site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको चीन भ्रमण : के छ १३ बुँदे संयुक्त विज्ञप्तिमा ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज ६ गतेबाट सुरु भएको चीन भ्रमण जारी छ । उनी असोज १३ गते स्वदेश फर्कने कार्यक्रम रहे पनि महत्वपूर्ण भेटवार्ता भने सकिएका छन् । महत्वपूर्ण भेटवार्ता सकिएकै कारण मंगलबार बिहान नेपाल र चीनले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

विज्ञप्तिमा १३ बुँदामा भ्रमणको दौरान भएका महत्वपूर्ण उपलब्धीहरुलाई समेटिएको छ । 

सोमबार बेइजिङमा दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय बैठकपछि नेपाल र चीनबीच १२ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । संयुक्त विज्ञप्तिमा सोमबार भएका सहमतिभन्दा पनि छलफलका क्रममा भएका अन्य सहमतिलाई बढी प्राथमिकता दिइएको छ ।

Dabur Nepal
NIC Asia

१) भएका सम्झौताको कार्यान्वयनमा जोड

संयुक्त विज्ञप्तिमा नेपाल र चीनबीच यसअघि भएका सन्धि, सम्झौता तथा समझदारीपत्रको कार्यान्वयनमा जोड दिने उल्लेख छ । नेपाल र चीनबीच चार दर्जनभन्दा बढी सन्धि, सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

धेरै ती सम्झौता तथा समझदारीपत्रहरु काजममै सीमित भएका छन्, कार्यान्वयन भएका छैनन् या सुस्त गतिमा अघि बढेका छन् । 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा त्यस्ता सम्झौता तथा समझदारीपत्रको कार्यान्वयनमा जोड दिइएको छ । “शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तका आधारमा दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमति र हस्ताक्षर भएका सम्झौताको कार्यान्वयनलाई थप गति दिन दुवै पक्ष सहमत भएका छन्,” संयुक्त विज्ञप्तिमा भनिएको छ । 

२) नेपाल ‘ताइवानको स्वतन्त्रता’ विरुद्ध  

यसपटक जारी गरिएको संयुक्त विज्ञप्तिमा ताइवानलाई विशेष प्राथमिकता दिइएको छ । सम्भवतः संयुक्त विज्ञप्तिमा नेपाल पहिलो पटक ‘ताइवानको स्वतन्त्रता’ को विरुद्धमा उभिएको छ ।   “चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी स्वीकार गर्दै नेपाली पक्ष ‘ताइवानको स्वतन्त्रता’ को विरुद्धमा छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ । 

नेपालले तिब्बत मामिला चीनको आन्तरिक मामिला भएको भन्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्‍याएको छ । यसअघिका भ्रमणहरुमा जारी हुने संयुक्त विज्ञप्तिमा नेपालले सामान्य रुपमा एक चीन नीतिप्रति प्रतिवद्धता मात्र दोहोर्‍याएको हुन्थ्यो । 

तर यसपटक भने ‘ताइवानको स्वतन्त्रता’ को विरुद्ध आफू रहेको नेपालले स्पष्ट सन्देश दिएको छ । सन् २०१९ अक्टोबर १२ देखि १३ सम्म चिनियाँ राष्ट्रपति सी चिनफङले नेपालको भ्रमण गर्दा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको थियो, “नेपाली पक्षले ताइवान चिनियाँ भूभागको अविभाज्य हिस्सा भएको र तिब्बतको मामिला चीनको आन्तरिक मामिला भएको स्वीकार गर्दै एक चीन नीतिप्रति दृढ प्रतिवद्धता दोहोर्‍याएको छ र आफ्नो भूमिमा कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने दृढ संकल्प गरेको छ ।” 

यसअघि प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले सन् २०१८ जुन १९ देखि २४ सम्म चीनको भ्रमण गर्दा जारी भएको संयुक्त विज्ञप्तिमा पनि ताइवानको स्वतन्त्रताको कुरा उल्लेख गरिएको थिएन । “नेपाली पक्षले तिब्बत र ताइवान मामिला चीनको आन्तरिक मामिला भएको भन्दै एक चीन नीतिप्रति दृढ प्रतिवद्धता र आफ्नो भूमिमा कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने दृढता दोहोर्‍याएको छ,” सन् २०१८ मा जारी संयुक्त विज्ञप्तिमा भनिएको थियो । 

३) बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिने 

संयुक्त विज्ञप्तिमा नेपाल र चीनले छिट्टै बेल्ट एण्ड रोड इनिर्सिटिभ (बीआरआई) कार्यान्वयन योजनालाई अन्तिम रुप दिने प्रतिवद्धता जनाएका छन् । 

नेपाल र चीनबीच सन् २०१७ मे १२ मा चीनको महत्वकांक्षी योजना बीआरआई सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको ६ वर्ष बित्दा पनि बीआरआई अन्तर्गतको एउटा पनि परियोजना नेपालमा सुरु हुन सकेको छैन । 

नेपालले बीआरआई अन्तर्गत निर्माण गर्न ९ वटा परियोजना छनोट गरेको भए पनि दुई देशबीच त्यसमा सहमति जुटेको छैन । संयुक्त विज्ञप्तिमा बीआरआई कार्यान्वयन योजनालाई छिट्टै अन्तिम रुप दिन परामर्शलाई तीव्रता दिने प्रतिवद्धता जनाइएको छ । 

प्रतिवद्धता गरेअनुसार कार्यान्वयन योजना बने बीआरआई अन्तर्गत नेपालमा परियोजना सुरु हुनेछन् । 

४) दुईवटा बन्दरगाह चाँडै खोलिने 

संयुक्त विज्ञप्तिअनुसार नेपाल र चीन नयाँ दुईवटा बन्दरगाह चाँडै खोल्न सहमत भएका छन् । नयाँ बन्दरगाहमा चेन्ताङ–किमाथाङ्का र रिवु–ओलाङचुङ्गोला रहेका छन् ।

  “दुवै पक्ष चेन्ताङ–किमाथाङ्का, रिवु–ओलाङचुङ्गोला बन्दरगाहलाई चाँडै खोल्नका लागि सहमत भएका छन्,” विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, पुलान र जिलोङ बन्दरगाहमा यात्रु र कार्गो सेवाको सहज र व्यवस्थित सञ्चालनको दुवै पक्षले प्रशंसा गरेका छन् । चिनियाँ पक्षले लिजी–नेचुङ बन्दरगाहको नेपाली पक्षको सुविधालाई यथाशीघ्र सुधार गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएको छ । चिनियाँ पक्षले योग्य परम्परागत चीन–नेपाल सीमा व्यापार नाकाहरू चाँडै पुनः खोल्ने प्रक्रिया सुरु गर्ने समेत विज्ञप्तिमा उल्लेख छ । 

५) टोखा–छहरे सुरुङ मार्ग/ क्रस–बोर्डर रेलवे

संयुक्त विज्ञप्तिमा यसपटक पनि टोखा–छहरे सुरुङ मार्ग र क्रस–बोर्डर रेलवेलाई समेटिएको छ । 

टोखा–छहरे सुरुङमार्ग आयोजनाले दुई देशबीचको कनेक्टिभिटीको स्तरलाई उचाइमा पुर्‍याउने दाबी गर्दै सम्भाव्यता अध्ययनलाई तीव्रता दिन दुवै पक्ष सहमत भएको विज्ञप्तिमा जनाइएको छ । दुवै पक्षले जिलोङ/केरुङ–काठमाडौं क्रस–बोर्डर रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन् । 

यसकार्यलाई थप तिव्रता दिन चीन–नेपाल रेल वे सहयोग सम्बन्धी आठौं कार्य समितिको बैठक चाँडो योजना गर्नेमा दुर्व देश सहमत भएका छन् । चिनियाँ पक्ष नेपालका रेलवे कर्मचारीलार्य आवश्यक व्यवसायीक तालिम दिन सहयोग गर्न पनि तयार भएको विज्ञप्तिमा उल्लेख छ । 

६) रसुवागढी–केरुङ २२० केभी क्षमताको प्रसारणलाइन निर्माण

नेपाल र चीन दुवै पक्षले ऊर्जाको क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सब–स्टेसनको निर्माण कार्यलाई बढावा दिनेमा सहमति भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।  

यसअन्तर्गत यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारणलाइन चीनतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ । नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि आवश्यक समझदारी भएको हो । 

पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिनेछ । नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरिनेछ । 

चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ । दुवै पक्षले चाँडोभन्दा चाँडो संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन–नेपाल विद्युतीय ऊर्जा सहयोग योजनालाई अन्तिम रूप दिने कुरामा सहमति जनाएका छन् ।

७) चीनबाट विद्युत् आयात 

नेपालको उत्तरी दुर्गम गाउँहरुमा रहेको विद्युतको आवश्यकता पूर्ति गर्न चीनबाट विद्युत् आयात गर्ने विषयलाई पनि संयुक्त विज्ञप्तिमा समेटिएको छ । 

विज्ञप्तिमा नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालको उत्तरी दुर्गम गाउँहरूमा विद्युतीकरण गर्न बिजुली आपूर्ति गर्न अनुरोध गरेको उल्लेख छ । नेपाली पक्षले गरेको अनुरोधलाई सकारात्मक रूपमा विचार गर्ने चीनको भनाई छ । 

व्यावसायिक सर्तमा उपकरण वा प्रविधि उपलब्ध गराउने विषयमा विचार गर्न चीन सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।

८) कृषि औद्योगिक प्रदर्शनी पार्क

संयुक्त विज्ञप्ति अनुसार नेपाल र चीन कृषि क्षेत्रको सहकार्यलाई थप प्रवद्र्धन गर्न संयुक्त रुपमा कृषि औद्योगित प्रदर्शनी पार्क निर्माण गर्नेमा सहमत भएका छन् । 

प्रदर्शनी पार्क बनाउने स्थान छनोट र सहयोग प्रस्तावका विषयमा आवश्यक तयारीका विषयमा नेपालले काम गर्ने जनाइएको छ ।

९) भैंसीको मासु चीनमा निर्यात 

चीन नेपालबाट भैंसीको मासु आयात गर्न तयार भएको विज्ञप्तिमा उल्लेख छ । चीनको भन्सार सम्बन्धी सामान्य प्रशासन कार्यालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच उक्त सहमति भएको हो । नेपालबाट पकाएको भैंसीको मासु आयात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन तयार भएको विज्ञप्तिमा उल्लेख छ । 

यसले नेपालको व्यापार घाटा कम गर्ने विश्वास नेपाल र चीनले व्यक्त गरेका छन् । 

१०) सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा

संयुक्त विज्ञप्तिमा नेपालमा पर्यटक पठाउन चीनले सहयोग गर्ने जनाइएको छ । यसको लागि सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गर्न दुर्व देश सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

चीनमा आयोजना गरिने सांस्कृतिक र पर्यटन आदानप्रदान गतिविधिमा सहभागी हुन र चीनमा पर्यटन प्रवर्धन कार्यक्रमहरू आयोजना गर्न चिनियाँ पक्षले विभिन्न तहमा नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रसँग सम्बन्धीत संस्थाहरूलाई सहयोग गर्ने प्रतिवद्धता चीनले जनाएको छ । 

थप चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्न चीन सहमत भएको छ ।

११) चीनलाई उपहारस्वरुप एकजोडी एकसिंगे गैँडा

नेपालले चीनलाई उपहारस्वरुप एक जोडी एकसिंगे गैँडा दिनेछ । संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा उक्त सहमति भएको जनाइएको छ ।  

“नेपालले दुई देशबीचको दिगो मित्रताको प्रतीकको रुपमा चीनलाई नेपाल सरकार र जनताको तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई उपहारस्वरुप एक जोडी एकसिंगे गैँडा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ । 

१२) चिनियाँ भाषाका शिक्षक नेपाल पठाइने 

संयुक्त विज्ञप्तिमा चीन नेपालमा चिनियाँ भाषा शिक्षाको प्रवर्धनमा सघाउन तयार भएको जनाइएको छ । यसको लागि चीनले नेपालमा थप चिनियाँ भाषाको शिक्षा र स्वयंसेवकहरु पठाउन सहमत भएको छ । 

दुवै पक्षले नेपाल–चीन सांस्कृतिक आदानप्रदान र सहयोगलाई प्रवद्र्धन गर्नको लागि नेपालमा चिनियाँ सांस्कृतिक केन्द्र, कन्फ्युसियस संस्थान र कन्फ्युसियस कक्षालाई निरन्तरता दिन सहमति जनाएका छन् । 

१३) ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालको समर्थन 

चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई नेपालले समर्थन गरेको छ । 

मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त कुरा समेटिएको छ । विज्ञप्तिमा जीडीआई भित्र सहभागी हुन नेपालले विचार गर्ने समेत उल्लेख छ । “नेपाली पक्षले चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई समर्थन गर्दछ र जीडीआई समूहमा सामेल हुन विचार गर्नेछ,” विज्ञप्तिमा भनिएको छ । 

जीडीआईमार्फत चीन नेपालसँग विकासको अनुभव अदानप्रदान गर्न तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu