site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यक : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको पनि स्पष्ट पारे ।

Argakhachi Cement Island Ad

तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको पनि बताए । 

“हामीले त्यतिबेला भनेका थियौँ, देशलाई संविधानसभाको चुनावमा जानबाट कसैले रोक्न सक्दैन । देश अब गणतन्त्रमा जान्छ र गणतान्त्रिक आन्दोलनको नेता कम्युनिष्ट पार्टी बन्छ,” उनले भने, “त्यतिबेलाको दस्तावेज पढ्नुभयो भने स्पष्ट लेखिएको छ । तर त्यो गणतन्त्र हामीले भनेजस्तै श्रमिक जनताको हुन्छ वा दलाल नोकरशाहको गणतन्त्र हुन्छ, त्यो गणतन्त्र आउनेबित्तिकै फैसला हुने छैन ।”

अहिले गणतन्त्र जनताको बनाउने वा बुर्जुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताए ।

“प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन्,” उनले भने, “तर, हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौँ । अहिलेको लडाइँ यही नै हो ।”

अहिले प्रतिक्रियावादीहरुलाई गाउँका श्रमिक जनताका छोराछोरी आएर सरकार चलाएको पाच्य नभएको उनले बताए । कुनै पनि सर्तमा तिनिहरुले परिवर्तन उल्ट्याउन चाहेको उनको भनाइ छ ।

उनले एमसीसीको प्रसंगमा उठेका प्रश्नको जवाफ दिँदै नेपालको राष्ट्रिय हित र स्वाधीनताका लागि अहिले पनि आफू लडिरहेको बताए । विदेशी सहयोग पनि लिने र राष्ट्रिय स्वाधीनतामा पनि सम्झौता नगर्ने गरी संसद्बाट १२ बुँदे व्याख्यात्मक टिप्पणी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्