site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवनको अर्थ खोज्दै जाँदा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

के जिन्दगीको कुनै अर्थ छ ? म को हुँ ? कसले पठायो ? पठाउनुको प्रयोजन के हो ? ईश्वर के हो ? त्यसको घर–ठेगाना कहाँ हो ?
 
भनिन्छ, यी तमाम प्रश्नको उत्तर दिने काम दर्शनको हो । किन्तु, भौतिकशास्त्री स्टिफेन हकिङ भन्छन्, ‘दर्शन त खत्तम भइसक्यो । अब जीवनको अर्थको विवेचना विज्ञानले गर्नेछ । जीवनको प्रयोजन जान्नुअघि जान्नु जरुरी छ, यो ‘फिजिक्स’बाहेक अरू केही होइन ।’

उनको भनाइअनुसार एकबारको जिन्दगी संयोगले प्राप्त भएको हो । अतः सक्दो आनन्द लेऊ र संयोगलाई धन्यवाद देऊ । र, सच्चाइको मार्गलाई किमार्थ परित्याग नगर ।

मनुष्यको दिमाग पनि ब्रह्माण्डजस्तै हो रे ! ब्रह्माण्डमा जति तारा छन्, मनुष्यको दिमागमा पनि त्यति नै संख्यामा कोषिकाहरू छन् रे ! ती कोषिकाले पनि ब्रह्माण्डमाजस्तै विद्युत् चुम्बकीय तरिकाले काम गर्छन् रे ! 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अल्बर्ट आइन्स्टाइन भन्छन्, ‘हामी यस धर्तीमा छोटो भ्रमण गर्न आउँछौँ । परन्तु, कसैलाई थाहा छैन हामी किन आउँछौँ । हामीले आफ्नो दैनिक जीवनबाट बाहिर निस्केर एउटा कुरा बुझ्नु आवश्यक छ । त्यो के भने, मनुष्य यहाँ अर्को मनुष्यका खातिर आएको हो ।’

सर्वोपरि कुरा हाम्रो र हामीमार्फत अरू सबैको जीवनमा खुसी ल्याउनु नै हामी सबैको परम कर्तव्य हो ।

Royal Enfield Island Ad

स्टिफेन हकिङले फेरि भनेका थिए, ‘म शीघ्र मृत्युको भविष्यवाणी बोकेर ४९ वर्षदेखि जीवित छु । मलाई मृत्युुसँग डर लाग्दैन । तथापि, म मरेर जाने हतारमा छैन । मैले मर्नुभन्दा अघि धेरै काम गर्नु छ । यो जीवन जतिसुकै दुःखदायी किन नहोस्, यहाँ गरेर देखाउन सकिने कुरा धेरै छन् ।’

प्राचीन ग्रीक दार्शनिक प्लेटोको विचारमा मनुष्यले एउटा ठूलो अवसर गुमाउँदै आएको छ । मनुष्यले होसियारीपूर्वक ‘आफ्नो बारेमा’ सोच्ने समय निकाल्नै सकेन । त्यसैकारण ऊ गलत मान्यता बोक्दै जिउँछ र जीवन एवम् सम्बन्धहरू सपार्न नसकिकनै चोला समाप्त पार्दछ ।

यो विशाल रंगशालाको निर्माता को होला ? यस जिज्ञासाको उत्तर प्राप्त गर्न वेदान्तले जीवन, जगत् र त्योभन्दा परसम्म निकै खोजी तथा अनुशीलन गरेको छ । जीवनको अर्थ खोज्ने सिलसिलामा मनुष्यले अज्ञातको खोज गर्न थाल्यो ।

त्यो अदृश्य वर्णनातीत शक्ति के हो ? संसारमा दुःख किन छ ? आनन्द प्राप्त गर्न के गर्नुपर्छ ? मनुष्यको मनमा यी जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै थियो, किनकि जीवन त थियो, तर जवाफ थिएन । 

कठोपनिषद् भन्दछ, ‘उत्तिष्ठतः जाग्रतः प्राप्य वरान्निबोधतः । 
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति’ 

अर्थात्, उठ, जाग र वरिष्ठ व्यक्तिबाट बोध प्राप्त गर । छुराको तीक्ष्ण धारमा हिँडेर पार गर्नुसमान छ जीवनपथ ।

वेदान्तले मनुष्य जीवनलाई दुःखको महासागर मानेको छ । यस नश्वर संसारमा जतिजति जन्महरू हुँदै जान्छन्, त्यति नै दुःख झेल्नुपर्छ । बारम्बार जन्मनु र मर्नुको यो दुःखद क्रमलाई समाप्त पार्नु नै आवतजावतबाट मुक्तिको एक मात्र उपाय हो । 

उपनिषद्मा भनिएको छ, ‘असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतम् गमय ।’ 

अर्थात्, हे ईश्वर, हामीलाई असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ र मृत्युुबाट अमरतातर्फ लैजाऊ ।

वैदिक साहित्यमा ‘चरैवेति’ शब्दको उल्लेख भएको पाइन्छ । चरैवेतिको अर्थ हो चलिरहनु । चलायमान हुनु नै जीवन हो भने अचल भएर आलस्यमा समय गुजार्नु मृत्युसरह ।

जीवन कष्टमय छ । जीवनमा हार खान प्रेरित गर्ने अनेकौँ घटना भइरहन्छन् । यदि, निराश हुने हो भने त यो जीवन नै अर्थहीन भएर जान्छ । बितेको समय सम्झेर पछुताउनुको प्रयोजन छैन । भविष्यसँग भयभीत भएर बस्नुको पनि अर्थ छैन । वर्तमानको असल कर्म नै जीवन हो ।

जो आलस्यले ग्रस्त भएर सुत्दछ, उसको भाग्य पनि सुत्दछ । जो अल्छी छ, उसैले नै हो भाग्यलाई धिक्कार्ने । कर्मयोगी त चलिरहन्छ, चलिरहन्छ ।

गीतामा कृष्णले पनि कर्मकै महिमा गाएका छन् । थाकिन्छ, भोक लाग्छ, निद्राले सताउँछ, अवरोध खडा हुन्छन्, तर रोकिनु छैन । रोकिनु समाप्त हुनु हो ।

एकजना विश्वकै धनाढ्य व्यक्तिलाई कसैले प्रश्न गर्यो, ‘तपाईंको सफलताको रहस्य के हो ?’ उनी उत्तर दिन्छन्, ‘परिश्रम’ । 

ऋगवेदमा आधारित ऐतेरिय ब्राह्मणमा राजा हरिश्चन्द्रको कथा छ । राजा हरिश्चन्द्रका अनेकौँ रानी थिए । तर, कुनैले पनि सन्तान जन्माउन सकेनन् ।

एक दिन पर्वत र नारद नाम गरेका ऋषिहरू राजाको दरबारमा आइपुगे । पुत्रविहीन राजाको शोकाकुल हालत देखेर नारद ऋषिले ‘वरुण देवताको प्रार्थना गरे पुत्र प्राप्तिको वरदान पाउन सकिने’ कुरा बताएर गए ।

राजाले वरुणलाई करुण पुकारा गर्दै प्रार्थना गरे । वरुण देवताले ‘नवजात पुत्रलाई यज्ञमा चढाउने’ सर्तमा पुत्र प्राप्तिको वरदान दिए । कालान्तरमा छोरो त जन्म्यो, तर वरुण टुप्लुक्क उपस्थित भइहाले ।

राजाले सूतक लागेको समयमा कसरी यज्ञ सम्पन्न गरौँ ? भनेर टारे । सूतक सकिएपछि वरुण फेरि प्रकट भए । राजाले दाँत नै नउम्रेको छोरोलाई चढाउन नसकिने तर्क गरेर टारे । 

यसैगरी अनेक निहुँ झिक्दै भाका सार्दै गएका राजाले एक दिन भने, ‘हे देव, जब रोहितले क्षेत्रीयोचित युद्धकला सिकेर आउला अनि यजन गर्नेछु ।’

बालक रोहित धनुर्विद्यामा निपुण हुनासाथ देवता टुप्लुक्क आइपुगे । अब कुनै उपाय बाँकी थिएन । राजाले पुत्रलाई बोलाएर भने, ‘अब म तिमीलाई यज्ञको बलिको रूपमा वरुण देवातासमक्ष अर्पण गर्नेछु ।’ 
 
परन्तु, त्यो प्रस्ताव कुमार रोहितलाई स्वीकार्य थिएन । ऊ आफ्ना हातहतियार लिएर वनतिर लाग्यो । देश–देशावर घुम्यो । अनुभव बटुल्दै गयो । जीवन चल्दै गयो । 

त्यहीबीचमा वरुण देवताको कोपका कारण राजा रोगी हुँदै गए । पिता बिरामी भएको थाहा पाएको रोहित पितालाई भेट्न जानुपर्यो भन्ने विचार गरेर घरतिरको बाटो लाग्यो । 

रोहित घरतर्फ जान थालेको थाहा पाएका स्वर्गका राजा इन्द्र ब्राह्मणको भेष धारण गरेर उसका सामु उपस्थित भए । 

इन्द्रले रोहितलाई घर नगएर पुनः देशाटनमा जाने सल्लाह दिए । 
‘नानाश्रान्ताय श्रीरस्तीति रोहित शुश्रुम । 
पापो नृषद्वरो जन इन्द्र इच्चरतः सखा चरैवेति ।’ 

...जो निरन्तर चलिरहन्छ, ईश्वर अर्थात् इन्द्र पनि उसैको सहयोगी हुन्छ । त्यो उपदेश सुनेर रोहित फेरि देशावर जान्छ । यो कथा यत्तिकैमा समाप्त हुँदैन । अगाडि अनेक घटना हुन्छन् । 

यहाँ यो प्रसंगलाई उल्लेख गर्नुको कारण के हो भने जीवन चलायमान हुनु जरुरी छ । सफल त्यही हुन्छ, जो चलिरहन्छ । मनुष्यको जीवनमा बलिको बोका बन्नुपर्ने अनेक परिस्थिति उत्पन्न हुन्छन् । 

यो जीवन विवश राजा हरिश्चन्द्रजस्तै हो र यही जीवन विवशताबीच चलिरहने रोहित पनि । सुख त न हरिश्चन्द्रलाई छ न त रोहितलाई नै । परन्तु, कर्ममा सक्रिय हुनुबाहेक अर्को उपाय पनि त छैन । अतः चरैवेति ।

वैदिक युगीन मनुष्य निकै जिज्ञासु हुने गर्दथ्यो । यस लोकको कष्ट, रोग, वार्द्धक्य र मृत्युबाट हैरान मनुष्यले दुःखबाट मुक्त अर्को संसार ‘स्वर्ग’को कल्पना गर्यो । स्वर्गमा रोग, भोक, शोक र बुढापा हुँदैन, जीवन सुखी र रमणीय हुन्छ भन्ने कल्पना गरियो ।

स्वर्गका देवताहरू इच्छाले जहाँ पनि जान सक्छन्, जे चाह्यो त्यही प्राप्त गर्न सक्छन् । पृथ्वीमा बस्ने मनुष्यले देवताहरूलाई खुसी राख्न सक्यो भने उनीहरूको वरदानबाट यहाँ पनि सुख मिल्छ भन्ने सोचाइको प्रादुर्भाव भयो ।

देवतालाई खुसी पार्न मनुष्यले अनेकौँ यज्ञ गर्न थाल्यो । इन्द्र, अग्नि, वायु, वरुण र रुद्र आदिको आह्वान गर्दै जीवनलाई सरल र सुखी बनाइदिन अनुरोध गर्ने प्रचलन सुरु भयो ।

अनावृष्टि, अतिवृष्टि, बाढी, पहिरो, रोग, दुर्घटना र अकाल मृत्युको कारण देवताको कोप हो भन्ने परिकल्पना गरियो ।

यी अनेकौँ सीमाहरूका बाबजुद त्यस बखतको मनुष्यको मूल लक्ष्य जीवनमा भोग र सोख गर्नु नै थियो । जीवनको परम लक्ष्य नै सांसारिक सुख थियो । वैदिक सिद्धान्तअनुसार गरिने हालका यज्ञहरूको उद्देश्य पनि सकाम नै हुन्छ ।

सन्तान, सम्पत्ति, स्वस्थ शरीर, सक्षम कुटुम्ब, विद्या, बुद्धि, चातुर्य र शत्रुको नाश नै त हो यज्ञको उद्देश्य । स्वर्गको प्राप्ति र सुखका खातिर गरिने समस्त यज्ञहरू पनि  सकाम नै हुन् ।

वैदिक युगको पछिल्लो समय अर्थात् उपनिषद्कालमा प्रेयमार्गको बदला श्रेयमार्ग रोज्ने अभियान सुरु भयो । स्वर्गलाई पनि नश्वर र क्षणभंगुर ठानियो । मोक्षको तुलनामा गृहस्थ जीवनलाई निस्सार ठानियो ।

जीवनको उद्देश्य आनन्द प्राप्ति होइन, केवल मुक्ति हुनुपर्छ भन्नेहरूको संख्या बढ्दै गयो । देवता र स्वर्ग तुच्छ मानिए । अविनाशी, सनातन र शाश्वत ब्रह्ममा लीन भएर संसारी आवागमनबाट छुटकारा पाउनु नै जीवनको उच्चतम ध्येय हुनुपर्छ भन्ने कुराको खुब प्रचार भयो ।

अहं ब्रह्मास्मि – ‘म नै ब्रह्म हुँ ।’ तत्त्वमसि – ‘तिमी पनि उही ब्रह्म नै हौ ।’ अयम् आत्मा ब्रह्म – ‘यो आत्मा ब्रह्म हो ।’ प्रज्ञानं ब्रह्म – ‘ज्ञान नै  ब्रह्म हो ।’ सर्वं खल्विदं ब्रह्म – ‘जे छ सबै नै  ब्रह्म हो ।’

यी महावाक्यहरूले जीवनप्रतिको सोचको दिशा नै बदलिदिए । यो ज्ञानप्रधान दर्शनले मनुष्य जीवनको अर्थ जन्मनु, खानु, मोज मज्जा एवम् रमाइलो गर्नु मात्र होइन । यो जीवन केवल भौतिक पदार्थबाट निर्मित शरीर मात्र पनि होइन ।

जीवन त मानवीय सुख, दुःख, जन्म र मरणभन्दा पर आत्मस्वरूप हो र मनुष्य आफैँ परमात्माको अंश हो भन्ने सन्देशको प्रचार गर्यो ।

उपनिषद्हरूले निर्देश गरेको ज्ञानात्मक जीवनमार्ग बडो गहिरो छ । सारा मानव समुदायले त्यो मार्ग अपनाउन सकेको भए संसार बडो शान्त, सुखी, निःस्वार्थी र अहिंसक हुने थियो ।

मानव मानव सबै समान हुने थिए । र, सायद छुवाछुत, शोषण, विभेद र वञ्चनाको अस्तित्व नै रहने थिएन । सायद त्यस्तो जनजीवन अध्यात्ममा आधारित वास्तविक साम्यवाद हुने थियो ।

परन्तु, जीवनप्रतिको त्यो अभिमत अत्यन्तै आदर्शोन्मुख थियो । अनि, त्यो सर्वसाधारण जनमानसमा सहज बोधगम्य पनि थिएन ।

मनुष्य सामाजिक प्राणी त हो, तर ऊ स्वभावैले स्वार्थी छ । मनुष्यले आफ्नो विद्या, बुद्धि र वैभवको प्रदर्शन गर्न चाहन्छ । त्यसैले त अद्वैतवादमा विश्वास गर्ने र अहम् ब्रह्मास्मी एवम् तत्त्वमसी भन्दै हिँड्नेहरू पनि मानवबीच हुने विभेद र वञ्चनाको दार्शनिक दृष्टिबाट खण्डन गरे तापनि व्यवहारमा उचनिचकै व्यवहार गर्दछन् ।

सायद मनुष्यले आफ्नो जीवनको अर्थ आफ्नै उच्चतामा खोज्दछ । बडो जटिल छ जीवन ।

पूर्वीय समाजमा यिनै यज्ञवादी र ज्ञानवादी सम्प्रदायको बीचमा एउटा अर्को लोकप्रिय सम्प्रदायको पनि अभ्युदय भएको थियो । लोकायत या चार्वाक नामले वि(कु)ख्यात यो सम्प्रदायले शुद्ध जीवनवादमा विश्वास गर्दै आएको छ ।

यो दर्शनले स्वर्ग, नरक, वैकुण्ठ, मोक्ष आदिजस्ता कुरामा विश्वास राख्दैन । पूर्वीय र पश्चिमी सबै धर्मले पुनर्जन्ममा आस्था राख्दछन् ।

किन्तु, लोकायत भन्दछ, ‘बितेको शरीर फेरि फर्केर आउने होइन । मर्यो कि सकियो । मृत्यु नै मोक्ष हो । मरेका मातापितालाई श्राद्ध गरेर पिण्ड चढाउनु पाखण्ड मात्र हो । मरेकाको श्राद्ध होइन, जिउँदालाई श्रद्धा र सेवा गर । कताको कल्पनाको स्वर्ग, कहाँको नरक, कताको आत्मा, कहाँको परमात्मा ? शरीर नै आत्मा हो । शरीरलाई स्वस्थ र बलियो राख । मिठो खाऊ, सुरिलो गाऊ, मनोरम नृत्य गर र रमाऊ । जात, वर्ण, ठूलो सानो सबै फजुल कुरा हो । हामी जस्तो छौँ त्यस्तै स्वीकार गरौँ ।’

चार्वाकले सुझाएको बाटो सहज र सरल छ । जब मृत्यु नै मोक्ष हो भने अनेक झन्झट गरेर एकबारको जुनीलाई किन दुःखमय बनाउने ? जो व्यतीत भयो, त्यो अतीत भयो ।

बुद्ध जीवनलाई दुःखले परिपूर्ण मान्छन् । जन्म दुःख हो । रोग दुःख हो । वृद्धावस्था दुःख हो । मृत्यु दुःख हो । काम, क्रोध, भय, लोभ र मोह दुःख हो । प्रियजनको वियोग दुःख हो ।

र, यी सारा दुःखको कारण नै अज्ञान हो । बुद्धको अभिमतमा मनुष्यले लिनुपर्ने तीन शरण (त्रिरत्न) छन्, बुद्ध, धर्म र संघ ।

त्यसैगरी, जीवनमा पालन गर्नुपर्ने पाँच शीलहरू (सदाचार) छन् । अहिंसा, अस्तेय, ब्रह्मचर्य, असत्य नबोल्नु र मद्यपान नगर्नु ।

बुद्धले मानव मात्रलाई आह्वान गर्दै भन्छन्, ‘स्वल्पबाट विराटमा जाऊ, असतबाट सतमा जाऊ, मृत्युबाट अमृतमा जाऊ र अन्धकारबाट प्रकाशमा जाऊ ।’

बुद्धको उपदेशको सार हो– हरेक मनुष्यभित्र बुद्ध छ, तर त्यो अज्ञानको बादलभित्र छोपिएको छ ।

मार्टिन हाइडेगर, अल्बेयर कामु, ज्याँ पल सात्र्र आदि अनीश्वरवादी पश्चिमी दार्शनिकहरू मनुष्य जीवनलाई एक्लो र निःसहाय मान्दछन् । यी दार्शनिकहरू ईश्वर होइन, अस्तित्ववादमा विश्वास गर्दछन् ।

मनुष्यको जीवन, दुःखदायी, विसंगत र निरीह छ । अतः जीवन एक नमिठो वास्तविकता पनि हो । मनुष्य आफ्नो कर्मका लागि आफैँ जिम्मेवार छ । आफैँ उत्तरदायी छ ।

सात्र्र संघर्षमै जीवनको गति देख्दछन् । उनी भन्छन्, ‘मानव स्वतन्त्र छ ।’ आफ्नो अभिमतलाई अझै जोडदार बनाउँदै उनी अगाडि भन्छन्, ‘मानिस स्वतन्त्र हुन अभिशप्त छ (म्यान इज कन्डेम्ड टु बि फ्री) ।’

अनिश्चरवादी धारा र अस्तित्ववादी दर्शनका प्रमुख चिन्तक फ्रेडरिक नित्सेले त ईश्वरलाई मृत नै घोषित गरिदिए । उनको प्रसिद्ध भनाइ छ, ‘ईश्वर मरिसक्यो । अब मनुष्यले आफ्नो भाग्यको निर्धारण आफैँ गर्नुपर्छ ।’ 

जीवनबारे सबैभन्दा कटु र दिमाग हल्लाउने अभिव्यक्ति दिने विचारक हुन्, नित्से । उनी भन्दछन्, ‘जोसँग जिउनुको कारण छ, उसले जे पनि सहन गर्न सक्छ । जीवनमा आवश्यक परे अडान पनि बदल्नुपर्छ ।’

उनी भन्छन्, ‘जुन सर्पले काँचुली फेर्दैन, त्यो मर्छ ।’

नित्से बनिबनाउ आस्थालाई सत्य थाहा पाउने जिज्ञासाको समाप्ति मान्दछन् । नित्सेको विचारमा दुनियाँमा दुई किसिमका मानिस हुन्छन्– जो जान्न चाहन्छन् र जो सच्चाइ जान्न चाहन्छन् ।

ग्रीक पौराणिक कथाकाअनुसार एक दिन मृत्युका देवता थानाटोस राजा सिसिफसलाई लिन आए । किन्तु, चतुर सिसिफसले यमराज थानाटोसलाई नै बन्दी बनाएर थुनिदिए । मृत्युका देवता नै कारागारमा परेपछि प्राणीहरू मर्न छाडे ।

चिन्तित देवताहरूले जसोतसो थानाटोसलाई खोजेर मुक्त गरिदिए । क्रुद्ध थानाटोसले आफ्नो पहिलो सिकार सिसिफसलाई नै बनाए । देवताका राजा ज्युसले सिसिफसलाई एउटा अजंगको चट्टान देखाउँदै भने, ‘जुन दिन तँ त्यो ढुंगोलाई पर्वतको शिखरमा पुर्याई स्थायी रूपमा स्थापित गर्नेछस्, सोही दिन तँलाई मृत्युलोकबाट मुक्ति मिल्नेछ ।’

सिसिफसले चट्टानलाई बडो मुस्किलले धकेल्दै पर्वतको शिखरमा पुर्याए । परन्तु, विडम्बना ! चट्टान पल्टेर फेदीमा पुग्यो । दोस्रोपटक सिसिफस धेरै सावधान भए । उनले फेरि चट्टानलाई धकेल्दै शिखरमा पुर्याए, तर अड्याउने प्रयास गर्दागर्दै चट्टान फेरि फुत्केर फेदीमा झर्यो ।

हजारौँ वर्ष बिते । आज पनि अथक सिसिफस त्यो चट्टानलाई धकेल्दै माथि पुर्याउँदै गरिरहेछन् । सिसिफसलाई अनन्तकालसम्मका लागि त्यही चट्टान धकेलिरहने अभिशाप परेको छ ।

उनी पनि त्यस दुर्भाग्यलाई स्वीकार गर्दै अनन्तसम्म नै चट्टान धकेल्न तत्पर देखिन्छन् । सायद मनुष्य जीवन पनि त्यही पत्थर धकेलिरहन अभिशप्त दुर्भाग्यशील सिसिफस हो ।

कहिलेकाहीँ जीवन असंगत लाग्न थाल्दछ । यो सिसिफसीय जीवनमा के छ ? सोचेर ल्याउँदा फजुल र अर्थहीन प्रतीत हुन्छ यो । अपेक्षा र प्राप्तिबीचको खाडल हो जीवन ।

एक यस्तो निरर्थक यात्रा, जसको न कुनै संगति छ न त लय नै । कतिपय अवस्थामा त यो जिन्दगी फगत दुःखदायी, रूग्ण र अधम लाग्न थाल्दछ । खल्लो र बेचैनी दिने बेतुकको यात्रा ।

दार्शनिकहरू भन्दछन्, ‘यस्तो अनुभूति हुँदा जीवनसामु तीन विकल्प रहन्छन् । ईश्वरको पुकारा, आत्महत्या या जे जस्तो छ त्यसैलाई स्वीकार गर्नु ।’

अस्तित्ववादी दार्शनिक अल्बर्ट कामुको सिसिफस जिन्दगीसम्बन्धी दर्शनका तीन आयाम छन्, विद्रोही चेतना, स्वतन्त्रता चेतना र जिउने उत्कण्ठा ।

अस्तित्ववाद भन्दछ— जे छ त्यही स्वीकार गर र संघर्ष गर । तर, ईश्वरवादीहरूले ईश्वरको सहारा लिएर नुनिलो आँसु पुछ्ने सल्लाह दिन्छन् । कुन सत्य र कुन असत्य भन्ने कुरा व्यक्तिको निजी आस्था र विश्वासमा निर्भर हुन्छ । चिन्तक भोल्टेयरले भनेका छन्, ‘यदि, ईश्वर छैन भने त्यसको आविष्कार गर ।’

अस्तित्ववाद भन्दछ— जीवन एक अर्थहीन अराजकता हो । यसको न कुनै उद्देश्य छ र न त गन्तव्य नै । जीवनको एक तर्कबद्धता होस्, एक सिलसिला होस्, एक सुसंगता होस् र कुनै सार्थकता होस् ।

त्यसैले अस्तित्ववाद मान्दछ, ‘जीवन व्यर्थ छ ।’ तथापि, यो दर्शनको निचोड के हो भने अर्थहीन भए तापनि जीवन एक वास्तविकता हो ।

‘एक्जिस्ट’ को अर्थ नै प्रतिकूल परिस्थितिमा आफूलाई जीवन्त राख्नु हो । जति नै अविवेकी, निर्दयी, असहज र अशालीन भए तापनि जीवन एक यथार्थ हो । सिसिफस निरन्तर परिश्रम र धैर्यका प्रतीक हुन् । उनी समस्त मानव समुदायका सामु कर्तव्य र अविचल कर्मका विम्ब हुन् ।

पूर्वीय दर्शनले पनि कर्तव्यहीन जीवनलाई व्यर्थ नै मानेको छ । गीतामा कृष्णले भनेका छन्, ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ।’

अर्थात्, ‘तिम्रो अधिकार केवल कर्ममा छ, फलमा छैन । आसक्तिरहित भएर आफ्नो कर्म गर्दै जाऊ ।’ 

पराजय होइन, स्वाभिमान हो जीवन, पराश्रय होइन, परिश्रम हो जीवन, समर्पण होइन, साधना हो जीवन । र, कष्टमय अभिशापका काँडालाई स्वीकार गर्दै अघि बढ्ने पात्रसँग मृत्यु पनि हार्दछ ।

सूक्ति भन्दछ— अनित्यानि शरीराणि वैभवं नैव शाश्वतम् । नित्यं सन्निहितो मृत्युः कर्तव्यो धर्मसङ्ग्रहः । 

अर्थात्, ‘शरीर अनित्य छ, वैभव पनि नित्य एवं शाश्वत छैन र मृत्यु सदासर्वदा हामीसँगै रहन्छ । त्यसकारण धर्मको सञ्चय नै जीवनको उद्देश्य हुनुपर्छ ।’ 

यहाँ धर्मको प्रयोजन ईश्वरसँग मात्र सम्बन्धित छैन । ईश्वरमा विश्वास गर्ने व्यक्ति ईश्वरलाई साक्षी मान्दै कर्मशील सदाचारमा जिउँछ । ईश्वरमा विश्वास नगर्ने व्यक्ति पनि आफूलाई अहिंसा, करुण, परोपकार र सदाचारको पालनामा उत्तम साबित गर्दै अविरल कर्ममा सरिक हुन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro