काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएका छन् । लुम्बिनी प्रदेशको नेतृत्व छान्ने जिम्मा पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई दिएर ओली काठमाडौं फर्किएका हुन् ।
एमाले लुम्बिनी कमिटी सचिव लक्ष्मण आचार्यले नेतृत्व छान्न सहमतिको प्रयास भइरहेको बताए ।
“पार्टी अध्यक्ष काठमाडौं फर्कनुभयो । इन्चार्जका हिसाबले जिम्मा पद्मा अर्यालले पाउने कुरा त भइहाल्यो,” उनले भने, “अध्यक्षले उहाँलाई नै नेतृत्व टुंग्याउने जिम्मा दिनुभएको छ । सहमतिको प्रयास भइरहेको छ ।”
उनले सहमति नभए चुनाव हुने बताए ।
“सहमतिको प्रयास भइरहेको छ । सहमति नभए चुनावमा जान्छ,” आचार्यले भने, “अहिले प्रतिवेदनमाथि जवाफ दिने काम भइरहेको छ ।”
अध्यक्ष ओलीले बिहान बन्द सत्रमा सकेसम्म सर्वसहमतिमा नै नेतृत्व छान्न निर्देशन दिएका छन् । शनिबार भएको उद्घाटन सत्रमा पनि ओलीले नेताहरूलाई सहमतिमा नै नेतृत्व छान्न निर्देशन दिएका थिए ।
लुम्बिनी एमालेको अध्यक्ष बन्न राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दावेदार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।