नेपथ्यबाट
अस्तित्वमा छ, अदृश्य ज्यादा
विराजमान सर्वत्र सायद
अमूक जो छ अमूर्त ज्यादा
खण्डित मीमांसा दण्डित भाव ।
सुषुप्त कहिले, विलुप्त कहिले
जागृत हुँदामा जगत् त्रस्त
पोखिन्छ प्रलय, रोकिन्छ सृष्टि
आवेग जसको आदेश शिरोपर ।
बीउ उसैको, बारी उसैको
कथा उसैको, पटकथा उसैको
शैशव उसैको, जवानी उसैको
पर्दापछाडि लगानी उसैको ।
नेपथ्यमा छ निवास जसको
आतिथ्य गर्छ नेपथ्यबाटै
विशिष्ट जे छ निर्देशन उसको
नेपथ्यबाट नेपथ्यसम्म ।
०००
तृष्णा खण्डखण्ड
केन्द्र खोज्ने कष्ट किन, स्वयम् हो केन्द्र
स्वयम्बाट सुरु हुन्छ स्वयम्सँग द्वन्द्व
द्वन्द्व अनेक बढ्दै जाँदा विवेक मन्दमन्द
चिहानभित्र पनि वास, तृष्णा खण्डखण्ड ।
सूत्र खोज्न टाढा किन, स्वयम्भित्र सूत्र
धेरैजसो भुस मात्र, गुदी थोरै भित्र
भुस पनि काम लाग्छ संकटमा मित्र
गुदी अनि गुह्य बेकार नबुझ्दामा मात्र ।
खुसी खोज्न टाढा किन, स्वयम्भित्र खुसी
खुसी बासी भएपछि मन स्वतः दुःखी
उदाउँदो प्रकाशपुञ्ज संसारले ढोग्छ
मैदान छ फराकिलो, घुम्न कसले रोक्छ ?
दाता खोज्दै हिँड्नु किन, स्वयम् बन्नु दाता
छाता ओढ्दै हिँड्नु किन, स्वयम् बन्नु छाता
भक्त अनि भगवान्को के हो परिभाषा ?
विधाताको खोजी किन, स्वयम् हो विधाता ।
(मानवअधिकारकर्मी पहाडीको ‘जलमा हलचल सूक्ष्मको’ कविताकृति बाट ।)