काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संविधान रक्षाका लागि बलियो आवाज भएको बताएका छन् । संविधानसभा सदस्य समेत रहेका उनले नेम्वाङको अनुपस्थितिमा नेकपा (एमाले)भित्र त्यो आवाजको रिक्तता महसुस भएको बताए ।
संविधानसभाले बनाएको ‘बच्चा संविधान’ भएको र यसलाई हुर्काउनुपर्छ भनेर नेम्वाङ दिलोज्यानले लागिपरेको व्यक्ति रहेको उनले उल्लेख गरे । संविधानका ‘पिल’हरू भत्काउनु हुन्न र जोगाएर लैजानुपर्छ भन्नेमा नेम्वाङको जोड रहने गरेको उनले सुनाए ।
नेम्वाङसँग आफू ४७ वर्षदेखि संगतमा रहेको उनले बताए । संविधानमा सुधार गर्नुपर्ने देखिएकाले त्यसका मुख्य–मुख्य बुँदालाई बल पुर्याउने गरी कस्ता संशोधन आवश्यक छ भनेर पछिल्लो समय आफूहरूले काम गरिरहेको उनले जानकारी गराए ।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा पनि आफूहरूले मिलेर काम गरिरहेको उनले बताए । उनले नेम्वाङको ‘समन्वयात्मक’ भूमिकाको प्रशंसा गरे । नेम्वाङको निधनबाट आफू दुःखी भएको उनले उल्लेख गरे ।
नेम्वाङको मंगलबार बिहान निधन भएको हो ।
राधेश्याम अधिकारीको भनाइको सम्पादित अंश पढ्नोस्–
संविधान बनाउँदा उहाँको भूमिका सकेसम्म समन्वयात्मक हुन्थ्यो । साह्रै समस्या पर्ने विषयमा उहाँ आफैँ समिति बैठकहरूमा पनि आउनुहुन्थ्यो । आफू बस्नु नपर्ने बैठकमा पनि बसेर जे कुरामा जटिलता हुन्थ्यो, त्यसलाई सहज बनाउने काम गर्नुहुन्थ्यो र सुझावाहरू दिनुहुन्थ्यो ।
दोस्रो कुरा, संविधानसभामा धेरै थरीका दलहरू थिए । माओवादी भर्खर भर्रभराउँदो भएर आएको थियो । अदालतलाई संसद्को मुनतिर राख्नुपर्छ भन्ने धारणा राख्थ्यो । सेनाको सम्बन्धमा उसको ‘र्याडिकल’ विचार थियो । उहाँले ती कुराहरूलाई सम्बोधन गर्दै वर्तमान स्थितिमा ल्याइपुर्याउन धेरै ठूलो भूमिका खेल्नुभएको छ ।
ऐनहरू बनाउँदा ‘क्रिटिकल’ ऐनहरूका बारेमा म सम्झन्छु, जुन मुलुकी ऐन छ नि, यसको सुधारका लागि मुलुकी देवानी संहिता, फौजदारी संहिता, फौजदारी कार्यविधि संहितालगायत निर्माण गरियो । ती निर्माणताका हामीले ‘तपाईंले यसलाई अरू ऐनजस्तो नगर्नुहोस्, यसलाई सबै ओपन गर्नुहोस्’ भन्यौँ । कुन बेला कुन कुरालाई संशोधन गर्नुपर्छ थाहा छैन, त्यसकारण टुंगोमा नपुगुन्जेल यसलाई ओपन राख्न सजेसन गर्यौँ । त्यो सल्लाहको आधारमा उहाँले मन्जुर गरेर रोस्ट्रममा ‘यो देवानी संहिता भनेको जनताको संविधानसरह नै हो’ भन्नुभयो । अर्थात्, अन्तिम क्षणसम्म बदल्नुपरे पनि बदल्न सक्ने गरी त्यो अधिकार समितिलाई दिनुभएको थियो ।
त्यो अधिकारलाई प्रयोग गरेर हामीले पाँचवटा उपसमिति बनाएर काम गरेका थियौँ । देवानी संहितामा मैले नै काम गरेको थिएँ, संयोजकको भूमिका खेलेर । यसरी हामी जुन जुन ठाउँमा जटिलता आउँथ्यो, त्यो बेलामा उहाँसँग बसेर त्यसलाई कसरी पार लगाउने भनेर सल्लाह गर्थ्यौँ ।
हामीले पहिलो संविधानसभाबाट संविधान दिन सकेनौँ, त्यो उहाँको हातमा मात्रै सबै थिएन । तर, दोस्रो संविधानसभाको दुई वर्ष नबित्दै संविधान आयो । त्यसमा उहाँको ठूलो सिर्जनात्मक भूमिका छ भन्ने मलाई लाग्छ ।
तेस्रो कुरा, मलाई खड्किएको कुराचाहिँ अहिले एमाले पार्टीभित्र एउटा सशक्त रूपमा संविधान रक्षा गर्नुपर्छ भन्ने आवाज हुनुहुन्थ्यो उहाँ, यो संविधान रक्षा गर्न लागिपरेको मान्छे । त्यो आवाजचाहिँ रिक्तता धेरै समय खड्किन्छ । किनभने, अहिले संविधान चापमा छ । संविधानको उपलब्धि संघीयता चापमा छ, गणतन्त्र, लोकतन्त्र चापमा छ । विशेष गरेर समानुपातिक समावेशीताको सिद्धान्त चापमा छ । यी पिलहरू भत्काउनु हुन्न, जोगाएर लानुपर्छ भनेर उहाँ सधैँभरि एकदम सचेत भएर वकालत गर्नुहुन्थ्यो, संविधानको पक्षमा । साँचो रूपमा भन्दा संविधानसभाले बनाएको बच्चा संविधान हो, यसलाई हुर्काउनुपर्छ भनेर उहाँ दिलोज्यानले लाग्नुभएको थियो । त्यो आवाजको रिक्तता महसुस गर्दछु, आज हामीले गुमाएको कुरा त्यो हो भन्ने मलाई लाग्छ ।
२०४८ सालमा राष्ट्रियसभामा आउनुभयो । त्यसपछि उहाँले संसदीय राजनीतिमा पछिल्तिर कहिल्यै फर्कनै परेन । उहाँको मृत्यु हुन्जेल उहाँ जनप्रतिधिकै रूपमा रहनुभयो । म पनि बीचको साना–साना अवधि छोड्ने भए २० वर्ष लगातार संसदीय राजनीतिमा बसेँ । उहाँसँग सहकार्य गर्ने अवसर पाएँ ।
मेरो त कानुन व्यवसायमा प्रवश गर्दादेखिकै उहाँसँग सम्बन्ध हो । ४७ भएछ उहाँसँग निरन्तर सम्पर्कमा बसेर काम गरेको । हामी बेग्लाबेग्लै पार्टीमा भए पनि हामीबीच सौहार्दता, हार्दिकता कहिले पनि टुटेन । निरन्तर रूपमा राष्ट्रिय हितमा कानुनहरू बनाउने कुरामा, कानुन पारित गर्ने कुरामा, संविधान बनाउने कुरामा, संविधानलाई कसरी अगाडि बढाउने कुरामा हामी लागिरह्यौँ ।
अहिले पनि यो संविधानमा सुधार गर्नुपर्ने देखिएको छ । संविधानको मुख्य–मुख्य बुँदालाई बल पुर्याउने गरेर कसरी काम गर्न सकिन्छ र त्यसलाई संशोधन गरेर कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा हामी छलफलमा थियौँ । यस किसिमको रचनात्मक रूपमा यी कुरामा ध्यान पुर्याउनुपर्छ भनेर हामी लागेका थियौँ । अन्तिम बेलामा संविधानलाई सुधारमा मात्र होइन, यो संक्रमणकालीन न्यायको सम्बन्धमा काम गर्दै थियौँ । उहाँहरू संसद्भित्र हुनुहुन्छ, म त छैन । म बाहिर र उहाँहरू भित्र बसेर भए पनि हाम्रो बीचमा लगातार, निरन्तर संवाद गरेर अघि बढ्दै थियौँ । संक्रमणकालीन न्यायलाई कसरी टुंग्याउन सकिन्छ भनेर उहाँ जसरी लाग्नुभएको थियो, त्यो पनि सम्झनुपर्ने विषय हो ।