद्धार गरी ल्याउनुपर्ने अवस्था आउन सक्छ । केही दिनअघि मात्र सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएर इजरायलबाट २५४ विद्यार्थीलाई उद्धार गरी ल्याएको थियो ।

यसअघि पनि सरकारले यस्तै प्रकारका युद्ध हुँदा सुडान, लिबिया, इराक, अफगानिस्तान लगायतका देशबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याउनु परेको थियो ।

के गर्दै छ सरकार ?
शक्ति राष्ट्रहरूले आफ्ना नागरिकलाई लेबनान नजान भनिरहेका छन् । त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार भने सुरु गरेका छैनन् । इजरायलले पनि हिजबुल्लाहमाथि जवाफी कारबाही मात्र गरिरहेको छ । इजरायल आक्रामक रूपमा अघि बढिसकेको छैन ।

लेबनानको सीमा नजिक रहेका आफ्ना जनतालाई अन्यत्र सुरक्षित स्थानमा सार्ने काम सकेपछि इजरायलको आक्रामक रूप देखिन सक्छ ।

इजरायल र हिजबुल्लाह दुवै आक्रामक रूपमा अघि बढे त्यहाँ रहेका नेपालीको आपतकालीन उद्धार गर्नुपर्ने अवस्था आउनेछ । इजिप्टमा रहेको नेपाली दूतावास र राजदूत लम्सालले यसको गम्भीरता बुझिसकेका छन् । त्यसो त, राजदूत लम्सालसँग केही महिनाअघि मात्र सुडानबाट नेपालीको सफल आपत्कालीन उद्धार गरेको अनुभव पनि छ । उक्त अनुभव लेबनानमा काम आउन सक्छ ।

“दूतावास र बेरुतस्थित अवैतनिक कन्सुलेटले लेबनानमा विकसित परिस्थितिको निरन्तर अनुगमान गरिरहेको छ,” इजिप्टका लागि नेपाली राजदूत लम्सालले बाह्रखरीसँग भने, “लेबनानमा रहेका नेपालीहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।”

लेबनानस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासले पनि बुधबार आफ्नो फेसबुक पेजमा सूचना राख्दै लेबनानको पछिल्लो अवस्था नियालिरहेको बताएको छ ।

“हामी तपाईंहरूलाई आश्वासन दिन चाहन्छौँ कि वाणिज्य दूतावासले लेबनानमा विकसित पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र इजिप्टस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको छ । कुनै आकस्मिक परिस्थितिमा दूतावासले तपाईंलाई सूचना दिनेछ । अहिले चिन्ता लिनु आवश्यक छैन,” लेबनानका लागि नेपाली अवैतनिक दूत मोहम्मद गोजायलले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement