site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक 

काठमाडौं । सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । 

फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो । अनौठो यस अर्थमा, त्यस्तो घोषणा विश्वका अन्य देशहरूबाट विरलै सुन्न पाइन्छ । फ्रान्स सरकारले उडुसविरुद्ध संगठित रूपमा लड्ने घोषणा गरेपछि हो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो सम्पन्न युरोपेली मुलुक चर्चाको विषय बनेको । 

सामान्यतया, ओछ्यानको कुना–काप्चामा बस्ने उडुसले अहिले फ्रान्समा आतंक नै मच्चाइरहेको छ । सार्वजनिक यातायात, अस्पताल, सिनेमाघर र केही विमानस्थलमा पनि उडुसले उत्पात मच्चाउन थालेको छ । 

उडुसले उत्पात मच्चाउन थालेपछि फ्रान्स सरकारले यसविरुद्ध लड्ने ठोस प्रयासका लागि सार्वजनिक घोषणा नै गर्नुपरेको हो । 

मानव शरीरबाट रगत चुस्ने यो परजीवी अहिले पेरिस मेट्रो, उच्च गतिका ट्रेनहरू र पेरिसको चाल्र्स डे गुएल विमानस्थलमा छ्याप्तछ्याप्ती देखिन्छन् । यात्री तथा पर्यटकहरूले सामाजिक सञ्जालमा हालेको यसको भिडियो सामाजिक सञ्जालभरी छन् ।

“फ्रान्सले सन् २०२४ को ओलम्पिक र पारालम्पिक आयोजनाको तयारीलाई तीव्र बनाइरहँदा राज्यले यस (उडुस) विरुद्ध तत्कालै योजना कार्यान्वयन गर्न आवश्यक छ,” फ्रान्सको राजधानीका उपमेयर इमानुयल ग्रेगोइरले प्रधानमन्त्री इलिजाबेथ बोर्नेलाई लेखेको पत्रमा उल्लेख छ । 

फ्रान्समा उडुसको समस्या कहिलेदेखि सुरु भयो ?
गएको गर्मीदेखि मानिसहरूले सिनेमाघरमा उडुस देखिएको भन्दै अनलाइनमार्फत गुनासो पोख्न थालेका थिए । उनीहरूले त्यसबेलादेखि नै सामाजिक सञ्जालमा उडुसका फोटोहरू सार्वजनिक गरेका थिए । हाल, स्थानीय र पर्यटकहरूले घर, होटेल, मेट्रो रेल, उच्च गतिका ट्रेन र विमानस्थलमा पनि उडुस देखिएको भिडियो सार्वजनिक गरिरहेका छन् ।

पेरिसमा उडुस पहिलो पटक देखिएको हो ?
फ्रान्समा उडुस यति धेरै मात्रामा देखिएको यो पहिलोपटक भने होइन । सन् १९५० को दशकमा फ्रान्सबाट उडुस उन्मुलन भइसकेको मानिन्थ्यो । तर, पछिल्ला वर्षयता पुनः देखिन थालेको छ । फ्रान्सको खाद्य, वातावरण र व्यवसायिक स्वास्थ्य सुरक्षामा काम गर्ने एजेन्सी एन्सेसले सन् २०१७ देखि २०२२ सम्म १० हजारभन्दा धेरै घरहरूमा उडुस भेटिएको तथ्यांक सार्वजनिक गरेको छ ।

विज्ञहरूका अनुसार सन् २०१८ मा चार लाखभन्दा धेरै ठेगानाहरूमा उडुसविरुद्धको कार्य गरिएको बताएका छन् । सन् २०२० मा फ्रान्स सरकारले उडुसविरुद्ध लड्नका लागि एक अभियानको सुरुआत गरेको थियो । जसमा उडुसविरुद्ध लड्न हटलाइन र वेवसाइट समेत खोलिएको थियो ।

उडुसविरुद्ध लड्न पेरिस के गर्दैछ ?
अहिले फ्रान्सको राजधानी पेरिसले यसविरुद्ध लड्न सुरुआती चरणका कामहरू गरिरहेको छ । पेरिस सिटी हलले गत बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारलाई एक समर्पित टास्क फोर्स बनाएर संक्रमणलाई नियन्त्रणमा मद्दत गर्न आग्रह गरेको छ । यातायातमन्त्री क्लेमेन्ट बेउनेले शुक्रबार यसविरुद्ध लड्ने प्रणालीबारे छलफल गर्न अर्को हप्ता यातायात सञ्चालकहरूसँग छलफल गर्ने बताएका थिए । 

उपमयेर ग्रेगाइरले कम आय भएका मानिसहरूले कीट नियन्त्रण फर्मलाई मूल्य तिर्न नसक्ने हुँदा बिमाकर्ताहरूलाई घरको बिमा नीतिमा उडुसलाई पनि समावेश गर्न आग्रह गरेका छन् । 

ग्रेगाइरले पेरिसमा यसअघि पनि उडुस रहेकाले बिमा नीतिलाई निरन्तरता दिने बताएकी छन् । उनले आगामी वर्षको जुलाई अन्तिममा पेरिस ओलम्पिक सुरु हुने हुँदा त्यसअघि उडुस आतंकलाई हटाउन सबै मिलेर कार्य गर्न आग्रह गरेकी छन् ।

तर, प्रागमा रहेको चेक युनिभर्सिटी अफ लाइफ साइन्सेजको उडुसबारे अनुसन्धान टोलीका प्रमुख ओन्डरेज बाल्भिनले पेरिसलाई उडुसको समाधान गर्न गाह्रो हुने बताए ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro