
काठमाडौं । वाग्मती क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैँले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैँमाथि आउने बताएका छन् ।
ललितपुरस्थित धोबीघाटमा शुक्रबार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले चार जिल्लाको एउटा टिमले पाँच महिनादेखि तयारी गरेकाले जित सम्भव भएको बताए ।
पारसले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभूति भएको धारणा राखे । क्रिकेट खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको उनको भनाइ छ ।
आगामी दिनमा वाग्मती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेका पनि पारस बताए ।
असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचनमा पारसले सचिव पदमा दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।