site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा चिनियाँ उपराष्ट्रपतिसँग भेट्दै 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपराष्ट्रपति हान झेङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’का क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने तय भएको हो ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । आइतबार उनी न्युयोर्क पुगिसकेका छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग स्रोतका अनुसार आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता हुँदै छ । असोज ६ गतेदेखि सुरु हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डामा भेटवार्ता केन्द्रित हुने स्रोतले बतायो ।

Dabur Nepal
NIC Asia

राष्ट्रसंघको महासभामा योपटक चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति हानले गरेका छन् । उनी महासभामा सहभागी हुन न्युयोर्क पुगिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ५ गते उनी न्युयोर्कबाट सिधै चीनतर्फ लाग्नेछन् । गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरिएको थियो ।

चीनको औपचारिक भ्रमणका लागि उनी सुरुमा हाङजाउ जाने कार्यक्रम छ । हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम तय छ । सोही दिन उनी १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

असोज ८ गते उनले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकास्थित छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन् ।

छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी स्वदेश फर्कनेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ देखि १३ गतेसम्म हुने तय छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro