site stats
बाह्रखरी :: Baahrakhari
देश
पाठेघरको मुखको क्यान्सर गराउने एचपीभीविरुद्धको खोप दिन सुरु

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन सुरु गरेको छ ।

आजदेखि डेमोस्ट्रेसनका रुपमा १४ वर्ष पूरा भई १५ ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो । आम समुदायमा पहिलोपटक यो खोप दिन लागिएको हो ।

कहाँ कहाँबाट दिइन्छ खोप ?

Argakhachi Cement Island Ad

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ । पहिलो चरणमा नौ हजार ५०० किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।

एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउनेछन् । खोप लगाउन उमेर खुल्ने प्रमाण लिएर आउनु पर्छ ।

एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार प्रसूति गृहसहित कोसी प्रदेशमा कोसी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ ।

कहिले कति डोज लगाउने ?

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनु पर्छ ।

खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पताल पुग्नुपर्ने हुन्छ । डोज पूरा गरेकाहरुमा एचपीभीबाट हुने संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।

यो खोप सबै प्रदेश र जिल्लाका किशोरीहरुमा पुर्‍याउन सन् २०२४ सम्म थप खोप ल्याइने गरी छलफल अघि बढेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले बताइन् ।

देशभरका १४ वर्ष उमेरका किशोरीलाई मात्रै दिन पनि १३ लाख ५० हजार डोज खोप आवश्यक पर्ने उनको भनाइ छ ।

कुन अस्पतालबाट कहिले दिइन्छ खोप ?

hpv-vaccine-1694586085.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्