site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित
फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियालीको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ । 

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।

जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । 

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ । जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो ।

मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

त्यसअघि नेपालका कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरेका कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर बने । 

यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए । यसबाहेक, कप्तान रोहितकुमार पौडेलले २७ बलमा दुई चौका र ६ चौकासहित ६१ रन बनाए । 

दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाए । दीपेन्द्रले नौ बलमै अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए । दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बनेका हुन् ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफले क्रमशः १९ र १६ रन जोडे । 

मंगोलियाका लुभसान्जुडुइ एर्डेनेबुल्गान, दाभासुरेन जमयानसुरेन र मुगुन अल्तानखुयागले समान एक विकेट लिए ।

नेपालले अब समूह ए मा आइतबार माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro