site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको बताएका छन् ।

सोमबार चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्रियामा उनले आफूसँग नेपाललाई डिजिटल बनाउने सपना रहेको उल्लेख गरे ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले भने, “विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरूपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।”

आफ्नो देश विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेको भन्दै उनले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

नेपालमा चीनका उद्योगी, व्यवसायीले गर्ने लगानीका क्षेत्र धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र सूचना प्रविधि रहेको उनको भनाइ छ ।

नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता उनले सो अवसरमा व्यक्त गरे ।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसहित उनको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायत इलेक्ट्रोनिक वस्तु उत्पादन गर्ने गर्छ । रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्